कांग्रेस महाधिवेशन विवाद : खड्कालाई संस्थापनकै काउन्टर, पुसको कार्यतालिका फेल गराउने तयारी !
कांग्रेस महाधिवेशन विवाद : खड्कालाई संस्थापनकै काउन्टर, पुसको कार्यतालिका फेल गराउने तयारी !
काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई आफ्नै समूह मिलाउन सकस परेको छ । खड्काले तयार पारेको पार्टीको १५औँ महाधिवेशनको कार्यतालिका उनकै समूहले अस्वीकार गरेपछि खड्का समस्यामा परेका हुन् । महाधिवेशन कार्य तालिकामा सहमति जुटेको सूचना मिडियामा सार्वजनिक भएपछि खड्का समूहकै नेताहरूले विरोध गरेका हुन् ।
आइतबार महामन्त्री विश्वप्रकाश शर्मा तथा नेताहरू रमेश लेखक र मीन विश्वकर्मा लगायतसँग बसेर खड्काले पार्टीको १५औँ महाधिवेशन कार्य तालिकामा सहमति जुटाएका थिए । अर्का महामन्त्री गगनकुमार थापाको अनुपस्थितिमा कार्य तालिका तय गरिएको हो । खड्काले पुस मसान्त अर्थात् पुस २६ बाट शुरू भएर २९ गते पार्टीको १५औँ महाधिवेशन सम्पन्न हुनेगरी कार्यतालिका बनाएका छन ।
तर, आइतबार नै मध्य बानेश्वरमा बसेको संस्थापन पक्षधरको भेलाले उक्त कार्यतालिका स्वीकार नगर्ने निर्णय गरेको हो । कार्यवाहक सभापतिले नेता लेखकसँग मिलेर आफूहरूलाई धोका दिएको भन्दै ७० बढी केन्द्रीय सदस्यले ‘केन्द्रीय समिति बैठकमा देखाइदिने’ चेतावनी दिएका छन् ।
बैठकमा सहभागी एक नेताका अनुसार कार्यवाहक सभापतिले ल्याएको कार्यतालिका भोटिङमा लैजाने र भोटिङबाट फेल गराउने उनीहरूको रणनीति छ । यससँगै कांग्रेसमा मिल्यो भनिएको महाधिवेशन विवाद पुनस् बल्झिएको छ ।
आइतबार मध्यबानेश्वरको भेलामा वैशाखमा महाधिवेशन गर्नुपर्ने अडानमा रहेका ७० बढी केन्द्रीय सदस्य थिए । उनीहरूले विशेष महाधिवेशन गर्नै नहुने तथा निर्वाचनअघि नियमित महाधिवेशन गर्न नसकिने विषय पटक-पटक राख्दै आएका छन् ।
कार्यवाहक सभापति खड्का पनि सोही पक्षधरका एक नेता हुन् । तर‚ खड्काले आफूहरूले भनेअनुसार नगरेको र कार्य तालिका बनाउने बेला आफूहरूसँग परामर्श नगरेको गुनासो यो समूहको छ । नेताहरू कृष्णप्रसाद सिटौला‚ विमलेन्द्र निधि‚ शशांक कोइराला‚ प्रकाशमान सिंह‚ प्रकाश शरण महतलगायत नेता रहेको यो समूहले सोमबार (आज) बस्ने केन्द्रीय समितिमा बैठकमा कार्यवाहक सभापति खड्काको प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा फेल गराइदिने तयारी गरेको छ ।
गत कात्तिकमा बसेको केन्द्रीय समिति बैठकमा सहमहामन्त्री महेन्द्र यादवले प्रस्तुत गरेको कार्य तालिकालाई पारित गरेर जाने निर्णय भेलाले गरेको एक नेताले जानकारी दिए । १८ कात्तिकमा बसेको केन्द्रीय समितिमा सहमहामन्त्री यादवले वैशाखका लागि कार्य तालिका प्रस्तुत गरेका थिए । उनले २०८३ साल वैशाख २७, २८‚ २९ र ३० गतेसम्म १५औँ केन्द्रीय महाधिवेशन गर्ने कार्य तालिका प्रस्ताव गरेका थिए ।
कार्यवाहक सभापति खड्काले भने सहमति जुटाउन भन्दै समूहका नेताहरूलाई छलफलमा बोलाएका छन् । उनले सर्वप्रथम वैशाखमा नियमित महाधिवेशन पक्षधर नेताहरूसँग एकल संवाद गर्ने तयारी गरेका छन् । आफू बैठकमा जान लागेको जानकारी दिँदै एक नेताले त्यसपश्चात् ११ बजे ललितपुरको सिद्धार्थ कटेजमा पुनः छलफलमा बस्ने जानकारी दिए ।
‘उक्त बैठकमा शेरबहादुर देउवा निकट मानिएका कार्यसम्पादन समितिमा रहेका नेताहरू र हामी वैशाखमा नियमित महाधिवेशन पक्षधर केन्द्रीय सदस्यहरू बस्ने छौं‚’ ती नेताले लोकान्तरसँग भने‚ ‘हामीलाई पूर्णजीले धोका दिए । हाम्रै आडमा कार्यवाहक बने । धेरै मेहनेत गरेर नेतृत्वमा पुर्यायौं । अहिले महामन्त्रीहरूको यस म्यान बन्न खोजेर कहाँ सुख पाइन्छ र १’ ती नेताका अनुसार कार्य तालिका ल्याए भोटिङमा लगेर फेल गराइदिन्छौं भनेर कार्यवाहकलाई स्पष्ट भनेर सानेपा बैठकमा जाने तयारी नेताहरूको छ ।
तर, कांग्रेस प्रवक्ता डा। प्रकाशशरण महत भने केन्द्रीय समितिले छलफल गरेर आवश्यक निर्णय लिने बताउँछन् । ‘यति छोटो समयमा कसरी महाधिवेशन सम्भव होला र १ कार्यवाहकले केही सोचेर र विचार गरेरै कार्यतालिका ल्याउनुभएको होला‚’ प्रवक्ता महतले भने‚ ‘केन्द्रीय समितिले छलफल गरेर आवश्यक निर्णय लिन्छ । सबैको कुरा सुनिन्छ ।’
२३ र २४ भदौ को जेनजी विद्रोहपश्चात् नेपाली कांग्रेसको आन्तरिक राजनीति कठिन मोडबाट गुज्रिएको छ । २१ फागुनमा निर्वाचन घोषणा भएकाले त्यसअघि नै कुनै पनि हालतमा नेतृत्व परिवर्तन गरेर चुनावमा जानुपर्ने बहस भइरहेको छ । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा समूहले पुस मासान्तभित्र जुनसुकै हालतमा महाधिवेशन गर्नुपर्ने अडान राखेको छ ।
उनीहरूले नियमित महाधिवेशन नभए विशेष महाधिवेशन गर्नुपर्ने अडान लिएका छन् । जसका लागि दुई हजार चार सय भन्दा बढी महाधिवेशन पक्षधरले हस्ताक्षर गरेर विशेष महाधिवेशन मागेका छन् ।
यता‚ सभापति शेरबहादुर देउवा आफैं विशेष महाधिवेशन गर्ने पक्षमा छैनन् । पुसरमाघ जहिले गरे पनि नियमित महाधिवेशन गर्नुपर्ने अडान देउवाको छ । देउवाले विशेष महाधिवेशनका लागि दर्ता गरिएको हस्ताक्षर पनि फिर्ता लिनु पर्ने अडान राखेका छन् । सोही लाइनमा देउवा समूहका अन्य नेताहरू पनि छन् ।
तर‚ विशेष महाधिवेशन पक्षधरले हस्ताक्षर फिर्ता नलिने बताइसकेको छ । नेता गुरु घिमिरेले विशेष महाधिवेशनको हस्ताक्षर फिर्ता नलिने बताए । उनले कार्यतालिका जस्तो आए पनि विशेष महाधिवेशनको हस्ताक्षर फिर्ता नहुने अडान राखे ।
जुन दिन केन्द्रीय महाधिवेशन हुन्छ‚ हस्ताक्षर सोही दिन निष्क्रिय हुने उनको भनाइ छ । ‘हेरौँ कस्तो कार्यतालिका आउँछ । तर‚ जस्तो तालिका आए पनि पुसमा महाधिवेशन हुनुपर्छ‚’ उनले भने‚ ‘विशेषको प्रस्ताव फिर्ता लिन उहाँहरूले अनुरोध गर्नुभएको छ । तालिका आए पनि प्रस्ताव फिर्ता हुँदैन ।’ नेपाली कांग्रेसको पटक(पटक सर्दै आएको केन्द्रीय समिति बैठक आज बस्दै छ । बैठकमा विवादमा रहेको १५औँ महाधिवेशन कार्य तालिका पेस गर्ने तयारी छ ।
