आज मतपत्रमा लेखिँदैछ कांग्रेसको भविष्य
आज मतपत्रमा लेखिँदैछ कांग्रेसको भविष्य
दिउँसो १ बजेदेखि ७ हजार २ सय ५५ प्रतिनिधिले गर्दै मतदान, कागजी मतपत्रबाट चयन हुनेछ २९७ सदस्यीय केन्द्रीय कार्यसमिति
काठमाडौँ, असोज २२: नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको पाँचौँ दिन आज नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ। संशोधित कार्यतालिकाअनुसार मतदान दिउँसो १ बजेदेखि सुरु हुनेछ।
केन्द्रीय निर्वाचन समितिका सदस्य–सचिव राजु कटुवालले जारी गरेको सूचनाअनुसार ७ हजार २ सय ५५ महाधिवेशन प्रतिनिधिले सभापति, पदाधिकारी र केन्द्रीय सदस्यका लागि मतदान गर्नेछन्। मतदान सुरुमा बिहान ७ बजेदेखि हुने भनिएको थियो। तर भारी वर्षा र प्राविधिक समस्याका कारण समय सारिएको हो। समय सारिएबारे केही सञ्चारमाध्यमले बिहान १० बजे भनेका छन्। निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले दिउँसो १ बजेदेखि मतदान हुने जानकारी दिए।
प्रदेशका आधारमा प्रतिनिधिहरूका लागि छुट्टाछुट्टै मतदान केन्द्र तोकिएका छन्। बागमती प्रदेशका प्रतिनिधिले राष्ट्रिय सभागृहको केन्द्र ‘ए’ मा मतदान गर्नेछन्। खुला मञ्चमा गण्डकी प्रदेशका प्रतिनिधिले हिमाल हल र मधेस प्रदेशका प्रतिनिधिले तराई–मधेस हलमा मतदान गर्नेछन्। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश, नेपाली जनसम्पर्क समिति तथा सम्बद्ध संस्थाका प्रतिनिधिले पहाड हलमा मतदान गर्नेछन्। आचारसंहिताले मतदानस्थलभित्र मोबाइल फोनलगायत निषेधित सामग्री लैजान रोक लगाएको छ।
पार्टीले विद्युतीय मेसिनको सट्टा कागजी मतपत्रबाटै मतदान गराउने निर्णय गरेको छ। मेसिन प्रयोग गर्दा पनि नतिजा आउन समय लाग्ने भन्दै यस्तो निर्णय गरिएको हो। मतदान सकिनेबित्तिकै मतगणना सुरु हुने समितिले जनाएको छ।
मतदानअघि सभापतिका उम्मेदवार किशोरसिंह राठौर र उपसभापतिका उम्मेदवार देवराज चालिसेले उम्मेदवारी फिर्ता लिएका छन्। शक्तिशाली मानिने महामन्त्री पदको प्रतिस्पर्धामा पनि पार्टीभित्र विशेष चासो छ। पार्टीभित्रको गुटगत विवादबीच महाधिवेशन भइरहेको छ।
