श्रीलंकाकी राजदूत डेल्पिटियाद्वारा परराष्ट्रमन्त्री खनालसँग शिष्टाचार भेटवार्ता
श्रीलंकाकी राजदूत डेल्पिटियाद्वारा परराष्ट्रमन्त्री खनालसँग शिष्टाचार भेटवार्ता
काठमाडौं — नेपालका लागि श्रीलंकाकी राजदूत रुवन्थी डेल्पिटियाले परराष्ट्रमन्त्री शिशिर खनालसँग आज परराष्ट्र मन्त्रालयमा शिष्टाचार भेट गर्नुभएको छ। भेटका क्रममा राजदूत डेल्पिटियाले विपद्को यस कठिन समयमा श्रीलंका सरकार र त्यहाँका जनताका तर्फबाट नेपाल सरकार र नेपाली जनताप्रति गहिरो समवेदना तथा ऐक्यबद्धता व्यक्त गर्नुभयो, साथै बाढीका कारण भएको जनधन तथा पूर्वाधारको क्षतिप्रति दुःख पनि प्रकट गर्नुभयो।
सोही अवसरमा राजदूत डेल्पिटियाले हालैको विनाशकारी बाढीबाट प्रभावित नेपालका लागि श्रीलंका सरकारको तर्फबाट १० लाख अमेरिकी डलर आर्थिक सहयोग हस्तान्तरण गर्नुभयो। यो सहयोग बाढीपछि जारी उद्धार, राहत तथा मानवीय सहायता कार्यमा उपयोग हुने अपेक्षा गरिएको छ।
भेटमा परराष्ट्रमन्त्री खनालले नेपालप्रति देखाएको यस्तो सद्भाव र सहयोगका लागि श्रीलंका सरकारप्रति आभार व्यक्त गर्नुभयो। यसैगरी दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई थप सुदृढ बनाउने र आपसी हितका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा समेत दुवैबीच छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
