नयाँ अभियान सुरु भयो, चुनावमा जान्छौँ : नेत्रविक्रम चन्द 'विप्लव'
नयाँ अभियान सुरु भयो, चुनावमा जान्छौँ : नेत्रविक्रम चन्द 'विप्लव'
काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का नेता नेत्रविक्रम चन्द 'विप्लव'ले निर्वाचनमा सहभागी हुने गरी दल दर्ता गरेको बताएका छन् ।
निर्वाचन आयोगमा मंगलबार दल दर्ताको प्रमाणपत्र पाएपछि उनले आफ्नो पार्टीले निर्वाचनमा भाग लिने बताएका हुन् । उनले माओवादी नयाँ गुण, नयाँ सारतत्त्व, नयाँ अठोट, नयाँ विश्वास, नयाँ अभियानसहित निर्वाचनमा जाने बताए ।
नेपाली जनताको सुख, अधिकार, मुक्ति र देशको स्वाधिनताको लागि माओवादीले विभिन्न उत्तारचढावपूर्ण यात्रा तय गर्दै यहाँसम्म आएको विप्लवको भनाइ छ । जनता नै इतिहासको निर्माता भएकोले जनताको माझमा जान लागेको उनलेब ताए ।
सबै राजनीतिक दलहरूको सहमतिमा निर्वाचन हुने भन्दै विप्लवले ढिलोचाँडो निर्वाचन हुने बताए । समाजवाद नै आए पनि निर्वाचन हुने उनले बताए ।
निर्वाचन आयोगले मंगलबार विप्लव नेतृत्वको माओवादीलाई दल दर्ताको प्रमाणपत्र दिएको हो । पार्टीको चुनाव चिह्न भने गुलाफ रहेको छ ।
यस्तो छ विप्लवको प्रतिक्रिया :
नेपाल कम्युनिस्ट पार्टी (माओवादी) नेपाली जनताको सुख, अधिकार, मुक्ति, हाम्रो देशको स्वाधिनताको लागि धेरै उतारचढावपूर्ण यात्रा तय गर्दै यहाँसम्म आएको छ । हामीले सामन्तवाद र विभिन्न खालका दमनकारी सत्ताको विरुद्धमा विद्रोह गर्यौँ । हामीले जनताको अधिकारको लागि विभिन्न खालका मोर्चाहरूमा संघर्ष गर्यौँ र आज नेकपा माओवादी नयाँ गुण, नयाँ सारतत्त्व, नयाँ अठोट, नयाँ विश्वास, नयाँ अभियानसहित निर्वाचनमा जाने गरी दर्तामा सहभागी बनेका छौँ । यो एउटा नयाँ अभियान सुरु भएको छ ।
