महेश बस्नेतको संगीन आरोप– कुलमान र रामेश्वर अर्बको सेटिङमा लागे
महेश बस्नेतको संगीन आरोप– कुलमान र रामेश्वर अर्बको सेटिङमा लागे
काठमाडौँ । नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य महेश बस्नेतले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ र अर्थमन्त्री रामेश्वर बोहरामाथि ‘५ अर्ब सेटिङ’को संगीन आरोप लगाएका छन्। उनले फेसबुकमा स्टाटस लेख्दै दुवै मन्त्री मिलेर ठूला विद्युत् परियोजनामा अनियमितता गर्न खोजेको दाबी गरेका हुन् ।
उनका अनुसार अघिल्लो सरकारले दीर्घकालीन ऊर्जा सुरक्षालाई ध्यानमा राखेर ‘टेक–अर–पे’ मोडालिटीमा पावर पर्चेज एग्रिमेन्ट (पीपीए) नगर्ने नीति ल्याएको थियो । तर, वर्तमान सरकारका मन्त्री घिसिङ र खनालले मिलेर प्रवर्द्धकहरूसँग प्रतिमेगावाट १० लाख रुपैयाँ उठाउने गरी ५ हजार मेगावाटका परियोजनामा टेकअरपे मोडालिटी पुनः लागू गर्ने तयारी भइरहेको बस्नेतको दाबी छ।
अर्थ मन्त्रालयको सहमतिमा मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने र यसबाट करिब ५ अर्ब रुपैयाँ संकलन गरी चुनावी खर्च व्यवस्थापन गर्ने योजना बनाइएको बस्नेतको दाबी छ ।
'विद्युत प्राधिकरणको वित्तीय अवस्था ठीक नभएकाले टेक अर पेमा पीपीए नगर्ने व्यवस्था बजेट वक्तव्यमार्फत् अघिल्लो सरकारले गरेको थियो। यो दीर्धकालीन महत्वको नीतिगत निर्णय हो,' फेसबुकमा उनले लेखेका छन्, 'तर, अहिले प्रवर्धकहरूसँग प्रति मेगावाट १० लाख उठाउने गरी कुलमान र रामेश्वर खनालको डिजाइनमा ५ हजार मेगावाटको टेक अर पे पीपीए गर्ने प्रस्ताव अर्थ मन्त्रालयको सहमतिमा मन्त्रिपरिषदबाट स्वीकृत गराउने तयारी छ। यसबाट करीब ५ अर्ब अर्थ संकलन र चुनावी खर्च जोहो गर्ने र यो काम फत्ते गरेपछि मात्र मन्त्रीबाट राजीनामा गर्ने कुलमानको योजना छ। यो निर्णयबाट विद्युत प्राधिकरण टाट पल्टने निश्चित छ।'
