काठमाडौं — नेपाल सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी)बाट उत्पादित घ्यू पहिलोपटक दुबई निर्यात सुरु भएको छ। त्यहाँ बसोबास गर्ने नेपालीलाई लक्षित गरेर शुक्रबारदेखि यो निर्यात थालिएको हो, जसले नेपाली दुग्धजन्य उत्पादनका लागि विदेशी बजार खोल्ने प्रयासमा थप गति दिएको छ।
पहिलोपटक शुक्रबार ६ सय किलो घिउ जहाजबाट दुबई पठाइँदै छ। दुबईमा घ्यू निर्यात गर्न डीडीसीले रातो र चन्द्र–सूर्य इन्टरनेसनलसँग सम्झौता गरेको छ। यी दुई कम्पनीमार्फत दुबईमा रहेका नेपाली समुदायलाई लक्षित गरेर घिउ वितरण गरिनेछ।
डीडीसीका प्रबन्ध निर्देशक प्रकाशचन्द्र घिमिरेका अनुसार दुबईमा रहेका बिक्रेताले सुरुमा परीक्षणको रूपमा घिउ बिक्री गर्नेछन् र त्यसपछि आएको मागको अवस्था हेरेर क्रमशः निर्यातको परिमाण बढाइनेछ। "सुरूमा लगेर त्यहाँ रहेका बिक्रेतालाई एक-एक कार्टुन दिन्छौँ। त्यसपछि अझै राम्रो परिमाणमा माग गर्छौं," उनले बताए।
नेपाली उत्पादनको प्रचार तथा पहिचान बनाउने उद्देश्यले पहिलोपटक जहाजमार्फत निर्यात गरिए पनि, आगामी दिनमा भने भारत हुँदै कन्टेनरमार्फत ठूलो परिमाणमा घिउ पठाउने तयारी डीडीसीले गरिरहेको छ। यसले ढुवानी खर्च घटाई नियमित र दिगो आपूर्ति सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।
घिमिरेका अनुसार दुबईबाहेक मध्यपूर्वका अन्य देशहरूमा पनि डीडीसीको घ्यूसहित अन्य दुग्धजन्य उत्पादन छिट्टै निर्यात तथा बिक्री हुने योजना रहेको छ। यसअघि डीडीसीले खाडी मुलुक र चीनमा समेत घिउ निर्यात गर्ने तयारी गरिरहेको कृषि मन्त्रालयका अधिकारीहरूले पनि बताउँदै आएका थिए।
डीडीसीको यो पहलले स्वदेशी दुग्ध उत्पादकहरूलाई थप बजार सिर्जना गर्ने र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई स्वदेशी उत्पादन उपलब्ध गराउने दोहोरो उद्देश्य पूरा गर्ने अपेक्षा गरिएको छ।