images

Sep 29 2026 | २०८३, असोज १३ गते

सिबिफिन र एनबिआईबीच सहकार्य, युवा उद्यमशीलता सम्मेलन आयोजना गर्ने

सिबिफिन र एनबिआईबीच सहकार्य, युवा उद्यमशीलता सम्मेलन आयोजना गर्ने

एआई, उद्यमशीलता र रोजगारीलाई केन्द्रमा राखी काठमाडौंमा हुने सम्मेलनमा चार सय जनाको सहभागिता हुने

#सिबिफिन #एनबिआई #युवाउद्यमशीलता #NextGenNepal #वित्तीयसमावेशीकरण #स्टार्टअपनेपाल #डिजिटलबैंकिङ #काठमाडौं

शुक्रबार, असोज ९ २०८३
शुक्रबार, असोज ९ २०८३
  • सिबिफिन र एनबिआईबीच सहकार्य, युवा उद्यमशीलता सम्मेलन आयोजना गर्ने

    काठमाडौं — बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) र नेपाल बिजनेस इन्स्टिच्युट (एनबिआई) को सहकार्यमा आगामी असोज २३ गते काठमाडौंमा "नेपाल युवा उद्यमशीलता सम्मेलन २०८३" आयोजना हुने भएको छ। एआई, युवा उद्यमशीलता र रोजगारीको मुख्य विषयमा केन्द्रित हुने यस सम्मेलनको मूल नारा "नेक्स्टजेन नेपालः एआई, उद्यमशीलता र भविष्यको रोजगारी" रहेको छ। सम्मेलन सम्बन्धी सहकार्यका विषयमा सिबिफिन र एनबिआईबीच गत सोमबार (असोज ५ गते) समझदारी पत्रमा हस्ताक्षर भएको थियो।

    सम्मेलनमा तीनै तहका सरकार, निजी क्षेत्र, विकास साझेदार संस्था र विभिन्न कूटनीतिक नियोगका उच्चपदस्थ अधिकारीहरूको सहभागिता रहने आयोजकहरूले जनाएका छन्। समझदारी पत्रमा हस्ताक्षर कार्यक्रममा बोल्दै सिबिफिनका कार्यवाहक अध्यक्ष राजेश उपाध्यायले सम्मेलनले वित्तीय पहुँच, वित्तीय समावेशीकरण, उद्यमशीलता, नवप्रवर्तन र रोजगारी सिर्जनामा प्रविधिको उपयोगजस्ता विषयमा केन्द्रित हुँदै नेपालको बैंकिङ तथा वित्तीय क्षेत्र र युवा उद्यमीहरूबीचको सम्बन्धलाई थप विस्तारित र व्यावसायिक बनाउन कोसेढुंगा साबित हुने विश्वास व्यक्त गरे। यस सहकार्यले युवा उद्यमीहरूमाझ वित्तीय साक्षरता अभिवृद्धि, डिजिटल बैंकिङको उपयोग विस्तार र जिम्मेवारपूर्ण कर्जा उपभोगको संस्कृति विकासमा समेत महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो।

    त्यसैगरी नेपाल बिजनेस इन्स्टिच्युटका कार्यकारी अध्यक्ष विशाल गैरेले देशको दिगो आर्थिक विकासका लागि युवालाई उत्पादन र रोजगारीमा केन्द्रित गर्नुपर्ने बताए। नीतिगत व्यवस्था, स्टार्टअपका लागि बीउ पुँजी र युवाका उद्यमहरूमा वित्तीय पहुँचजस्ता विषय बैंक तथा वित्तीय संस्थासँग सोझो सम्बन्ध भएकाले सिबिफिनसँगको यो सहकार्यले सम्मेलनलाई थप प्रभावकारी बनाउने उनको भनाइ थियो।

    आयोजकका अनुसार देशभरका करिब ४०० उद्यमी-व्यवसायी र सरोकारवालाको सहभागिता रहने यस सम्मेलनले युवा उद्यमी तथा वित्तीय क्षेत्रअनुकूल नीति निर्माण गर्न र लगानीको वातावरण सुधार गर्न स्पष्ट दिशाबोध गर्ने अपेक्षा गरिएको छ। अर्थतन्त्रका बाह्य सूचकहरू बलियो अवस्थामा रहेको र पर्याप्त तरलतासहित न्यून ब्याजदर कायम रहेको वर्तमान परिस्थितिमा हुन लागेको यस सम्मेलनले उद्यमशीलता, स्टार्टअप र नवीन प्रविधिजस्ता क्षेत्रमा अग्रसर हुन खोजिरहेका उदीयमान युवा उद्यमीहरूलाई मार्गनिर्देश गर्ने र नेपालको वित्तीय क्षेत्रको दिगो विकास तथा युवा उद्यमशीलताको प्रवर्द्धनमा नयाँ आयाम थप्ने विश्वास लिइएको छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट