काठमाडौं, साउन २९
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले साउन महिनाभर चोरी भएका ५० वटा मोटरसाइकल र स्कुटर खोजी गरी सम्बन्धित धनीहरूलाई हस्तान्तरण गरेको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी सुरेश काफ्लेले काठमाडौं प्रहरी कार्यालय परिसरमा आयोजित एक कार्यक्रममा सवारीसाधनहरू सम्बन्धित मालिकलाई बुझाएका थिए।
कार्यक्रममा आफ्नो सवारीसाधन फिर्ता पाएका धनीहरूले खुसी व्यक्त गर्दै ट्राफिक प्रहरीप्रति आभार प्रकट गरे। यसअघि पनि प्रहरीले साउनमै विभिन्न स्थानबाट खोजी अभियान चलाई थुप्रै मोटरसाइकल र स्कुटर बरामद गरेको थियो।
यस क्रममा एउटा घटना विशेष चर्चामा रह्यो, जेनजी विरोध प्रदर्शनको क्रममा ट्राफिक कार्यालयबाटै चोरी भएको प्रहरी सहायक हवल्दार दीपक सुनारको मोटरसाइकल पनि प्रहरीले खोजी गरी उनैलाई फिर्ता गरेको हो। सुनार पहिले ट्राफिक एफएममा कार्यरत थिए र हाल अन्यत्र सरुवा भइसकेका छन्। एसएसपी काफ्लेले बिहीबार रामशाहपथमा उनको बा.८५ प ६२७४ नम्बर प्लेटको मोटरसाइकल हस्तान्तरण गरेका थिए। सुनारजस्तै थप ४ जना प्रहरीका हराएका मोटरसाइकल पनि यसै महिना भेटिएका छन्।
घटनाको अनुसन्धानका क्रममा प्रहरीले चोरीमा संलग्न रहेको आरोपमा १४ जनालाई पक्राउ गरेको छ। यी सबैलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं र मातहतका सम्बन्धित इकाईलाई जिम्मा लगाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी नरेश सुवेदीले जानकारी दिए।
उनका अनुसार साउन महिनामा मात्रै ट्राफिक प्रहरी कार्यालयमा दुईपांग्रे सवारीसाधन हराएको १५६ वटा उजुरी परेको थियो, जसमध्ये ८९ वटा फेला परिसकेको छ। प्रहरीले जनतालाई सवारीसाधन सुरक्षित स्थानमा राख्न, ह्वील लक, चेन लक, ह्यान्डल लक, डिस्क लक तथा अलार्म जस्ता सुरक्षा उपकरण प्रयोग गर्न र निर्जन स्थानमा पार्किङ नगर्न आग्रह गरेको छ। सवारीसाधन हराएमा प्रहरीको ट्राफिक हटलाइन १०३ वा नेपाल प्रहरी हटलाइन १०० मा सम्पर्क गर्न वा नजिकको प्रहरी कार्यालयमा उजुरी दिन सकिने प्रहरीले जनाएको छ।