प्रधानमन्त्री ओलीलाई उपेन्द्रको प्रश्न- तेल खर्च मात्र होकि समस्या हल पनि गर्ने ?
प्रधानमन्त्री ओलीलाई उपेन्द्रको प्रश्न- तेल खर्च मात्र होकि समस्या हल पनि गर्ने ?
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अवलोकन गर्न गएर हेलिकोप्टरको तेल मात्र खर्च गर्ने हो कि समस्या हल पनि गर्ने हो भन्दै प्रश्न गरेका छन् ।
बिहीबार उखु किसानको आन्दोलनमा ऐक्यबद्धता जनाउन माइतीघर पुगेका अध्यक्ष यादवले किसानको समस्या समाधानको नाममा धेरै अनुदान र सहयोग पनि आएको बताउँदै त्यसलाई उपयोग गरेर समस्या हल गर्न सुझाए । त्यस्तै, उनले राणाकालदेखि नै अहिलेसम्म पनि तराईका किसानलाई पेल्ने गरिएको गुनासो गरे ।
‘राणाकालदेखि नै चलिआएको हो, तराईको किसानको अनुहार मन नपर्ने भएपछि पेल्न खोज्छन् । राणाशासनदेखि नै यही चल्दै आएको छ । कहिले हुन्छ किसानको समस्या समाधान यसको जवाफ प्रधानमन्त्रीले दिनुपर्छ,’ यादवले भने, ‘हेलिकोप्टरको तेल मात्र खर्च गर्ने हो कि, समस्या पनि हल गर्ने हो ? समस्या समाधानको नाममा धेरै अनुदान र सहयोगीहरू पनि आएको छ । तिनैलाई उपयोग गरे अहिलेको समस्या हल भइहाल्छ नि । त्यो राज्यले गर्नुपर्यो ।’
त्यस्तै, उनले अहिलेको सरकार गैरजिम्मेवार भएको आरोप लगाए । किसान सडकमा उत्रिँदा त्यसको न्यायोचित समाधान खोज्नु सरकारको दायित्व भएको उनको भनाइ छ ।
‘सरकार गैरजिम्मेवार छ । जिम्मेवार सरकारले किसान, जनता सडकमा उत्रिँदा आफ्ना आवाज राख्दा तुरुन्त ध्यान दिनुपर्छ । र, त्यसको न्यायोचित समाधान खोज्नुपर्ने काम सरकारको हो । साथै सरकारको दायित्व पनि हो,’ यादवले भने ।
