बाराकी ३ वर्षीया गरिमाको न्यायको माग गर्दै देशभर प्रदर्शन, तुलसीपुरमा पनि आक्रोश
बाराकी ३ वर्षीया गरिमाको न्यायको माग गर्दै देशभर प्रदर्शन, तुलसीपुरमा पनि आक्रोश
तुलसीपुरमा पनि आक्रोश
एउटी नानीले खेल्दै, हाँस्दै हुर्कनुपर्ने उमेरमा यसरी क्रूरताको सिकार हुनु। यो कुनै एक परिवार वा एक ठाउँको मात्र पीडा होइन, यो सिङ्गो समाजको असफलताको प्रतिबिम्ब हो। कानुन बनेका छन्, निकायहरू खडा भएका छन्, तर पीडितले न्याय पाउन वर्षौं कुर्नुपर्ने, अपराधीले उन्मुक्ति पाउने र समाजले नै पीडितलाई दोष थोपर्ने परिपाटी अझै किन कायम छ?
दाङ/बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दसधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा देशका विभिन्न स्थानमा आक्रोश पोखिइरहेको छ । दाङको तुलसीपुरमा समेत स्थानीयवासी तथा नागरिक समाजका प्रतिनिधिहरू सडकमा उत्रिई बालिकालाई न्याय दिलाउन माग गरेका छन् ।
स्थानीयवासीले बालिका बेपत्ता भएको जानकारी समयमै प्रहरीलाई दिइए पनि खोजीमा गम्भीरता नदेखाइएको आरोप लगाएका छन् । यसै विषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रहबर अन्सारीले संसदमा समेत प्रहरीको भूमिकामाथि प्रश्न उठाउँदै २४ घण्टासम्म पनि खोजीमा तत्परता नदेखाइएको बताएका छन् ।
घटनाको विरोधमा बुधबार बिहानैदेखि स्थानीयवासीले वीरगन्ज–पथलैया सडकखण्ड र त्रिभुवन राजमार्ग अवरुद्ध गरी टायर बालेर प्रदर्शन गरेका थिए, जुन बिहीबार पनि जारी रह्यो । आन्दोलनको क्रममा प्रदर्शनकारीले इलाका प्रहरी कार्यालय सिमरा समेत घेराउ गरेका थिए ।
राजधानी काठमाडौंको माइतीघर मण्डलमा पनि प्रदर्शन भएको थियो, जहाँ नागरिकहरूले "गरिमा चौधरीलाई न्याय दे", "बलात्कारीलाई फाँसी दे" लगायतका नाराका प्लेकार्ड बोकेका थिए । यसैगरी दाङको तुलसीपुरमा पनि स्थानीयवासी सडकमा उत्रिई बालिकाको हत्यामा संलग्नलाई कडा कारबाही र पीडित परिवारलाई न्याय दिलाउन माग गरेका छन् । थारू संघसंस्थाहरूले पनि दोषीलाई कानुनी कठघरामा उभ्याउन र मृतक बालिकाको परिवारलाई उचित राहत तथा क्षतिपूर्ति दिन सरकारसँग माग गरेका छन् ।
आन्दोलनकारीहरूले घटनामा संलग्न सबैलाई पहिचान गरी कडा कानुनी कारबाही गर्न, घटनाको निष्पक्ष छानबिन गर्दै प्रहरीको भूमिकाबारे समेत अनुसन्धान गर्न, पीडित परिवारलाई उचित राहत तथा क्षतिपूर्ति दिन र बालबालिकाको सुरक्षामा राज्यको थप जवाफदेहिता सुनिश्चित गर्न माग गरेका छन् ।
निर्दोष तथा मायालु सानी गरिमाको यसरी बितेको ज्यानले सिङ्गो देशलाई नै शोकमग्न बनाएको छ । उमेरले हिँड्न-बोल्न सिकिरहेकी, संसार बुझ्नै नपाएकी त्यो सानी परीको यस्तो निर्मम अन्त्य कल्पनै गर्न नसकिने पीडादायी छ । गरिमाको बिछोडमा हामी उनको परिवार, आफन्त र समग्र समुदायप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं । उनको आत्माले चिरशान्ति पाओस् र यस्तो कहालीलाग्दो पीडा फेरि कुनै परिवारले भोग्न नपरोस् भन्ने कामना गर्दछौं ।
घटनाले देशभर व्यापक आक्रोश र त्रास सिर्जना गरेको छ, र प्रहरी अनुसन्धान अझै जारी रहेको छ ।
तीन वर्षकी सानी गरिमाले भोगेको यो निर्मम घटनाले समाजको अन्तरआत्मालाई नै झक्झक्याएको छ । बालबालिकादेखि महिलासम्म, दिनहुँजसो सार्वजनिक भइरहेका बलात्कार, यौन दुर्व्यवहार र यौन हिंसाका घटनाहरूले प्रश्न उठाउँछन्। हामी वास्तवमा कति सुरक्षित समाजमा बाँचिरहेका छौं?
कानुन बनेका छन्, निकायहरू खडा भएका छन्, तर पीडितले न्याय पाउन वर्षौं कुर्नुपर्ने, अपराधीले उन्मुक्ति पाउने र समाजले नै पीडितलाई दोष थोपर्ने परिपाटी अझै किन कायम छ? जबसम्म यस्ता घटनाको जड सम्म पुगेर जवाफदेहिता सुनिश्चित गरिँदैन, तबसम्म गरिमा जस्ता अनगिन्ती नानीहरूको सुरक्षाको प्रत्याभूति दिन गाह्रो हुनेछ ।
