बालेन समूहमा समानुपातिक उम्मेदवार छनोट प्रक्रिया सुरु
बालेन समूहमा समानुपातिक उम्मेदवार छनोट प्रक्रिया सुरु
काठमाडौँ । आगामी निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रधानमन्त्री उम्मेदवार रहेका काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन) ले आफ्नो तर्फबाट सिफारिस गर्नुपर्ने समानुपातिक उम्मेदवारहरूको बन्द सूची बनाउन गृहकार्य थालेका छन् ।
रास्वपासँग सहमति गरे अनुसार निर्वाचन आयोगमा बुझाउनुपर्ने ११० जनाको बन्द सूचीमध्ये बालेनले ४० जनाको नाम पठाउने तयारी गरेका हुन् ।
स्रोतका अनुसार कतिपय नाम रास्वपा र बालेन दुवैको साझा समेत हुन सक्नेछ । ‘११० नै सिट त जित्न नसकिएला तर जति नाम जान्छ, त्यो जुन टिमबाट भए पनि योग्य उम्मेदवार हुनुपर्छ । त्यही अनुसार हाम्रो सूची बन्दैछ,’ उनको सचिवालयका सदस्य भन्छन् ।
ती सदस्यका अनुसार निर्वाचन आयोगको आधिकारिक सफ्टवेयर र एक्सेल सिट प्रयोग गरेर क्लस्टरहरूको व्यवस्थापन गरिँदैछ । नेपालको निर्वाचन कानुनअनुसार समानुपातिक प्रणालीमा दलित, महिला, आदिवासी जनजाति, मधेसी, थारु, मुस्लिम र खस–आर्यको निश्चित प्रतिशत र क्रम मिलाउनुपर्ने हुन्छ ।
उनले भने ‘समानुपातिक सूची निर्माण निकै जटिल र प्राविधिक विषय हो । सफ्टवेयरमा एउटा नाम मात्र यताउता हुँदा वा क्लस्टर नमिल्दा पूरै सूची नै अस्वीकृत हुने जोखिम हुन्छ । त्यसैले हामीले चाहेको मान्छे वा राम्रो मान्छेलाई मात्र राखेर पुग्दैन, उसले कुन क्लस्टरको प्रतिनिधित्व गर्छ भन्ने कुरा मुख्य हुन्छ ।’
उम्मेदवारको सूचीमा कसलाई कहाँ राख्ने भन्ने विषयमा बालेन टिममै बहस भइरहेको छ । बालेन आफैँ पनि विभिन्न क्लस्टरका प्रभावशाली र योग्य व्यक्तिहरूसँग प्रत्यक्ष संवादमा रहेको सचिवालयले जनाएको छ । ती सदस्यले भने, ‘समावेशी र प्राविधिक रूपमा पनि मिलेको सूची बनाउनुपर्छ । यसका लागि बालेन आफैँले विभिन्न क्षेत्रका सरोकारवालासँग परामर्श गरिरहनु भएको छ ।
बालेनको टोलीले अन्य नयाँ राजनीतिक शक्तिहरूको गतिविधिलाई पनि नजिकबाट नियालिरहेको छ । विशेष गरी राष्ट्रिय स्वतन्त्र पार्टी भित्र भइरहेको आन्तरिक भोटिङ र उनीहरूको उम्मेदवार छनोट प्रक्रियालाई ध्यानमा राख्दै बालेनले आफ्नो रणनीति तय गरिरहेका छन् ।
