केपी ओलीलाई समर्थन गर्दै शेरबहादुर तामाङले गरे उपमहासचिवमा उठ्ने घोषणा
केपी ओलीलाई समर्थन गर्दै शेरबहादुर तामाङले गरे उपमहासचिवमा उठ्ने घोषणा
काठमाडौँ । नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले उपमहासचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। आज बिहान उनले एमालेको ११ औं राष्ट्रिय महाधिवेशनमा आफूले उपमहासचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।
सिन्धुपाल्चोकका नेता तामाङले पार्टी अध्यक्षमा केपी शर्मा ओलीलाई समर्थन गर्दै उपमहासचिव पदमा आफ्ना सशक्त दाबी रहेको बताएका हुन्।
मन्त्रीसमेत बनिसकेका तामाङले भने, ‘एमालेको ११ औं महाधिवेशनमा केपी ओलीलाई समर्थन गर्दै उपमहासचिवमा मेरो सशक्त दाबेदारी रहन्छ, हजुरहरूको सहयोग तथा सुझावको हार्दिक अपिल गर्दछु, हाम्रो सोलिडारिटी सधैँ रहने छ ।’
नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन मंसिर २७ बाट २९ गतेसम्म काठमाडौं उपत्यकामा हुँदैछ। महाधिवेशन नजिकिएसँगै एमालेभित्र रस्साकस्सी चलेको छ। महाधिवेशनमा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन्। एमाले अध्यक्ष केपीशर्मा ओलीले सके सर्वसम्मत पदाधिकारी चयन हुने नत्र प्रतिस्पर्धाबाट कसैलाई नरोक्ने जानकारी गराएका छन्। पोखरेलले प्यानलै खडा गरेर अगाडि बढ्ने प्रयास गरिरहेका छन्। अहिलेका पदाधिकारीमध्ये अधिकांश नेताहरूले पार्टी र राष्ट्रको वर्तमान अवस्थामा ओलीलाई अध्यक्ष बनाउनुपर्नेमा जोड दिँदै आएका छन्।
बुधबार उपाध्यक्ष विष्णु प्रसाद पौडेलले पनि अध्यक्षमा केपी शर्मा ओलीलाई समर्थन गर्ने घोषणा गरेका थिए। उनले आफू अध्यक्ष र महासचिव पदमा उम्मेदवारी नदिने बताएका थिए।
