जेनजी आन्दोलनका मुद्दा कुनै पनि गलत राजनीतिक उद्देश्य निम्ति प्रयोग नहोस्- योगेश भट्टराई
जेनजी आन्दोलनका मुद्दा कुनै पनि गलत राजनीतिक उद्देश्य निम्ति प्रयोग नहोस्- योगेश भट्टराई
काठमाडौँ -नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपां) र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहबीच भएको एकतालाई अन्यथा लिन नहुने बताएका छन्।
नेपाल न्युज एजेन्सीसँगको कुराकानीका क्रममा उनले एजेण्डा मिल्दा एकीकरण हुने र नमिल्दा छुट्टिने कुरालाई सामान्य रूपमा लिनुपर्ने बताए।
लोकतान्त्रिक प्रक्रियामा राजनीतिक दलहरू मिल्ने र विभाजन हुने कुरालाई अनौठो मान्न नहुने उनको भनाइ छ।
उनले आगामी निर्वाचनलाई लक्षित गरेर रास्वपा र प्रमुख शाहले पनि एकताको घोषणा गरेको उल्लेख गरे।
उनले नेपालको लोकतान्त्रिक प्रक्रियालाई पारदर्शी र स्वच्छ बनाउन, खण्डित भएको संवैधानिक प्रक्रियालाई सही बाटोमा ल्याउन र स्थायी शान्तिमार्फत दिगो विकासको योजनालाई अगाडि बढाउन राजनीतिक प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्नुपर्नेमा जोड दिए। त्यसको लागि नेकपा एमाले तयार रहेको उनको भनाइ छ।
उनले भने, ‘लोकतान्त्रिक परिपाटीमा कुनै पनि व्यक्ति वा समूह एकआपसमा मिल्नु र विषय नमिल्दा अलग अलग ढंगले विभाजित हुने कुरालाई अनौठो मान्न सकिँदैन। त्यही क्रममा आगामी निर्वाचनलाई ध्यान दिँदै केही राजनीतिक व्यक्ति र शक्तिहरू एकआपसमा मिलेको घोषणा गर्नुभएको छ।
त्यसलाई मैले अन्यथा रूपमा लिन चाहन्नँ। मुख्य कुरा के हो भने नेपालको लोकतान्त्रिक प्रक्रियालाई कसरी पारदर्शी र स्वच्छ बनाउने, हाम्रो खण्डित भएको संवैधानिक प्रक्रियालाई कसरी पुनरलिकमा ल्याउने र नेपालमा स्थायी शान्तिमार्फत दिगो विकासको योजनालाई कसरी अगाडी बढाउनेरु यो आजको दिनमा सबैभन्दा महत्वपूर्ण कुरा हो। यसका निम्ति राजनीतिक प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने हो। नेकपा एमाले कुनै पनि चुनौतीसँग सामाना गर्न तयार छ।’
उनले अगाडि भने, ‘जेन–जी आन्दोलन जुन भदौ २३ गते भएको थियो। त्यो हाम्रो नवयुवा पुस्ताहरूको एउटा आन्दोलन थियो, त्यो जागरण थियो। त्यो जागरण सुशासनको निम्ति थियो, भ्रष्टाचार अन्त्य गर्नको लागि थियो, सामाजिक सञ्जाललाई खोल्नुपर्ने भन्ने कुराहरूसँग थियो। यी पवित्र मागहरू हुन्। पवित्र मागहरूसहित पवित्र आत्माहरू त्यो आन्दोनलमा थिए। ती पवित्र माग र पवित्र आत्मालाई कुनै पनि गलत राजनीतिक उद्देश्य र व्यक्तिहरूको स्वार्थपूर्ति गर्नको निम्ति प्रयोग नहोस् भन्ने कुरामा हामी सबै सचेत हुनुपर्छ। जेन–जी आन्दोलनका अगुवाहरू पनि यसमा सचेत होऊन्।
आफ्नो आन्दोलन हाइज्याक गरेर राजनीतिक स्वार्थसत्ताको रोटी सेक्न र व्यक्तिगत स्वार्थको रोटी सेक्न आफ्ना आन्दोलन र एजेण्डा हाइज्याक भए कि भन्ने कुरामा जेनजी अगुवाहरूले पनि ध्यान दिऊन्।’
उपमहासचिव भट्टराईले एमाले आगामी निर्वाचनमा बहुमत ल्याउनेगरी तयारीमा लागेको पनि बताए।
उनले हाल पार्टीमाथि चौतर्फी आक्रमण भएको उल्लेख गर्दै आन्तरिक पार्टी एकतलाई बलियो बनाउने गरी पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह समेत गरे।
उनले चुनावको तयारीको लागि पार्टीभित्रका आन्तरिक मतभेदहरूलाई थाँती राखेर सबै एकजुट हुन आवश्यक रहेको बताए। – न्युज एजेन्सी नेपाल
