Aug 10 2026 | २०८३, साउन २५ गते

सिंहदरबारमा सर्वदलीय बैठक: सुनसरी घटनामा सरकारलाई प्रचण्डको प्रश्न

सिंहदरबारमा सर्वदलीय बैठक: सुनसरी घटनामा सरकारलाई प्रचण्डको प्रश्न

घटनामा सरकारलाई प्रचण्डको प्रश्न

एभरेष्ट हेडलाइन्स
बुधबार, साउन १३ २०८३
एभरेष्ट हेडलाइन्स
बुधबार, साउन १३ २०८३
  • सिंहदरबारमा सर्वदलीय बैठक: सुनसरी घटनामा सरकारलाई प्रचण्डको प्रश्न

    सुनसरीको देवानगञ्जमा उत्पन्न भएको साम्प्रदायिक तनाव र त्यसपछिको हिंसात्मक परिस्थितिबारे राजनीतिक तहबाटै साझा धारणा बनाउने उद्देश्यले बुधबार बिहान सिंहदरबारस्थित प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति सभाहलमा सर्वदलीय बैठक बस्यो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पहलमा आयोजित यो बैठकमा संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेताहरूसहित उपेन्द्र यादव (जनता समाजवादी पार्टी), महन्थ ठाकुर (लोकतान्त्रिक समाजवादी पार्टी) र सीके राउत (जनमत पार्टी) लाई समेत विशेष आमन्त्रण गरिएको थियो। रास्वपाका महामन्त्री विपिनकुमार आचार्यका अनुसार सुनसरीको घटनापछि समाजमा पर्न सक्ने नकारात्मक असर र सम्भावित द्वेष न्यूनीकरण गर्न प्रशासनिक प्रयास मात्र पर्याप्त नहुने भएकाले राजनीतिक दलहरूबाट पनि एकताबद्ध सन्देश आवश्यक ठानी यो छलफल आयोजना गरिएको हो।

    images

    बैठकमा धारणा राख्दै नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) ले सुनसरीको तनावप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सत्तासीन रास्वपा नेतृत्वको सरकारले यस्तो संवेदनशील राष्ट्रिय विषयमा साझा समाधान खोज्न नसकेको भन्दै गम्भीर प्रश्न उठाए। प्रचण्डले प्रधानमन्त्रीले तत्काल सबै राजनीतिक दललाई विश्वासमा लिई सर्वदलीय संवाद अघि बढाउनुपर्ने सुझाव दिँदै संसदभित्र सरकारको प्रस्तुति समेत अपेक्षा गरे बमोजिम प्रभावकारी हुन नसकेको टिप्पणी गरे। बल प्रयोगले कुनै पनि समस्याको दीर्घकालीन समाधान नहुने प्रस्ट पार्दै संवाद र राजनीतिक समझदारीमार्फत मात्र वर्तमान अवस्था सहज बनाउन सकिने उनको भनाइ थियो। साथै घटनास्थलमा स्थानीयबाहेक बाहिरबाट वातावरण भड्काउने तत्व पनि सक्रिय हुन सक्ने सम्भावनाप्रति उनले सतर्कता अपनाउन सबैलाई आग्रह गरे।

    राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले बैठकपछि सञ्चारमाध्यमसँग गरेको प्रतिक्रियामा यस्तो संवेदनशील विषयमा प्रधानमन्त्री स्वयंले सर्वदलीय बैठक बोलाउनुपर्नेमा र गृहमन्त्री उपस्थित भई दलहरूलाई घटनाको सत्यतथ्यबारे जानकारी दिनुपर्नेमा त्यसो हुन नसकेको भन्दै आपत्ति जनाए। उनले सुरक्षा व्यवस्थामा देखिएको कमजोरीप्रति प्रश्न उठाउँदै प्रहरीले गोली प्रहार गर्नुपरेको र लगत्तै सेना परिचालन गर्नुपर्ने अवस्था आउनुले नै सुरक्षा संयन्त्र चुकेको दाबी गरे।

    आइतबार राति डिजे बजाउने विवादबाट सुरु भएको दुई समुदायबीचको झडपमा प्रहरीको गोली लागेर एक जनाको ज्यान गएको र २२ जना घाइते भएपछि सुनसरीभर तनाव फैलिएको थियो। घटनापछि सरकारले सुनसरीका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई तत्कालै जिम्मेवारीबाट हटाई सरुवा गरेको थियो भने १० भन्दा बढी स्थानीय क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु लागू छ। यसैबीच मृतकका परिवारले सरकारसँग सहिद घोषणा र निष्पक्ष छानबिनको माग राखेका छन्। यी सबै घटनाक्रम ले नै बुधबारको सर्वदलीय बैठकलाई राजनीतिक हिसाबले उच्च चासोको विषय बनाएको थियो।

    बैठकमा तत्काल कुनै ठोस संयुक्त वक्तव्य वा निर्णय सार्वजनिक भएको छैन, तर सहभागी दलहरूले संयमता र सामाजिक आपसी सहानुभूति  कायम राखी साझा सन्देश दिने प्रयास गरेको देखिन्छ। प्रचण्डले उठाएको आरोप र आलोचनाले आउँदा दिनमा सरकार र प्रतिपक्षबीच थप राजनीतिक तनाव उत्पन्न हुन सक्ने संकेत गरेको छ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट