पदाधिकारी नै बढ्यो: कांग्रेसमा अब १५ सहमहामन्त्री
पदाधिकारी नै बढ्यो: कांग्रेसमा अब १५ सहमहामन्त्री
कांग्रेसमा अब १५ सहमहामन्त्री
काठमाडौं — नेपाली कांग्रेसमा सहमहामन्त्रीको संख्या बढेर १५ जना पुग्ने भएको छ। खुलामञ्चमा सोमबार बसेको केन्द्रीय समिति बैठकले ४ जना मनोनीत महिलासहित जम्मा १५ जना सहमहामन्त्री हुने निर्णय गरेको हो।
यसअघि कांग्रेसमा ८ जना सहमहामन्त्री हुने व्यवस्था थियो, जुन महाधिवेशनका विभिन्न चरणका छलफलमा क्रमशः बढाइँदै ११ पुर्याइएको थियो र अन्ततः केन्द्रीय समितिले थप ४ पद थपेर १५ मा पुर्याउने निर्णय गरेको हो। पार्टीको विधानअनुसार सहमहामन्त्री पदमा समावेशी समूहबाट निर्वाचित हुने तथा सभापतिबाट मनोनीत हुने व्यवस्था रहनेछ, जसमध्ये कम्तीमा ४ जना महिला हुनैपर्ने अनिवार्य व्यवस्था गरिएको छ।
सहमहामन्त्रीमात्र नभई पार्टीको समग्र पदाधिकारी संरचना नै फराकिलो बनाइएको छ। बैठकले कांग्रेसमा १ सभापति, ३ उपसभापति, ३ महामन्त्री, १५ सहमहामन्त्री र १ कोषाध्यक्षसहित २३ सदस्यीय पदाधिकारी रहने निर्णय गरेको छ। यसअघि कांग्रेसको विधानमा २ जना उपसभापति र २ जना महामन्त्री रहने व्यवस्था थियो, जसलाई बैठकले बढाएर ३–३ जना बनाएको हो। यसैगरी एक जना प्रवक्ता पनि रहनेछन्।
पदाधिकारी संख्यामात्र नभई केन्द्रीय समितिको समग्र आकार पनि बढ्ने भएको छ। नयाँ व्यवस्थाअनुसार कांग्रेसको केन्द्रीय कार्यसमिति २३२ सदस्यीय हुनेछ, जसमा १७१ जना निर्वाचित र ६१ जना सभापतिबाट मनोनीत हुने व्यवस्था छ। केन्द्रीय समिति बैठकले तय गरेको संरचनाअनुसार प्रत्यक्ष खुलातर्फ ४५ जना, महिला प्रत्यक्षतर्फ १२ जना, प्रदेशतर्फ २८ जना, दलिततर्फ १२ जना, आदिवासी जनजातितर्फ १७ जना र खसआर्यतर्फ १५ जना निर्वाचित हुनेछन्।
पदाधिकारीको आकांक्षी संख्या बढ्दै गएको परिप्रेक्ष्यमा पार्टीले पदाधिकारी संख्या बढाएको देखिन्छ। हालै सहमहामन्त्रीमा पुनः उम्मेदवारी दिने घोषणा गरेका प्रकाश रसाईली 'स्नेही' लगायत थुप्रै नेताहरूले यस पदमा दाबेदारी जनाइरहेका छन्।
केन्द्रीय समितिले गरेको यो निर्णय अब महाधिवेशनको बन्दसत्रबाट औपचारिक रूपमा पारित भएपछि मात्र कार्यान्वयनमा जानेछ।
