३८ घण्टाको खोजी, गोली प्रहारपछि अपहरणकारी पक्राउ
३८ घण्टाको खोजी, गोली प्रहारपछि अपहरणकारी पक्राउ
गोली प्रहारपछि अपहरणकारी पक्राउ
रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाट एक बालिकालाई अपहरण गरी जंगलमा लुकाएर राखेको आरोपमा प्रहरीले एक युवकलाई गोली प्रहार गरी नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा तिलोत्तमा नगरपालिका–१७ दरखसवाका २७ वर्षीय 'विशाल' भनिने युवराज थारु रहेका छन्। प्रहरीका अनुसार बुधबार राति घरमै सुतिरहेकी बालिकालाई अपहरण गरेपछि थारु झन्डै ३८ घण्टासम्म जंगलमा लुकेर बसेका थिए। बालिका हराएको सूचना पाएलगत्तै प्रहरीले बिहीबार बिहानैदेखि गाउँ आसपास तथा स्थानीय जंगल क्षेत्रमा खोजी सुरु गरेको थियो, जसमा स्थानीयवासीले पनि साथ दिएका थिए।
खोजीका क्रममा थारुले बालिकालाई छाडेर भाग्न सफल भएपछि बालिकाको सकुशल उद्धार भएको थियो, तर उनी आफैं भने फरार रहेका थिए। उनको लोकेसन पत्ता लगाई शुक्रबार र शनिबार पनि पक्राउ गर्न खोजिएको भए पनि भाग्न सफल भएका थारुलाई अन्ततः आइतबार राति तिलोत्तमाकै कान्छीबजारस्थित जंगलबाट पक्राउ गरिएको हो। पक्राउ गर्ने क्रममा थारुले प्रहरीमाथि आक्रमण गर्न खोजेपछि गोली चलाइएको थियो, जसमा उनको खुट्टामा चोट लागेको छ। उनलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
