दुई कित्तामा कांग्रेस महाधिवेशन: देउवा पक्षले तोक्यो ४ समिति संयोजक
दुई कित्तामा कांग्रेस महाधिवेशन: देउवा पक्षले तोक्यो ४ समिति संयोजक
देउवा पक्षले तोक्यो ४ समिति संयोजक
काठमाडौं — नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले पार्टीको १५ औं महाधिवेशनको तयारीका लागि चारवटा समिति गठन गरी संयोजकहरू तोकेको छ।
देउवा पक्षका सचिवालय समन्वय समितिका संयोजक दीपकप्रसाद कुइकेलका अनुसार निर्वाचन समितिको संयोजकमा एकराज पोखरेल, सदस्यता व्यवस्थापन समितिको संयोजकमा किरणराज शर्मा, अनुशासन समितिको संयोजकमा पद्मनारायण चौधरी र विधान मस्यौदा समितिको संयोजकमा शिव हुमागाईं तोकिएका छन्।
देउवा पक्षले केन्द्रीय महाधिवेशन मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा सम्पन्न गर्ने निर्णय गरेको छ। सोही अनुसार महाधिवेशनको तयारीस्वरूप असोज १५ गते वडा अधिवेशन, असोज २० गते पालिका अधिवेशन, असोज २३ गते प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन, कात्तिक १५ गते जिल्ला अधिवेशन र मंसिर ४ गते प्रदेश अधिवेशन सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक गरिएको छ।
यता, नेपाली कांग्रेसकै अर्को समूहले भने असोज १६ देखि १९ गतेसम्म काठमाडौंको खुलामञ्चमा १५ औं महाधिवेशन गर्दैछ। यस समूहको महाधिवेशन प्रक्रिया असोज ३ र ४ गते हुने वडा अधिवेशनबाट सुरु हुनेछ।
यसरी नेपाली कांग्रेसभित्र हाल दुई फरक समूहले समानान्तर रूपमा छुट्टाछुट्टै महाधिवेशनको तयारी अगाडि बढाइरहेका छन्, जसले पार्टीभित्रको विभाजनलाई थप स्पष्ट पारेको छ।