निर्वाचन बिथोल्न केही तत्वहरू सक्रिय छन् : गृहमन्त्री
निर्वाचन बिथोल्न केही तत्वहरू सक्रिय छन् : गृहमन्त्री
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले केही तत्वहरू निर्वाचन विथोल्न सक्रिय भएको आरोप लगाएका छन् । जिल्ला समन्वय समिति भक्तपुरको कार्यालय अनुगमनको क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले निर्वाचनको माहोल बिगार्न लाग्नेहरूलाई सरकारले सम्झाइबुझाइ गर्ने उल्लेख गरे । सम्झाउँदा नमानेमा सरकारले आफ्नो ढंगबाट काम गर्ने उनको भनाइ छ । वर्तमान सरकार स्वतन्त्र र निष्पक्ष ढंगबाट निर्वाचन गराउनको लागि बनेको उल्लेख गर्दै उनले तोकिएकै मितिमा सरकारले निर्वाचन गराउने दाबी गरे ।
निर्वाचनको लागि सरकारले सरोकारवाला सबैलाई संवादमा आउन आह्वान गरेको समेत जिकिर गरे । राजनितिक दलहरूले भने सरकारले आफूहरूलाई वेवास्ता गरेको आरोप लगाउने गरेका छन् ।
'निर्वाचनको लागि सबै संवादमा आउन पर्यो । स्टेक होल्डरहरू संवादमा आउनुपर्यो । सरकारले संवादमा सहजीकरण गर्छ । राष्ट्रपतिज्यूले पनि संवाद सुरु गरिसक्नुभएको छ । हामीले हाम्रो तहबाट पनि संवादको लागि आह्वान गरिरहेका छौँ । यो स्थितिमा स्टेक होल्डर कसैले पनि परिस्थितिलाई भड्काउने काम गर्न भएन,' उनले भने ।
उनले प्रहरी कर्मचारी लगायतको मनोबल उकास्ने काम पनि सरकारले गरिरहेको उल्लेख गरे ।
