images

Sep 29 2026 | २०८३, असोज १३ गते

'अपरेशन' चलाएर लुटिएका हतियार फर्कायौँ : गृहमन्त्री, ४८५७ कैदी अझै फरार रहेको स्वीकारोक्ति

'अपरेशन' चलाएर लुटिएका हतियार फर्कायौँ : गृहमन्त्री, ४८५७ कैदी अझै फरार रहेको स्वीकारोक्ति

एभरेष्ट हेडलाइन्स
बिहीबार , मंसिर ११ २०८२
एभरेष्ट हेडलाइन्स
बिहीबार , मंसिर ११ २०८२
  • 'अपरेशन' चलाएर लुटिएका हतियार फर्कायौँ : गृहमन्त्री, ४८५७ कैदी अझै फरार रहेको स्वीकारोक्ति

    काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले गत २३ र २४ भदौमा भएको 'जेनजी' आन्दोलनका क्रममा लुटिएका हातहतियार फिर्ता ल्याउन देशभर ‘सेक्युरिटी अपरेशन’ सञ्चालन गरिएको बताएका छन् ।

    'हराएका हातहतियार तथा खरखजाना फिर्ता ल्याउन सबै सुरक्षा निकायहरूले सूचना आदानप्रदान गरी कार्ययोजना बनाइ संयुक्त रूपमा प्रभावकारी ‘सेक्युरिटी अपरेशन’ सञ्चालन गर्न जिल्ला सुरक्षा समितिलाई निर्देशन दिई कार्यान्वयन गरिएको छ,' गृहमन्त्री अर्यालले भने ।

    बिहीबार राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा गृहमन्त्री अर्यालले हालसम्म आन्दोलनको क्रममा लुटिएका हतियारमध्ये ७२३ थान हतियार बरामद गरिएको बताए ।

    उनले 'जेनजी' आन्दोलनका क्रममा 'जेल ब्रेक' गरी भागेका १४ हजार ५ सय ५४ कैदीबन्दीमध्ये ९ हजार ६ सय ९७ जनालाई फिर्ता ल्याइएको पनि बताए । बाँकी ४ हजार ८ सय ५७ फरार कैदीको खोजीका लागि विशेष अपरेशन प्रक्रिया जारी रहेको उनको भनाइ छ ।

    'हालसम्म ७ सय २३ थान हतियार फिर्ता ल्याइएको छ । जेनजी आन्दोलनको क्रममा कारागार तथा बन्दीगृहबाट भागेका तथा फरार भएका १४ हजार ५ सय ५४ कैदीबन्दीमध्ये ९ हजार ६ सय ९७ जनालाई फिर्ता ल्याइसकिएको छ,' गृहमन्त्री अर्यालले भने, 'बाँकी ४ हजार ८ सय ५७ जनालाई फिर्ता ल्याउन विषेश अपरेशन सञ्चालन गरिएको छ ।'

    'जेनजी' आन्दोलनको क्रममा अपराधिक घटनामा संलग्न ५ सय ९५ जनालाई पक्राउ गरिएकोमा २ सय ८३ जनाविरुद्ध मुद्दा दर्ता भइसकेको अर्यालले बताए । 'भाद्र २३ र २४ गतेको घटनासँग सम्बन्धित अपराधमा संलग्नमध्ये कुल ५ सय ९५ जनालाई पक्राउ गरिएको तथा २ सय ८३ जनालाई विभिन्न कसुरमा  मुद्दा दर्ता गरिएको अवस्था छ,' अर्यालले भने ।

    आगामी आम निर्वाचनमा सुरक्षाका लागि सेना परिचालनसम्बन्धी प्रस्ताव राष्ट्रिय सुरक्षा परिषद्‌बाट पारित भइसकेको अर्यालले जानकारी दिए । सातै प्रदेशमा निर्वाचनलक्षित प्रदेशस्तरीय सुरक्षा गोष्ठी सञ्चालन हुँदै आएको पनि उनको भनाइ छ ।

    'जिल्लागत र प्रदेशगत सुरक्षा चुनौती तथा अवस्थाको जानकारीका साथै सुरक्षा तयारीका लागि सातै प्रदेशमा निर्वाचनलक्षित प्रदेशस्तरीय सुरक्षा गोष्ठी गर्ने, केन्द्रीय सुरक्षा समितिको निर्णयबमोजिम लुम्बिनी प्रदेशमा प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न समेत भइसकेको छ । बाँकी प्रदेशहरूमा पनि पुसभित्र सम्पन्न गर्नेगरी तयारी भइरहेको अवस्था छ,' गृहमन्त्री अर्यालको भनाइ छ ।

    सुरक्षा निकायहरूको सुदृढीकरणका लागि आवश्यक उपकरण र सवारीसाधन किन्न स्रोत सुनिश्चित गरिएको बतउँदै उनले नेपाल प्रहरीका लागि २ सय ६२ सवारी, सशस्त्र प्रहरीका लागि १ सय ९९ र राष्ट्रिय अनुसन्धान विभागका लागि ६ सवारी खरिद प्रक्रिया अगाडि बढाइएको जानकारी दिए ।

    'निर्वाचनलाई ध्यानमा राख्दै सुरक्षा निकायको सुदृढीकरणको लागि नेपाल प्रहरीतर्फ नियमित बजेटबाट १ सय ५६ वटा र थप बजेटबाट १ सय ६ वटा गरी कुल २ सय ६२ थान सवारी तथा सशस्त्र प्रहरीतर्फ नियमित बजेटबाट ५९ र थप बजेटबाट ५० वटा गरी कुल १ सय ९ सवारी र राष्ट्रिय अनुसन्धान विभागतर्फ थप ६ वटा सवारी खरिदको लाग स्रोत सुनिश्चित गरी खरिद प्रक्रिया अगाडि बढाइएको छ,' गृहमन्त्री अर्यालले भने । प्रतिनिधिसभा सदस्यको निर्वाचन घोषित मितिमा सम्पन्न गर्न सरकार कटिबद्ध रहेको पनि उनको भनाइ छ । 

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट