Gen-Z आन्दोलनदेखि प्रतिपक्षसम्म : थापाले खोले आफ्नै नेतृत्वको कमजोरी
Gen-Z आन्दोलनदेखि प्रतिपक्षसम्म : थापाले खोले आफ्नै नेतृत्वको कमजोरी
थापाले खोले आफ्नै नेतृत्वको कमजोरी
थापाका अनुसार पार्टी र सरकार दुवैतर्फ कामको न त गति मिलेको थियो, न त काम गर्ने तरिका नै व्यवस्थित थियो। नागरिकहरूले पार्टीबाट राखेको ठूलो अपेक्षा पूरा हुन नसक्दा जनमानसमा निराशा र असन्तोष बढ्दै गएको उनको भनाइ छ। उनले यही विषय भदौ ८ गते प्रतिनिधिसभाको बैठकमा समेत उठाएका थिए, जुन धारणा उनले पुनः केन्द्रीय समितिको बैठकमा दोहोऱ्याए।
काठमाडौं — नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी र सरकारको काम गर्ने शैलीप्रति उब्जिएको असन्तुष्टिलाई तत्कालीन नेतृत्वले समयमै ध्यान नदिएकै कारण पार्टीले हाल भोगिरहेको अवस्था सिर्जना भएको धारणा राखेका छन्। ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सञ्चालित केन्द्रीय कार्यसमितिको बैठक सुरु गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्।
थापाका अनुसार पार्टी र सरकार दुवैतर्फ कामको न त गति मिलेको थियो, न त काम गर्ने तरिका नै व्यवस्थित थियो। नागरिकहरूले पार्टीबाट राखेको ठूलो अपेक्षा पूरा हुन नसक्दा जनमानसमा निराशा र असन्तोष बढ्दै गएको उनको भनाइ छ। उनले यही विषय भदौ ८ गते प्रतिनिधिसभाको बैठकमा समेत उठाएका थिए, जुन धारणा उनले पुनः केन्द्रीय समितिको बैठकमा दोहोऱ्याए।
थापाका अनुसार त्यतिबेला व्यक्त गरिएको असन्तुष्टिलाई तत्कालीन पार्टी र सरकार नेतृत्वले गम्भीरतापूर्वक नलिँदा नै पछि Gen-Z आन्दोलनको रूपमा सतहमा आयो, जसका कारण राज्यले ठूलो क्षति व्यहोर्नुपऱ्यो। उनले पार्टीभित्र युवा पुस्ता र सर्वसाधारण नागरिकबीच बढ्दै गएको असन्तोषलाई नेतृत्वले बेवास्ता गरेकै कारण यो अवस्था आएको दाबी गरे।
बैठकमा विगत सम्झँदै थापाले भने, पार्टीभित्र असन्तुष्टि बढ्दै गर्दा र युवाहरूले प्रश्न उठाउँदा समेत "जनता सन्तुष्ट छन् कि छैनन् भन्ने मापदण्ड त निर्वाचन नै हो, अहिले आशंका नगरौं" भन्ने प्रतिक्रिया नेतृत्वबाट आएको थियो। तर अन्ततः त्यही नागरिक असन्तुष्टि निर्वाचनको मतमार्फत खुलेर व्यक्त भयो, जसका कारण कांग्रेस आज प्रतिपक्षमा बस्नुपरेको उनले बताए।
थापाले यसलाई कुनै एक व्यक्ति विशेषको कमजोरी नभई सम्पूर्ण नेतृत्व तहकै सामूहिक असफलताको रूपमा व्याख्या गरे। उनले आफू पनि त्यतिबेला नेतृत्वमै रहेको र त्यो जिम्मेवारीबाट पन्छिन नमिल्ने कुरा स्वीकार गरे।
नागरिकको हालको मनोविज्ञानबारे चर्चा गर्दै थापाले देशभरका मानिसहरूमा राजनीतिप्रति अन्योल र अनिश्चितता उल्लेख्य रूपमा बढेको बताए। नागरिकसँग भेट्दा प्रायः उनीहरूमा ठूलो अन्योल भेटिने गरेको, कतिपय हतास देखिने र कतिपयमा गहिरो आक्रोश समेत रहेको उनले बताए। आफूले मत दिएको पार्टीले अपेक्षा अनुसार काम गर्न नसकेको भावनाले जनतामा निराशा छाएको उनको ठम्याइ छ।
नेपालको राजनीति भविष्यमा कता मोडिन्छ भन्ने विषयमा आम नागरिकमा गहिरो अन्यौलता रहेको बताउँदै थापाले पार्टीले अब ठोस र प्रभावकारी सुधारको बाटो अवलम्बन गर्नुपर्ने आवश्यकतामा जोड दिए। यदि कांग्रेसले जनताको यो आक्रोश र निराशालाई बेलैमा सम्बोधन गर्न सकेन भने आगामी दिनमा थप राजनीतिक संकट सिर्जना हुन सक्ने चेतावनी समेत उनले दिए।
