चुनावी मैदानमा एमालेको एकता प्रदर्शन, सँगै भोट माग्दै नेता
चुनावी मैदानमा एमालेको एकता प्रदर्शन, सँगै भोट माग्दै नेता
काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनमा नेतृत्वका प्रतिस्पर्धी नेताहरूबीच एकता देखाएका छन्।
नयाँ नेतृत्वको लागि मतदान चलिरहेका बेला अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेलसहितका नेता सँगै हिँडेर मत माग्दै हिँडिरहेका छन्।
ओली र पोखरेलसँग ओली प्यानलबाट उपाध्यक्षका उम्मेदवार विष्णु पौडेल, महासचिवका उम्मेदवार शंकर पोखरेलसहित नेताहरू एकसाथ हिँडेका हुन्।
मतदान जारी रहँदा उनीहरूले अहिले भोट माग्नमा व्यस्त छन्। १९ पदाधिकारीसहित ३०१ केन्द्रीय सदस्यको लागि अहिले मतदान भइरहेको छ। केही केन्द्रीय सदस्य भने निर्विरोध भइसकेका छन्।
महाधिवेशनमा २२ सय ६२ जना प्रतिनिधि छन्। १२ बजेसम्म करिब चार सय मत खसेको जनाइएको छ। एमालेका महासचिवको उम्मेदवार बनेका शंकर पोखरेलले पनि एमाले आन्तरिक लोकतन्त्रमा अब्बल छ भन्ने निर्वाचनले प्रमाणित गरेको बताएका छन्।
