अमेरिकामाथि नेपालको शानदार जित, १२२ रनको फराकिलो अन्तरले विजय
अमेरिकामाथि नेपालको शानदार जित, १२२ रनको फराकिलो अन्तरले विजय
काठमाडौं । नेपालले विश्वकप लिग–२ अन्तर्गत घरेलु त्रिकोणात्मक एकदिवसीय शृंखलाको अन्तिम खेलमा अमेरिकाविरुद्ध १२२ रनको प्रभावशाली जित हात पारेको छ ।
शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले दिएको ३१८ रनको लक्ष्य पछ्याउन उत्रेको अमेरिका ४१.२ ओभरमा १९५ रन बनाएर अलआउट भयो । अमेरिकाका सञ्जय कृष्णमुर्तीले ४४ बलमा चार चौका र चार छक्का सहित ५६ रनको लडाकु पारी खेले ।
यसअघि टस हारेर पहिला ब्याटिङ गर्न उत्रेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३१७ रन संकलन गरेको थियो । नेपालका लागि इशान पाण्डेले ८४, दीपेन्द्रसिंह ऐरीले ५९, कप्तान रोहित पौडेलले ४६, आसिफ शेखले ४३ तथा कुशल भुर्तेलले २९ रनको उपयोगी योगदान दिए । अमेरिकाका शुभम रञ्जनेले तीन विकेट लिए ।
यस जितसँगै नेपालले २८ खेलमा २४ अंक जोड्दै तालिकामा पाँचौँ स्थान कायम राखेको छ । हारका बाबजुद २८ खेलबाट ३८ अंक जोडेको अमेरिका भने शीर्ष स्थानमा कायम छ ।
