पूर्वराजासँग भेटपछि जबरा उत्साहित, चुनावी तयारीमा जुटे
पूर्वराजासँग भेटपछि जबरा उत्साहित, चुनावी तयारीमा जुटे
चुनावी तयारीमा जुटे
काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट अलग भई नयाँ राजनीतिक यात्रा अघि बढाइरहेका डा. धवल शमशेर जबराले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता गरेका छन्। सोल्टी होटलमा आयोजित हिमानी ट्रस्टको कार्यक्रममा भदौ ६ गते साँझ यो भेट भएको जबराले जनाएका छन्।
जबराका अनुसार लामो समयको अन्तरालपछि भएको यस भेटमा देशको वर्तमान राजनीतिक तथा सामाजिक अवस्थाबारे लामो कुराकानी भएको थियो। पूर्वराजा ज्ञानेन्द्र शाहले सबैलाई समेटेर अगाडि बढ्न आफूलाई शुभकामना दिएको जबराले बताएका छन्। पूर्वराजाले देशको अवस्थाप्रति चासो राख्नुभएको र देश अगाडि बढोस्, सबै नेपाली सुखी होऊन् भन्ने सकारात्मक सोच रहेको उनको भनाइ छ।
राप्रपाबाट अलग भई 'जय नेपाल पार्टी' गठन गरेका जबराले दुर्गा प्रसाईंसँग आफ्नो कुरा नमिलेको जानकारी पूर्वराजालाई गराउँदा उहाँ हाँसेको र त्यसबारे कुनै टिप्पणी नगरेको बताएका छन्। राप्रपाबारे पनि भेटमा कुनै छलफल नभएको उनले स्पष्ट पारे।
अहिलेको सरकारको कामकारबाहीप्रति प्रतिक्रिया दिँदै जबराले जनताले सुरुमा राखेको आशा क्रमशः घट्दै गएको र वर्तमान सरकार असफलतातर्फ गइरहेको महसुस भइरहेको बताए। स्थानीय तहबाटै जनसेवा प्रभावकारी रूपमा गर्न सकिने आफ्नो अनुभव सुनाउँदै उनले आफ्नो पार्टीले स्थानीय तहलाई प्राथमिकतामा राखेर काम गर्ने बताए।
जबराका अनुसार पार्टीले भदौ र असोज महिनाभित्र ७७ जिल्लामा तदर्थ जिल्ला कार्यसमिति गठन गर्ने, युवा, महिला तथा जनवर्गीय संगठन विस्तार गर्ने योजना बनाएको छ। स्वच्छ छवि भएका र स्थानीय तहमा काम गर्न सक्षम व्यक्तिहरूलाई उम्मेदवारका रूपमा अगाडि ल्याउँदै आगामी स्थानीय तह निर्वाचनमा सहभागी हुने तयारी पार्टीले गरिरहेको उनले जनाए।
