आन्दोलनको नाममा देशविरुद्ध भयानक षड्यन्त्र गरियो : ओली
आन्दोलनको नाममा देशविरुद्ध भयानक षड्यन्त्र गरियो : ओली
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आन्दोलनको नाममा गलत तत्वहरूले देशविरुद्ध भयानक षड्यन्त्र गरिरहेको दावी गरेका छन्।
जेन–जी आन्दोलनमा आगजनी गरिएको बालकोटको घरको बुधबार अवलोकन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्। जेन–जी आन्दोलनकै कारण सरकार छाड्न बाध्य भएका निवर्तमान प्रधानमन्त्री ओलीले सरकारी, सार्वजनिक र व्यक्तिका घरमा आगजानी गर्नेहरू आपराधिक समूह नै भएको बताए।
जेन–जी आन्दोनलका क्रममा आफ्नो घरमाथि तोडफोड र आगजनीका साथै महत्वपूर्ण सामानहरु लुटिएको बताएका ओलीले उनीहरूलाई कारबाहीको दायरामा ल्याउन सरकार उदासिन देखिएको आरोप लगाए।
वर्तमान सरकारले आफूविरुद्ध थप योजना बनाइरहेको उनको आशंका छ। गृहमन्त्रीले आफूमाथि व्यक्तिगत दुश्मनी लिएको भन्दै ओलीले आफूविरुद्ध थप योजना बनाइराखेको गम्भीर आशंका रहेको बताए।
‘गृहमन्त्रीको हालैको अन्तर्वार्ता हेर्दा सरकारको उद्देश्य, गन्तव्य, छर्लङ देखिएको छ,’ उनले भने, ‘नेकपा एमाले अचानक पलाएको सरकारको तमाशासँग विचलित हुँदैन। एमालेले देशमा शान्ति, सुव्यवस्था, भ्रष्टाचार नियन्त्रण गरेर छाड्छ।’
