पुस्तान्तरण अंश बाँडेजस्तो होइन, ज्ञान र विचारको हस्तान्तरण हो’ : सुनिता डंगोल
पुस्तान्तरण अंश बाँडेजस्तो होइन, ज्ञान र विचारको हस्तान्तरण हो’ : सुनिता डंगोल
काठमाडौं -महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले पुस्तान्तरण आमा-बुवाले छोराछोरीलाई अंश दिए जस्तै दिने कुरा नभएको बताएकी छन्।
मंगलबार एक कार्यक्रममा डंगोलले अहिले राजनीतिमा सबैभन्दा धेरै ‘पुस्तान्तरण’ विषय आउने गरेको भन्दै पुस्तान्तरण आमाबुवाले छोराछोरीलाई अंश दिएको जस्तै दिने कुरा नभएको बताएकी हुन्।
‘पुस्तान्तरण भन्ने बित्तिकै ६० वर्षको उमेरकोले २० वर्षको उमेरको मान्छेलाई मैले ठाउँ छोडेँ अब तिमी आऊ भनेको पुस्तान्तरण होइन,’ उनले भनिन्, ‘पुस्तान्तरण भन्नुको अर्थ त्यहाँ ज्ञान, सीप, सूचना, विचार र सिद्धान्त ट्रान्सफर हुन जरूरी छ।’
उनले एउटा व्यक्तिलाई हटाउने अनि अर्को व्यक्तिलाई ल्याउनेलाई पुस्तान्तरण भनेर बुझ्यो भने अर्को दुर्घटना निम्त्याउने बताइन्।
‘पार्टीभित्र पुस्तान्तरणको कुरा गरिरहँदा पार्टीभित्र विभिन्न उमेर समूहका नेतृत्व रहिरहँदा लर्निङ एण्ड सेयरिङको वातावरण हुन जरूरी छ। धेरै जानेकोले थोरै जानेकोलाई सिकाउने वातावरण हुन जरूरी छ। थोरै जानेकोले पनि नयाँ विषयमा नयाँ जानेको छ भने सिक्ने वातावरण हुन जरूरी छ,’ उनले भनिन्।
यस्तै उनले गुरू शिष्य परम्परा पार्टीभित्र पनि विभिन्न पुस्ताबीच हुन जरूरी रहेको बताइन्। त्यसपछि मात्रै पुस्तान्तरण साँच्चिकैको हुने उनको भनाइ छ।
उनले युवाहरूलाई राजनीतिमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरको इन्टेलिजेन्स ह्युमन रिसोर्स बनाउनु पर्नेमा जोड दिइन्।
