चुनौतीका बीच उपलब्धि: भदौमा बिजुली निर्यात बढ्यो
चुनौतीका बीच उपलब्धि: भदौमा बिजुली निर्यात बढ्यो
भदौमा बिजुली निर्यात बढ्यो
नेपालले भदौ महिनामात्रै बिजुली बेचेर पाँच अर्बभन्दा बढी आम्दानी गरेको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार भदौमा ५६ करोड ५६ लाख ६ हजार ४ सय ४३ युनिट विद्युत् निर्यात गरी रु. ५ अर्ब ९ करोड २४ लाख ६१ हजार २ सय ८२ आम्दानी भएको हो।
प्राधिकरणको भार प्रेषण केन्द्र (एलडिसी), स्युचाटारले सार्वजनिक गरेको विवरणअनुसार द्विपक्षीय सम्झौतामार्फत भारतको हरियाणा तथा बिहार राज्यसँगै बंगलादेशमा र विद्युत् बजारमार्फत गरी दुई माध्यमबाट यो निर्यात भएको हो। द्विपक्षीय सम्झौताअनुसार ४२ करोड १६ लाख २१ हजार २८८ युनिट निर्यात गरी रु. ३ अर्ब ६४ करोड २५ लाख आम्दानी भएको छ भने विद्युत् बजारमार्फत १४ करोड ३९ लाख ८५ हजार १५५ युनिट निर्यात गरी रु. १ अर्ब ४४ करोड ९९ लाख आम्दानी भएको प्राधिकरणले जनाएको छ।
भोटेकोशीमा आएको बाढीका कारण चिलिमे तथा त्रिशूली जलविद्युत् केन्द्रको संरचनामा क्षति पुगेपछि हाल बंगलादेशतर्फको विद्युत् निर्यात बन्द रहेको छ। अन्य जलविद्युत् केन्द्रबाट बंगलादेशतर्फ निर्यात सुचारु गर्न आवश्यक स्वीकृतिका लागि भारतीय पक्षलाई अनुरोध गरिसकेको प्राधिकरणले जनाएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठका अनुसार अघिल्लो वर्षको तुलनामा भदौ महिनामा विद्युत् व्यापार सुधार भएको छ, जसलाई उनले महत्वपूर्ण उपलब्धि बताएका छन्। "भोटेकोशी बाढीले राष्ट्रिय उत्पादन क्षमताको करिब १० प्रतिशत प्रणालीबाट बाहिरिएको चुनौतीपूर्ण अवस्थामा समेत भदौमा नेपालले ५६ करोड ५६ लाख युनिटभन्दा बढी विद्युत् निर्यात गरी रु. ५ अर्ब ९ करोड भन्दा बढी आम्दानी गरेको छ," मन्त्री श्रेष्ठले भने। गत आर्थिक वर्षको भदौमा विद्युत् निर्यात आम्दानी रु. ४ अर्ब ७० करोड ८२ लाख रहेकामा यसपटक रु. ३८ करोड २७ लाखभन्दा बढीले वृद्धि भएको उनले जनाए।
यो उपलब्धि एलडिसी स्युचाटारको निरन्तर प्रणाली समन्वय, विद्युत् प्राधिकरणको उच्च व्यवस्थापन तथा देशभर परिचालित इन्जिनियर, प्राविधिक र कर्मचारीको अथक प्रयासको परिणाम भएको मन्त्री श्रेष्ठले उल्लेख गरेका छन्।
