राजनीतिक सङ्कट समाधानका लागि वाम पार्टीहरूको पुनर्गठनः पूर्वप्रधानमन्त्री खनाल
राजनीतिक सङ्कट समाधानका लागि वाम पार्टीहरूको पुनर्गठनः पूर्वप्रधानमन्त्री खनाल
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले मुलुकमा उत्पन्न राजनीतिक सङ्कट समाधानका लागि वाम पार्टीहरूको पुनर्गठन गर्नुपर्ने बताएका छन् ।
शनिबार आयोजित भेलामा उनले पार्टीलाई व्यापक पुनर्गठन गरी सङ्गठनलाई थप सशक्त गर्न आवश्यक रहेको बताएका हुन् । पूर्वप्रधानमन्त्री खनालले राजनीतिमा युवालाई अगाडि बढाउन पार्टी नेतृत्व पुस्तान्तरण गर्दै पुराना पुस्ताको नेतृत्वले बिदा लिनुपर्नेमा बताए । वामपन्थी शक्तिले पार्टीभित्रको आफ्ना वैचारिक दृष्टिकोण प्रष्ट गरी आन्तरिक विवाद हल गर्नुपर्ने आवश्यकता औँल्याउँदै उन त्यसपछि गरिने एकता दीर्घकालीन हुने विचार व्यक्त गरे ।
“मुलुकमा छरिएका कम्युनिष्ट पार्टीमा नेतृत्व हस्तान्तरणको समस्याले कम्युनिष्ट आन्दोलन जुट्ने र फुट्ने प्रक्रियामा छ । वैचारिक दृष्टिकोणसहित नेतृत्व हस्तान्तरण गर्दै पार्टी पुनर्गठनको आवश्यकता छ । त्यसले मात्रै सामाजिक न्याय, आर्थिक रुपान्तरणका कार्यक्रम कार्यान्वयन गर्दै अगाडि बढ्न सकिन्छ”, खनालले भने ।
उनले मुलुकमा सुशासन कायम गर्न नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्नेमा जोड दिँदै निष्पक्ष छानबिन प्रक्रियाबाट दोषी देखिएका नेतालाई पार्टी जिम्मेवारीबाट अलग गरिनुपर्ने धारणा राखे ।
