images

Sep 29 2026 | २०८३, असोज १३ गते

कुलमानको ३० प्रतिशत हिस्साको अडानपछि अड्किएको वार्ता पुनः अघि बढ्दै

कुलमानको ३० प्रतिशत हिस्साको अडानपछि अड्किएको वार्ता पुनः अघि बढ्दै

एभरेष्ट हेडलाइन्स
सोमबार, पुस १४ २०८२
एभरेष्ट हेडलाइन्स
सोमबार, पुस १४ २०८२
  • कुलमानको ३० प्रतिशत हिस्साको अडानपछि अड्किएको वार्ता पुनः अघि बढ्दै

     काठमाडौँ - प्रतिनिधिसभा निर्वाचनको समानुपातिक सूची बुझाउने समय घर्किँदै जाँदा कुलमान घिसिङलाई पनि बालेन र रवि लामिछानेसँग सहमति गराउने प्रयास भइरहेको छ।

    जेनजी अभियानीहरूले कुलमानलाई पनि बालेन र रविसँग मिल्नुपर्ने दबाब दिँदै उनीहरूबीच एकता गराउने प्रयास गरिरहेका हुन्।

    त्यही क्रममा अहिले सुदन गुरूङ लगायतका केही जेनजी अभियानीले कुलमानलाई बालेन र रवि लामिछानेसँग छलफल गराउन आफै गाडीमा राखेर लगेको स्रोतहरूले बताएका छन्। कुलमानलाई वार्ता स्थल लिएर जानेमा जेम्स कार्की र ओजस्वी थापा पनि छन्।

    उक्त वार्तामा सहभागी हुन रवि लामिछाने भर्खरै रास्वपाको जारी केन्द्रीय समिति बैठक छाडेर हिँडेका छन्। लगभग अनिर्णित अवस्थामा पुगिसकेको वार्ता फेरि सुरू गरेर निकास खोज्ने प्रयास भइरहेको एक रास्वपा नेताले जानकारी दिए। कुलमान पक्षले पनि यसलाई पुष्टि गरेको छ।

    स्रोतका अनुसार बुढानिलकण्ठ क्षेत्रमा वार्ता गर्ने तय भएको छ।

    काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच आइतबार बिहानको सहमतिमा छुटेका कुलमान घिसिङले आफू पनि त्यो समूहमा प्रवेश गर्न बेलुकीदेखि नै वार्ता सुरू गरेका थिए।

    उनले आइतबार साँझ र सोमबार बिहान पनि बालेन र रास्वपा समूहसँग एकता गर्न त्रिपक्षीय संवाद गरेका थिए। बालेन समूहसँग प्रत्यक्ष संवाद भएको थियो भने कुलमान र रविले फोनवार्ता गरेको स्रोत बताउँछ।


    दुई दिन गरी चार- पाँच घन्टा लगातार कुरा गर्दा पनि कुलमानसँगको वार्ता सहमतिमा पुग्न सकेको छैन।

    स्रोतका अनुसार कुलमानले रास्वपामा आफ्ना लागि सह-सभापति पद माग गरेका छन्। सँगसँगै, केन्द्रीय समितिदेखि समानुपतिक सूची र प्रत्यक्ष उम्मेदवारतर्फ ३० प्रतिशत हिस्सा उज्यालो नेपाल पार्टीले पाउनुपर्ने उनको माग छ।


    रास्वपा पक्षले भने अहिलेको अवस्थामा कुलमानको नयाँ पार्टीले ३० प्रतिशत हिस्सा माग गर्नु अत्यन्तै धेरै भएको बताएको छ।

    त्यही भएर उसले १५ प्रतिशतभन्दा बढी हिस्सा दिन नसकिने जबाफ दिएको थियो।

    कुलमानलाई पनि उनको माग अनुसार सहसभापति होइन, बरू उपसभापति दिन सकिने प्रस्ताव गरिएको रास्वपा स्रोत बताउँछ।

    रास्वपाको यो प्रस्ताव कुलमानले अस्वीकार गरेपछि उनीहरूको वार्ता अनिर्णित बनेको थियो।

    बिहानभरि भएको वार्ता अनिर्णित भएपछि कुलमान समूह आफ्नो तर्फबाट छुट्टै समानुपातिक सूची बनाउने तयारीमा लागेका थिए। त्यसैबीच जेनजी प्रतिनिधिहरूले कुलमानलाई जसरी भए पनि रवि र बालेनसँग मिलाएर लैजान दबाब दिएपछि अहिले उनीहरू 'निर्णायक वार्ता' बस्न लागेका हुन्।

    नेपाललाई लोडसेडिङ मुक्त गराउनमा भूमिका खेलेको भनी देशव्यापी लोकप्रियता कमाएका ऊर्जामन्त्री कुलमानलाई सँगै लिएर जाँदा निर्वाचनमा फाइदा हुन्छ भन्ने रास्वपाको पनि विश्लेषण रहँदै आएको छ। लोडसेडिङसँग जोडिएको उनको व्यक्तिगत छविका कारण राजनीतिक साख राम्रो भएकाले सँगै लिएर जाँदा वैकल्पिक शक्ति बलियो हुने नेताहरू बताउँछन्।

    यति हुँदाहुँदै तीन वर्ष लगाएर बनाएको पार्टी संरचनामा एकैचोटि ३० प्रतिशत हिस्सा नयाँ पार्टीलाई दिँदा रास्वपाभित्रै असन्तुष्टि बढ्न सक्ने अनुमान पनि गरिएको छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट