भोटेकोशी बाढीपीडितको साथमा प्रवासी नेपाली: ५ करोडभन्दा बढी सहयोग संकलन, हेलिकप्टरबाट पुग्दै राहत
भोटेकोशी बाढीपीडितको साथमा प्रवासी नेपाली: ५ करोडभन्दा बढी सहयोग संकलन, हेलिकप्टरबाट पुग्दै राहत
एनआरएनएको स्वास्थ्य शिविरमा करिब ७ सयले पाए सेवा, भारतको शिख एडसँगको समन्वयमा ठुलो स्याफ्रुका ११० परिवारलाई राहत सामग्री
काठमाडौँ, असोज ३ – भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा र नुवाकोटका नागरिकको उद्धार तथा राहतका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सञ्चालन गरेको राहत तथा मानवीय सहयोग अभियान निरन्तर अघि बढिरहेको छ। विदेशमा रहेका नेपालीहरूबाट ५ करोडभन्दा बढी रकम संकलन भइसकेको छ भने प्रभावित क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर र राहत सामग्री वितरणसमेत भइरहेको छ।
बाढीपीडितप्रति गरिएको पूर्वप्रतिबद्धता अनुसार सहयोग रकम प्राप्त हुने क्रम जारी छ। पदाधिकारीहरू, विभिन्न राष्ट्रिय समन्वय परिषद् (एनसीसी) तथा विदेशका विभिन्न संघसंस्था र नेपालीहरूको व्यक्तिगत तर्फबाट हालसम्म ५ करोड ३ लाख ७९ हजार २८७ रुपैयाँ ७० पैसा सहयोग कोषमा जम्मा भएको छ। यसमध्ये युकेको एनसीसीले पहिलो चरणमा सबैभन्दा बढी ५३ लाख ४३ हजार २४४ रुपैयाँ २५ पैसा बुझाएको छ। त्यसपछि अष्ट्रेलियाले पहिलो चरणमा ३१ लाख १ हजार ५८१ रुपैयाँ ७६ पैसा, बहराइनले २५ लाख ७९ हजार ३२८ रुपैयाँ, न्युजिल्यान्डले २१ लाख ५२ हजार ८९९ रुपैयाँ ७३ पैसा, नर्वेले १७ लाख ८९ हजार ८४२ रुपैयाँ ९६ पैसा, ओमानले १३ लाख १५ हजार रुपैयाँ र दक्षिण कोरियाले ११ लाख १० हजार ८१२ रुपैयाँ जम्मा गरेका छन्।
नेदरल्यान्ड्सको स्टिच्टिङ नेपाल फन्ड्सबाट १० लाख ५५ हजार १९३ रुपैयाँ ६० पैसा, लग्जेम्बर्गबाट १० लाख ४६ हजार ५४८ रुपैयाँ ८६ पैसा र साउदी अरेबियाबाट १० लाख रुपैयाँ प्राप्त भएको छ। टर्कीबाट ७ लाख ५० हजार ३३७ रुपैयाँ, म्यानमारबाट ६ लाख १ हजार रुपैयाँ, इजरेलबाट ५ लाख ४ हजार ३८५ रुपैयाँ र नेदरल्यान्ड्सबाट ५ लाख रुपैयाँ सहयोग प्राप्त भएको एनआरएनएले जनाएको छ।

अभियानअन्तर्गत बाढीले सबैभन्दा बढी असर पारेका ठाउँमा स्वास्थ्य सेवा पनि पुर्याइएको छ। रसुवाको उत्तरगया गाउँपालिका–२ को डाँडागाउँस्थित स्वास्थ्य चौकीमा सञ्चालित शिविरमा असोज २ गते मात्रै ७५ जनाको स्वास्थ्य जाँच गरिएको थियो। एनआरएनए ग्लोबल स्वास्थ्य विभागकी सहसंयोजक प्रसुना कँडेलको नेतृत्वमा खटिएको टोलीमा डा. कावेरी कार्की, डा. सोवित गुरुङ र हरि कोजु सहभागी थिए। उनीहरूले डाँडागाउँ स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी तथा स्वयंसेवक हेम थापा मगरको सहकार्यमा परीक्षण र उपचार गरेका थिए।
शिविरमा बाढीका कारण उत्पन्न गम्भीर मानसिक आघात (सिभियर शक), पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर (पीटीएसडी), मौसमी फ्लु, एलर्जी, उच्च रक्तचाप, मधुमेह, झाडापखाला, बान्ता, थाइराइड, पेट, हाडजोर्नी तथा फोक्सो र मुटुसम्बन्धी समस्या भएका बिरामीको जाँच भएको थियो। उच्च रक्तचाप देखिएका केही बिरामीलाई आवश्यक औषधि उपचारसमेत सुरु गरिएको छ भने बाढीबाट प्रभावित व्यक्तिलाई मनोसामाजिक परामर्श पनि दिइएको छ। विपद् प्रभावित क्षेत्रको स्वास्थ्य सेवालाई थप टेवा पुर्याउन एनआरएनएको तर्फबाट रसुवा र नुवाकोटमा विभिन्न चरणमा गरी हालसम्म १० वटा निःशुल्क शिविर सञ्चालन गरिएको र जसबाट करिब ७ सयले सेवा पाइसकेका छन्। चारदिने शिविर सम्पन्न गरी स्वास्थ्य टोली आज काठमाडौँ फर्किएको छ।

यसैबीच, एनआरएनएको समन्वय तथा सहजीकरणमा भारतको उडिसास्थित कटकको शिख एड चारिटेबल ट्रस्टले राहत सामग्री रसुवाको धुन्चेसम्म पुर्याएको छ। गोसाइँकुण्ड गाउँपालिका–१ को ठुलो स्याफ्रुका ११० प्रभावित परिवारका लागि उपलब्ध गराइएको सामग्रीमा १० वटा ग्यास सिलिन्डर, ११० वटा ग्यास चुल्हो, ११० सेट भान्साका सामग्री, २०० वटा ब्ल्याङ्केट र ११० वटा प्रेसर कुकर रहेका छन्। शिख एडको टोली भोलि बिहान हेलिकप्टरमार्फत ठुलो स्याफ्रु पुगेर स्थानीय तह तथा सम्बन्धित पक्षसँगको समन्वयमा सामग्री वितरण गर्ने छ। टोलीमा गोसाइँकुण्ड गाउँपालिका–१ का वडाध्यक्ष उर्केन छिरिङ तामाङ पनि रहनेछन्।
राहत सामग्रीमध्ये ९० सेट ठुलो स्याफ्रुका बढी प्रभावित तथा विपन्न परिवारलाई दिइनेछ। बाँकी १० सेट आवश्यकताअनुसार धुन्चेस्थित गुम्बालाई उपलब्ध गराइनेछ। बाढीमा ज्यान गुमाएका व्यक्तिको काजक्रिया तथा धार्मिक संस्कारका लागि आवश्यक सहयोग पुर्याउने उद्देश्यले गुम्बालाई पनि सामग्री दिन लागिएको हो।

भारतबाट राहत सामग्रीसहित नेपाल आएका शिख एडका संस्थापक रौनक सिंह र स्वयंसेवक टोलीलाई एनआरएनएले प्रभावित क्षेत्रको अवस्था, स्थानीय आवश्यकता र राहत वितरणको प्रक्रियाबारे परामर्श तथा समन्वय गरेको थियो। सामग्री प्रभावित बस्तीमा पुर्याउन आवश्यक स्थानीय तह, सम्बन्धित निकाय तथा यातायात व्यवस्थापनका लागि समन्वय र सहजीकरण पनि एनआरएनएले नै गरिरहेको छ। यसअघि दुई संस्थाबीच भएको छलफलमा स्थानीय आवश्यकता र प्राथमिकतालाई आधार बनाई उपलब्ध स्रोत प्रभावकारी रूपमा प्रभावित परिवारसम्म पुर्याउन सहकार्य गर्ने सहमति भएको थियो।

