राप्रपा विभाजन गर्ने तागत कसैसँग छैन : अध्यक्ष लिङ्देन
राप्रपा विभाजन गर्ने तागत कसैसँग छैन : अध्यक्ष लिङ्देन
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई विभाजन गर्ने तागत कसैसँग नरहेको बताएका छन्। उनले पार्टीभित्र हाल देखिएको विवादले राप्रपा नफुट्ने स्पष्ट पारे।
राप्रपा अध्यक्ष लिङ्देनले पार्टीका आन्तरिक समस्याहरू पार्टीभित्रै बसेर समाधान गरिने बताए। उनले चित्त नबुझेका विषयहरू पार्टीका समितिहरूमा छलफल गर्न सकिने र छलफलपछि निस्किएको निष्कर्षलाई सबैले मान्नुपर्नेमा जोड दिए।
यदि पार्टीका समितिहरूमा आफ्ना कुरा पारित हुन नसके महाधिवेशनमा नेतृत्वलाई नै चुनौती दिन सकिने उनको भनाइ छ। यद्यपि, पार्टीका आन्तरिक विषयहरूलाई सञ्चारमाध्यममा लगेर शुभेच्छुकहरूमा भ्रम फैलाउने काम गर्न नहुने उनले बताए।
उनले आफूले पार्टीको विधान विपरीत काम गरेको भन्ने असन्तुष्ट पक्षको आरोपको खण्डन गरे। अध्यक्षलाई विधानले नै विभिन्न समिति गठन गर्ने, जिम्मेवारी बाँडफाँड गर्ने, र पदाधिकारी तथा सदस्यहरूलाई जिम्मेवारी तोक्ने अधिकार दिएको हुँदा सोहीअनुसार काम गरिएको उनको दाबी छ।
लिङ्देनले नेपाल जस्तो भूराजनीतिक परिस्थिति भएको देशका लागि अभिभावकीय संस्थाको रूपमा राजसंस्था उपयुक्त हुने बताए। उनले राजसंस्थाको पक्षमा माहोल बन्दै गएको र राजसंस्था पुनःस्थापना निकट रहेको दाबी गरे।
गत जेठ १५ गते राजसंस्था पक्षधरहरूले आयोजना गरेको कार्यक्रमले सबै शक्तिहरू एक ठाउँमा उभिएको संकेत दिएको र यसले एउटा सकारात्मक सन्देश प्रवाह गर्न सफल भएको उनले बताए।
उनले निर्वाचन आयोगमा उजुरी दिनेहरूलाई लक्षित गर्दै पार्टीभित्रको आन्तरिक विवाद हेर्ने अधिकार निर्वाचन आयोगको नभएको स्पष्ट पारे। राप्रपाको प्रवक्ता वा विभाग प्रमुख कसलाई तोक्ने भन्ने कुरा पार्टी अध्यक्षको अधिकार क्षेत्रमा पर्ने उनको भनाइ छ।
