images

Sep 29 2026 | २०८३, असोज १३ गते

आगामी चुनावमा हाम्रो पार्टीले सरकार बनाउँछ : रेशम चौधरी

आगामी चुनावमा हाम्रो पार्टीले सरकार बनाउँछ : रेशम चौधरी

एभरेष्ट हेडलाइन्स
बुधबार, कात्तिक २६ २०८२
एभरेष्ट हेडलाइन्स
बुधबार, कात्तिक २६ २०८२
  • आगामी चुनावमा हाम्रो पार्टीले सरकार बनाउँछ : रेशम चौधरी

    काठमाडौँ । नवगठित नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशम चौधरीले आफ्नो पार्टीले आगामी फागुनमा हुने निर्वाचनपछि सरकार बनाउने दाबी गरेका छन्।

    निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र बुझेलगत्तै सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले अबको राजनीति सीमान्तकृत र पिछडिएको समुदायको हातमा आउने उद्घोष गरे।

    ‘फागुन २१ को चुनावमा कति सिट जित्नुहुन्छ भन्ने प्रश्नको जवाफ हो- सरकार बनाउँछ,’ चौधरीले भने, ‘हाम्रो चुनावी रणनीति कांग्रेस, एमाले वा माओवादीको जस्तो हुँदैन। हामी अब कमैयाका बच्चाबच्ची, दलितका युवा, मुक्त कमलरी, मुस्लिम तथा एकल महिलाहरूलाई उम्मेदवार बनाएर संसदमा पुर्‍याउँछौँ।’

    उनले आफ्नो पार्टीको मुख्य लक्ष्य समुदायमा आधारित समाजवाद स्थापना गर्नु रहेको बताए। राज्यसत्तामा पहुँच नभएका आम नागरिकलाई नीति निर्माणको तहमा पुर्‍याउने रहेको उल्लेख गरे।

    चौधरीले हालैको जेन-जी आन्दोलनलाई केवल पुस्ताको नभई राज्यसँग आम नागरिकको माग भएको टिप्पणी गर्दै त्यसलाई आफ्नो पार्टीले सम्बोधन गर्ने प्रतिबद्धता जनाए।

    साथै, चौधरीले राज्यले टीकापुर विद्रोहलाई आपराधिक घटना बनाएर आफूहरूमाथि निरंकुश दमन गरेको आरोप लगाए। ‘जेन-जी आन्दोलनलाई समेत राजनीतिक बनाइयो तर राज्यले टीकापुर विद्रोहलाई आपराधिक बनायो,’ उनले भने, ‘हाम्रो माग स्पष्ट छ, टीकापुर विद्रोहलाई राजनीतिक रूपमा ससम्मान सम्बोधन गर्नुपर्छ र सम्पूर्ण बन्दीहरूलाई रिहाइ गर्ने वातावरण बनाउनुपर्छ।’

    सञ्चारकर्मीको एक प्रश्नमा उनले चर्चित गायक राजेश पायल राई आफ्नो पार्टीमा आउने सम्भावना बलियो रहेको संकेत गरे। ‘जहाँ रेशम चौधरी, त्यहाँ राजेश पायल राई,’ उनले भने, ‘उहाँ पार्टीमा आउने सम्भावना प्रबल छ।’

    बुधबार निर्वाचन आयोगका सचिव महादेव पन्थले पार्टीका संरक्षक चौधरी र अध्यक्ष कवीर सोपलाई दल दर्ताको प्रमाणपत्र हस्तान्तरण गरेका थिए। पार्टीको चुनाव चिह्न जाँतो रहेको छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट