जेनजी आन्दोलनपछि देखिएको अन्योल निर्वाचन तयारीसँगै अन्त्य भयो: प्रचण्ड
जेनजी आन्दोलनपछि देखिएको अन्योल निर्वाचन तयारीसँगै अन्त्य भयो: प्रचण्ड
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनको तयारीसँगै देशमा अन्योल हटेको बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघले बुधबार काठमाडौंमा आयोजना गरेको शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य विषयक सर्वपक्षीय राष्ट्रिय संवादमा प्रचण्डले जेनजी आन्दोलनपछि देखिएको अन्योल निर्वाचनको तयारीसंग हटेर गएको बताएका हुन् ।
उनले धेरै अप्ठेरो र जटिलताकाबीच निर्वाचन नै देशको निकास हो भनेर सरकारले गरेको दृढ प्रदर्शन प्रशंसनीय रहेको धारणा राखे ।
अहिले सबै राजनीतिक दल र आम जनताले निर्वाचनको मानसिकता बनाइएकोले कुनै अन्योल नरहेको उनको भनाइ छ । प्रचण्डले ताजा जनदेशमार्फतको संसदबाट जेनजीका मुद्दालगायत संविधानका सीमा र कमीहरुलाई संशोधनमार्फत सुधार गर्नुपर्नेमा जोड दिए ।
त्यस्तै प्रचण्डले निजी क्षेत्रलाई संरक्षण, प्रोत्साहन र लगानीको वातावरण बनाउन नसके मुलुक विकास र समृद्धितर्फ अघि बढ्न नसक्ने बताए |
