images

Sep 29 2026 | २०८३, असोज १३ गते

माओवादीबीच एकताको प्रयास भइरहँदा झलनाथले भने : गलत बाटो हिँड्दै भड्खालोमा पर्ने दिशामा नलागौँ

माओवादीबीच एकताको प्रयास भइरहँदा झलनाथले भने : गलत बाटो हिँड्दै भड्खालोमा पर्ने दिशामा नलागौँ

एभरेष्ट हेडलाइन्स
आइतबार, असोज २६ २०८२
एभरेष्ट हेडलाइन्स
आइतबार, असोज २६ २०८२
  • माओवादीबीच एकताको प्रयास भइरहँदा झलनाथले भने : गलत बाटो हिँड्दै भड्खालोमा पर्ने दिशामा नलागौँ

    काठमाडौँ । नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रबीच एकता प्रयास जारी रहँदा सम्मानित नेता झलनाथ खनालले त्यसप्रति स्पष्ट असहमति जनाएका छन् ।

    जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीद्वारा जिउँदै जलाइएकी श्रीमती रविलक्ष्मीको उपचारका लागि अहिले दिल्लीमा रहेका खनालले आइतबार वक्तव्य जारी गर्दै सम्भावित एकतालाई कुबेलाको बाजा भनेका छन् । 

    उनले यस्तो कदमले पार्टीलाई बलियो बनाउने नभइ भड्खालोतिर लैजाने चेतावनी दिँदै संगठनलाई स्वावलम्बी र सुदृढ बनाउनेतर्फ ध्यान दिन आग्रह गरेका छन्।

    ‘यो कुनै पनि पार्टी एकीकरण गर्ने मौसम होइन । गलत बाटो हिँडेर भड्खालोमा पर्ने वा अरूलाई त्यहाँ तान्ने दिशामा नलागौं । सबैभन्दा पहिले चार वर्षको हाम्रो विद्रोही यात्राको गम्भीर समीक्षा गरौं-ठिक र बेठिक छुट्याऔं । नवौं राष्ट्रिय महाधिवेशनपछि उठाइएका युवा आवाज र कार्यविधिको सन्देशलाई आत्मसात् गरौं,’ उनले भनेका छन्, ‘सकेसम्म सबै क्रान्तिकारी, वामपन्थी, देशभक्त र प्रगतिशील शक्तिहरूलाई गोलबद्ध गर्दै एउटा बृहत् राष्ट्रिय मोर्चा निर्माण गरौं । प्रतिनिधि सभाको निर्वाचनको तयारी बृहत् योजनासहित अघि बढाऔं । अहिलेको सही बाटो यही हो । कुबेलाको सहनाई बजायेर पार्टीलाई कमजोर नपारौं, बरु पुनर्गठन र रूपान्तरणको ऐतिहासिक यात्रातर्फ अघि बढौं ।’ 

    यस्तो छ खनालको विज्ञप्ति

    प्रिय कमरेडहरू तथा आदरणीय दिदीबहिनी तथा दाजुभाईहरू १ गत २३-२४ भदौको घटनापछि म म्याडम रविलक्ष्मी चित्रकारको उपचारको निम्ति भारतको नयाँ दिल्ली स्थित एपोलो हस्पिटलमा छु। देशको राजनीतिक स्थितिमा यस बीचमा निकै ठूलो परिवर्तन भएको छ । २३ गतेको जेन्जी आन्दोलन र २४ गते विध्वंशकारीहरुले गरेको महाविध्वंश पछि ओली सरकार विघठित हुन पुग्यो । अहिले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नयाँ अन्तरिम सरकार गठन भएको छ र संसद विघठन गरी प्रतिनिधि सभाको नयाँ निर्वाचनको घोषणा भएको छ । त्यस घोषणा सँगै अब सिङ्गो मुलुकको राजनीति आगामी निर्वाचनतिर केन्द्रित हुँदै गएको छ ।

    युवाहरूको जबरजस्त प्रदर्शन र त्यसपछि मुलुकको राजनीतिमा आएको परिवर्तनहरुले हाम्रो मुलुकको समग्र राजनीतिमा उथलपुथल, विभाजन, पुनर्गठन र रूपान्तरणको प्रक्रियालाई गति प्रदान गरेको छ । यो नै अहिलेको मुख्य प्रबृति बनेको छ । स्मरण रहोस् मैले नयाँ वर्षको सन्देशमा नै यो वर्षलाई पुनर्गठन र रूपान्तरणको वर्ष बनाउन आह्वान गरेको थिएँ । समयले हामीलाई ठिक त्यही ठाउँमा ल्याइ पुऱ्याएको छ ।

    युवा आन्दोलनको विस्फोटन उनीहरूको फगत आवेग वा बाह्य शक्तिको षड्यन्त्र मात्र होइन । यो दुई तिहाई बहुमत भएको संसद विघठन भएदेखि मुलुकलाई नेतृत्व गर्दै आएका र सत्तामा बसेका पार्टीहरूको मुख्य नेतृत्वको घनघोर असफलता पनि हो । यो नै मुख्य र निर्णायक कुरा हो । त्यसले मुलुकलाई यो दुःखद अवस्थामा ल्याइ पुऱ्याएको छ ।

    हाम्रो पार्टी लगायत यस बीचमा सत्तामा रहेका र सत्तामा सहभागी भएका सबै पार्टीका नेतृत्वले मुलुकलाई सही दिशा दिन नसकेकोमा उनीहरुले जिम्मेवारी लिनैपर्छ । मुलुकलाई सही दिशा दिने भनेको राजनीतिले र आजको अवस्थामा राजनीतिक पार्टीले नै हो । हामी अहिले बहुदलीय प्रणालीमा छौँ । दलबाहेक कसैले पनि जनता र मुलुकलाई सही बाटो देखाउन संभब हुदैन । त्यस माथि वामपन्थी दलले नै आम जनता र राष्ट्रलाई सहि मार्ग देखाउनुपर्ने हो । तर दक्षिणपन्थीहरूका पछि लागेर हाम्रो पार्टीको नेतृत्वसहित अन्य वामपन्थी नेतृत्वहरू समेतले मुलुकको चौतर्फी सामाजिक-आर्थिक रूपान्तरण र राष्ट्रियतालाई सुदृढ गर्ने कार्यभारलाई छोडेर यथास्थितिवादको मार्गमा हिँडेपछि र बिदेशीहरुसँग अपमानपूर्ण सन्धी र सझौता गर्न थालेपछि मुलुक भयावह संकटमा जानु र विदेशीहरूको क्रिडास्थल बन्नु अनुवार्य नै थियो । अहिले त्यही नै भइरहेको छ ।

    अब देश, जनता र वामपन्थी आन्दोलनलाई नयाँ धरातलबाट उठाउन प्रत्येक पार्टीमा पुनर्गठन र रूपान्तरण अनिवार्य छ । तपाईं हामी देखिरहेका छौं । हरेक साना ठूला पार्टीहरुमा र खुद जेन्जी समूहमा समेत उथलपुथल र विभाजन भइरहेका छन् । त्यसले गर्दा सबैतिर सर्वत्र पुनर्गठन र रूपान्तरणको माग उठिरहेको छ । यो युगको माग हो, यो समयको माग हो, यो जनताको माग हो र यो सिंगो राष्ट्रको माग समेत हो । यो फगत पुस्ताबादको माग होइन, सबै पुस्ताको क्रान्तिकारी पुनर्गठन र रुपान्तरणको माग हो । त्यसलाई अस्वीकार गरेर कोही अघि जान सक्दैन ।

    कमरेडहरू यतिबेला हाम्रो पार्टीको निम्ति कसैसँग पनि पार्टी एकीकरण गर्ने मौसम होइन र छैन । हामी कोहि पनि गलत बाटो हिँड्दै भड्खालोमा पर्ने र अरुलाइ पार्ने दिशामा नलागौँ । सबभन्दा पहिले हाम्रो ४ वर्षे विद्रोहको यात्राको निर्मम समीक्षा गरौं ।

    ठिक बेठिक के गयौ, दूध र पानी छुट्याऔँ । हामीले नवौं राष्ट्रिय महाअधिवेशनदेखि नै उठाएको युवा आवाज र कार्यविधिको कुरालाई ध्यान दिऔं । हाम्रै पार्टी भित्रका युवाहरूको आवाज अनुरूप समेत पार्टीलाई सहि वैचारिक, राजनीतिक कार्यदिशा, नीति र सिद्धान्तका आधारमा पुनर्गठन गरौं, पार्टीलाई आमूल परिवर्तनकारी र नेपाली बिशेषताको सामजवादका निम्ति दृढ संकल्पित पार्टीमा रूपान्तरण गरौं, यही दिशाका आधारमा सकेसम्म सबै क्रान्तिकारी कम्युनिष्ट, वामपन्थी, देशभक्त र प्रगतिशील शक्तिहरुलाई गोलबन्द गरौं ।

    एउटा बृहत राष्ट्रिय मोर्चाको निर्माण गरौं र प्रतिनिधि सभाको निर्वाचनको तयारीमा बृहत् योजनाका साथ अघि बढौं । मेरो विचारमा आजको सहि मार्ग यहि हो । कुबेलाको सहनाई बजाउनतिर कोहि पनि नलागौं । सिंगो पार्टीलाई एकताबद्ध बनाएर पुनर्गठन र रुपान्तरणको ऐतिहासिक मार्गतिर अघि बढौँ ।
    २५ असोज,२०८२
    झलनाथ खनाल
    सम्मानित नेता,नेकपा (एकीकृत समाजवादी)

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट