१०० भन्दा बढी कम्पनी, ३० हजार आगन्तुक: विद्युत् प्रदर्शनी काठमाडौंमा
१०० भन्दा बढी कम्पनी, ३० हजार आगन्तुक: विद्युत् प्रदर्शनी काठमाडौंमा
विद्युत् प्रदर्शनी काठमाडौंमा
काठमाडौं — मिडिया स्पेस सोलुसन्स प्रा.लि., एक्जिबिसन एण्ड ट्रेड सर्भिसेस इन्डिया प्रा.लि. तथा फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रा.लि.को संयुक्त आयोजनामा "नेपाल इलेक्ट्रिक, पावर, लाइट" तथा "नेपाल कन्ज्युमर इलेक्ट्रोनिक्स एण्ड होम अप्लायन्सेस" अन्तर्राष्ट्रिय प्रदर्शनी २०८३ आयोजना हुँदैछ। यो प्रदर्शनी आगामी भदौ १९ देखि २१ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा हुनेछ।
नेपालको विद्युत्, ऊर्जा, उपभोक्ता इलेक्ट्रोनिक्स तथा होम अप्लायन्सेस क्षेत्रलाई अन्तर्राष्ट्रिय व्यावसायिक मञ्चसँग जोड्ने उद्देश्यले आयोजना हुन लागेको यस प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी १०० भन्दा बढी कम्पनीका स्टल रहनेछन्। आयोजकका अनुसार निःशुल्क प्रवेश रहने यस प्रदर्शनीमा उद्योगी, व्यवसायी, सरकारी उच्च अधिकारी, आर्किटेक्ट, इलेक्ट्रिकल इन्जिनियर, इन्टेरियर डेकोरेटर, प्राविधिकर्मी, मिडियाकर्मी, विद्यार्थीसहित ३०,००० भन्दा बढी आगन्तुकले अवलोकन गर्ने अपेक्षा गरिएको छ।
प्रदर्शनीले उद्योग, व्यापार र प्रविधिबीच सहकार्य अभिवृद्धि गर्दै यस क्षेत्रको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्याउने आयोजकको विश्वास छ। नेपालमा बढ्दो जलविद्युत् उत्पादनको प्रभावकारी उपयोग, ऊर्जा दक्षताको प्रवर्द्धन तथा विद्युतीय पूर्वाधारको विकासलाई थप व्यवस्थित बनाउन प्रदर्शनीले विशेष भूमिका खेल्ने बताइएको छ। साथै ऊर्जा तथा विद्युतीय व्यवसायसँग सम्बन्धित नवीनतम प्रविधि, उत्पादन तथा सेवाको प्रदर्शनमार्फत उद्योगी, व्यवसायी, उत्पादक, आयातकर्ता, वितरक तथा सेवा प्रदायकबीच नयाँ व्यावसायिक अवसर सिर्जना गर्ने लक्ष्य राखिएको छ।
प्रदर्शनीमा नेपाली उत्पादनसँगै बहुराष्ट्रिय कम्पनीले उत्पादन गरेका ट्रान्समिसन तथा डिस्ट्रिब्युसन सामग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण प्रणाली, हाउस वायरिङ सामग्री, वायर र केबल, कन्डक्टर, अत्याधुनिक स्वीच, एलईडी लाइटिङ, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरण, कार्यालय प्रविधि, सञ्चार उपकरण, सूचना प्रविधि र वैकल्पिक ऊर्जा प्रणालीलगायत विविध उत्पादन तथा सेवा प्रदर्शन गरिनेछन्।
यस अन्तर्राष्ट्रिय प्रदर्शनीमा नेपाल चेम्बर अफ कमर्स, नेपाल इन्जिनियर्स एसोसिएसन, सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एण्ड इन्जिनियरिङ फर्म्स, सोसाइटी अफ इलेक्ट्रिकल इन्जिनियर्स नेपाल (सीन) तथा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) सहयोगी संस्थाका रूपमा संलग्न रहेका छन्।
आयोजकका अनुसार, यो प्रदर्शनीले नेपालमा ऊर्जा, विद्युत् तथा उपभोक्ता इलेक्ट्रोनिक्स उद्योगको व्यावसायिक विस्तार, प्रविधि हस्तान्तरण, लगानी प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय सहकार्यलाई थप सशक्त बनाउँदै सम्बन्धित क्षेत्रको दिगो विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
