विश्व दृष्टि दिवस मनाइँदै
विश्व दृष्टि दिवस मनाइँदै
काठमाडौं, २२ असोज — 'आँखालाई माया गरौं, दृष्टिको रक्षा गरौं' भन्ने नाराका साथ विविध कार्यक्रम आयोजना गरेर आज विश्व दृष्टि दिवस मनाइँदैछ। विश्व दृष्टि दिवस हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबार मनाइन्छ।
यस वर्षको नाराले व्यक्तिगत रूपमा आँखाको हेरचाह गर्न प्रेरित गर्नुका साथै सरकार र सरोकारवालालाई सबैका लागि सर्वसुलभ र गुणस्तरीय आँखा स्वास्थ्य सेवा सुनिश्चित गर्न आग्रह गरेको छ। साथै नाराले विद्यालय, कार्यस्थल र नीति निर्माण हुने स्थानमा आँखा परीक्षण तथा जनचेतनाका गतिविधि विस्तार गर्न पनि जोड दिएको छ।
नेत्रज्योति सङ्घका कार्यकारी निर्देशक डा. शैलेश कुमार मिश्रका अनुसार ग्लुकोमा, आँखाको पर्दासम्बन्धी रोग, मधुमेहसँग सम्बन्धित दृष्टि समस्या, उमेरसँग सम्बन्धित आँखाका रोग र दृष्टिदोषजस्ता समस्या पनि बढ्दो चुनौती बनेका छन्।
सङ्घले हालसम्म पाँच करोड दुई लाख ४८९ जनालाई उपचार सेवा प्रदान गरिसकेको छ भने ५६ लाख ५९ हजार ६२४ जनाको आँखाको शल्यक्रिया गरिसकेको छ। सङ्घको हाल २८ आँखा अस्पताल र ४४ जिल्ला शाखाका २२६ उपचार केन्द्रमार्फत नेपालीसहित अन्य विभिन्न विदेशी नागरिकलाई आँखा सेवा प्रदान गरिसकेको छ।
