images

Sep 29 2026 | २०८३, असोज १३ गते

करदाता प्रोत्साहन उपहार : २५० रुपैयाँको खरिदमा १० लाख जित्ने हेमराजलाई अर्थमन्त्रीको बधाई फोन

करदाता प्रोत्साहन उपहार : २५० रुपैयाँको खरिदमा १० लाख जित्ने हेमराजलाई अर्थमन्त्रीको बधाई फोन

२५० रुपैयाँको खरिदमा १० लाख जित्ने हेमराजलाई अर्थमन्त्रीको बधाई फोन

एभरेष्ट हेडलाइन्स
आइतबार, साउन २४ २०८३
एभरेष्ट हेडलाइन्स
आइतबार, साउन २४ २०८३
  • करदाता प्रोत्साहन उपहार : २५० रुपैयाँको खरिदमा १० लाख जित्ने हेमराजलाई अर्थमन्त्रीको बधाई फोन

    काठमाडौं, २२ साउन। आन्तरिक राजस्व विभागले सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत पहिलो १५ दिनको नतिजा शुक्रबार सार्वजनिक भएको छ। कार्यक्रमको बम्पर उपहार १० लाख रुपैयाँ जित्ने कञ्चनपुर पुनर्वास नगरपालिकाका हेमराज जोशी र एक लाख रुपैयाँ विजेता बनेकी रुपन्देहीकी सपना खरेललाई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले फोनमार्फत नै बधाई दिएका छन्।

    सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत घोषणा गरेको यस कार्यक्रमको उद्देश्य उपभोक्तामा बिल लिने र व्यवसायीमा बिल दिने बानी बसाल्नु रहेको छ। यसअन्तर्गत साउन १ देखि १५ गतेसम्म अनलाइन वा नगद कारोबार गरी विभागको प्रणालीमा बिल पेस गरेका उपभोक्ताहरू स्वतः यस उपहार कार्यक्रममा सहभागी भएका थिए। सो अवधिको हरेक दिनको कारोबारका आधारमा १५ जनाले एक-एक लाख रुपैयाँका दरले नगद उपहार पाएका छन् भने सम्पूर्ण १५ दिनको कारोबारबाट छनोट भएको एक जनाले मात्र १० लाख रुपैयाँ बराबरको बम्पर उपहार जितेका छन्। यी पुरस्कार रकममा भने कर लाग्ने व्यवस्था छ।

    आन्तरिक राजस्व विभागले अर्थ मन्त्रालयमा आयोजना गरेको पत्रकार सम्मेलनमार्फत अर्थमन्त्री वाग्लेको उपस्थितिमा विजेताहरूको नतिजा सार्वजनिक गरिएको थियो। बम्पर उपहारका विजेता हेमराज जोशीले गत साउन ७ गते जम्मा २५० रुपैयाँ पर्ने सामान अनलाइन बैंकिङमार्फत क्युआर स्क्यान गरी खरिद गर्दा नै १० लाख रुपैयाँको ठूलो रकम जितेका हुन्। कार्यक्रमपछि अर्थमन्त्री वाग्लेले जोशीलाई फोन गरी आफू संघीय सरकारको अर्थमन्त्री भएको परिचय दिँदै करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत बम्पर उपहार जितेको जानकारी दिए र कर कार्यालयका कर्मचारीले चाँडै सम्पर्क गर्ने बताए। अर्थमन्त्रीको फोन आएपछि अकमक्क परेका जोशीले उनलाई बारम्बार धन्यवाद व्यक्त गरे।

    यसैगरी एक लाख रुपैयाँ विजेता बनेकी सपना खरेलले साउन ९ गते रुपन्देहीको देवदह नगरपालिका मिलनचोकस्थित शुभसिद्धी सप्लायर्सबाट जम्मा नौ सय रुपैयाँको तरकारी किनेकी थिइन्। अर्थमन्त्रीले फोन गरेर बधाई दिँदा खरेलले सुरुमा विश्वास नै गर्न सकिनन्, तर पछि उनले पनि हार्दिक खुसी व्यक्त गरिन्।

    विभागका अनुसार बम्पर उपहार पाउने व्यक्तिले २५ प्रतिशत करकट्टी गरी वास्तविक रूपमा साढे सात लाख रुपैयाँ बराबरको रकम प्राप्त गर्नेछन्। कार्यक्रम सञ्चालनअघि आन्तरिक राजस्व विभागले उपहार छनोट विधि र प्रणालीबारे अर्थमन्त्रीलाई विस्तृत जानकारी गराएको थियो, जसअन्तर्गत विभागका प्राविधिकहरूले नमुना छनोट प्रक्रिया समेत प्रस्तुत गरेका थिए।

    सरकारले यस्तै प्रोत्साहन कार्यक्रम आगामी दिनमा पनि निरन्तर सञ्चालन गर्ने योजना रहेको जनाएको छ, जसले अनौपचारिक कारोबार घटाई राजस्व संकलन प्रणालीलाई थप पारदर्शी बनाउने लक्ष्य राखेको छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट