एमसीसी अन्तर्गत रातमाटे र न्यू दमौलीमा सबस्टेशन र २९७ किमि प्रसारण लाइन निर्माण शुरू, नेपालको क्षेत्रीय ऊर्जा व्यापारमा नयाँ अध्याय
एमसीसी अन्तर्गत रातमाटे र न्यू दमौलीमा सबस्टेशन र २९७ किमि प्रसारण लाइन निर्माण शुरू, नेपालको क्षेत्रीय ऊर्जा व्यापारमा नयाँ अध्याय
रातमाटे, नुवाकोट । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समितिले आज मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) नेपाल कम्प्याक्टको विद्युत्प्रसारण आयोजना अन्तर्गत रातमाटे सबस्टेशन र नयाँ दमौली सबस्टेशन तथा २९७ किलोमिटर लामो विद्युत्प्रसारण लाइनको निर्माण कार्य औपचारिक रूपमा थालनी गरेको छ ।
संयुक्त राज्य अमेरिकाको ५५ करोड अमेरिकी डलर अनुदान र नेपाल सरकारको १९.७० करोड अमेरिकी डलर लगानीमा कार्यान्वयन भइरहेको यस साझेदारीले अन्तरराष्ट्रिय स्तरको विद्युत्प्रसारण पूर्वाधार निर्माण र महत्वपूर्ण सडक सञ्जालको स्तरोन्नति समेट्दछ। नुवाकोटको रातमाटे सबस्टेशन निर्माणस्थलमा आयोजित शिलान्यास समारोहमा नेपाल सरकारका वरिष्ठ अधिकारी, एमसीसी तथा अमेरिकी दूतावासका प्रतिनिधि, विकास साझेदार, निर्माण व्यवसायी, स्थानीय सरोकारवाला, सञ्चार माध्यम र सामुदायिक अगुवाहरूको व्यापक सहभागिता रहेको थियो।
एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गत जम्मा तीनवटा ४०० केभि उच्च क्षमतायुक्त सबस्टेशन र ३१५ किलोमिटर प्रसारण लाइन निर्माण हुनेछ। आज शिलान्यास गरिएको प्रसारण लाइन सञ्जाल तीन खण्डमा विभाजित छ — लप्सीफेदी–रातमाटे–न्यू हेटौँडा खण्ड ११७ किलोमिटर, रातमाटे–न्यू दमौली खण्ड ९० किलोमिटर र न्यू दमौली–न्यू बुटवल खण्ड ९० किलोमिटर। यस पूर्वाधारले नेपालको राष्ट्रिय विद्युत् ग्रिडलाई सुदृढ पार्नुका साथै प्रसारण अवरोध न्यूनीकरण गर्नेछ, घरपरिवार र व्यवसायका लागि विद्युत् आपूर्तिको भरपर्दोपन सुधार गर्नेछ र क्षेत्रीय विद्युत् बजारमा नेपालको सहभागिता विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्नेछ।
एमसिए–नेपाल सञ्चालक समितिका अध्यक्ष तथा अर्थ सचिव डा. घनश्याम उपाध्यायले नेपाल सरकारले यस आयोजनालाई देशको आर्थिक भविष्यका लागि गरिएको महत्वपूर्ण लगानीका रूपमा आत्मसात् गरेको बताए। ऊर्जा सुरक्षा सुनिश्चित गर्न, लगानी र औद्योगिक विस्तार प्रवर्द्धन गर्न र नेपालको ऊर्जा सम्भाव्यताबाट अधिकतम लाभ प्राप्त गर्न विद्युत्प्रसारण पूर्वाधारलाई सुदृढ पार्नु अपरिहार्य रहेको उनले जोड दिए।
नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमले नेपालसँगको दीर्घकालीन साझेदारी र एमसीसी नेपाल कम्प्याक्टप्रतिको प्रतिबद्धता पुनःपुष्टि गर्दै भने, यस कम्प्याक्टमार्फत नेपालको ऊर्जा भविष्यको मेरुदण्ड निर्माण भइरहेको छ। भरपर्दो बिजुली देशका कुनाकुना र सीमापारसमेत प्रवाहित हुनेछ। घरपरिवारका लागि यसको अर्थ निरन्तर विद्युत् आपूर्ति हो भने कारखाना र कृषि क्षेत्रका लागि उत्पादन अभिवृद्धिका लागि ऊर्जाको अनवरत उपलब्धता हो। नेपाली व्यवसायहरूको विस्तारका लागि यसले नयाँ क्षितिज उघार्नेछ भनी उनले थपे।
एमसीसीका आवासीय राष्ट्रिय निर्देशक डायन फ्रान्सिस्कोले यी लगानीले घरपरिवार, व्यवसाय र उद्योगका लागि भरपर्दो विद्युत् आपूर्ति गर्न आवश्यक प्रसारण प्रणाली सुदृढ बनाई नेपालको ऊर्जा क्षेत्रको पूर्ण सम्भाव्यता उपयोगमा सहयोग पुर्याउने बताए। एमसीसी यस रूपान्तरणकारी पूर्वाधार निर्माण पहलमा नेपालसँग साझेदारी गर्न पाउँदा गौरवान्वित रहेको उनले उल्लेख गरे।
नेपाल विद्युत् प्राधिकरणका कार्यवाहक कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गत निर्माण भइरहेका यी पूर्वाधार छुट्टै प्रणाली नभई राष्ट्रिय प्रसारण सञ्जालकै महत्वपूर्ण विस्तार भएको स्पष्ट पारे। यी संरचना सम्पन्न भएपछि नेपालको समग्र प्रसारण क्षमतामा उल्लेखनीय वृद्धि हुने उनको भनाइ थियो।
एमसिए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर बिष्टले आजको शिलान्यासलाई नेपालको ऊर्जा पूर्वाधार विकासमा एक कोशेढुङ्गाका रूपमा उल्लेख गर्दै निर्माणाधीन सशक्त र नवीन विद्युत्प्रसारण सञ्जालले नेपालीलाई दीर्घकालसम्म लाभान्वित गर्नेछ भन्ने विश्वास व्यक्त गरे। यस आयोजनाले प्रसारण अवरोध न्यूनीकरण गर्नुका साथै नेपाललाई क्षेत्रीय ऊर्जा बजारमा एक प्रमुख पक्षका रूपमा स्थापित गर्ने र नेपाल तथा यस क्षेत्रबिचको ऊर्जा सन्निकटतामा वृद्धि गर्ने उनले बताए।
आयोजनाको निर्माण कार्यमा चार कम्पनी संलग्न छन्। टेक्नो इलेक्ट्रिक एण्ड इञ्जिनियरिङ कम्पनी लिमिटेडले रातमाटे र न्यू दमौली सबस्टेशन निर्माण गर्दैछ भने आशिष–बोझ्लर संयुक्त उपक्रमले लप्सीफेदी–रातमाटे–न्यू हेटौँडा प्रसारण लाइन खण्ड, एञ्जेलिक–स्किपर संयुक्त उपक्रमले रातमाटे–न्यू दमौली प्रसारण लाइन खण्ड र वाइबा–सालसर संयुक्त उपक्रमले न्यू दमौली–न्यू बुटवल प्रसारण लाइन खण्डको निर्माण जिम्मेवारी लिएका छन्।
निर्माण सम्पन्न भएपछि रातमाटे र न्यू दमौली सबस्टेशन नेपालका सबैभन्दा ठूला उच्च–भोल्टेज सबस्टेशनमध्ये गनिनेछन्। यी संरचनाले नेपालको विद्युत् प्रसारण सञ्जाललाई सुदृढ बनाउनुका साथै दीर्घकालीन ऊर्जा माग सम्बोधन गर्दै देशको आर्थिक वृद्धिलाई थप गति दिने अपेक्षा गरिएको छ।
