भोटेकोशी बाढी प्रभावितका लागि एनआरएनएको राहत तथा स्वास्थ्य सहयोग जारी
भोटेकोशी बाढी प्रभावितका लागि एनआरएनएको राहत तथा स्वास्थ्य सहयोग जारी
राहत वितरण कार्यक्रमका केही तस्बिरहरू
काठमाडौं। भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटमा प्रभावित नागरिकको उद्धार तथा राहतका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सञ्चालन गरिरहेको मानवीय सहयोग अभियान निरन्तर जारी रहेको छ।
गोसाईंकुण्ड गाउँपालिका–५ स्याफ्रुबेँसीबाट विस्थापित भई ठूलो स्याफ्रुमा आश्रय लिएका १५० परिवारलाई एनआरएनएले खाद्यान्न (चामल, दाल, नुन, खोर्सानी, तेल), सोलार लाइट तथा HAPSA नेपालबाट प्राप्त स्वास्थ्य सामग्री वितरण गरेको छ। वडा अध्यक्षको समन्वयमा आवश्यकता पहिचान गरी विस्थापित परिवारलाई राहत सामग्री उपलब्ध गराइएको हो।

राहत वितरण कार्यक्रममा एनआरएनएका उपाध्यक्ष रोजिना प्रधान राई, महिला उपाध्यक्ष राधिका गुरुङ (टिका), महासचिव डा. चिरञ्जीवी खड्का, सहकोषाध्यक्ष अब्दुल बासिद तथा दोस्रो पुस्ता संयोजक एवं मिस नेपाल २०२६ दिपमाला ढकाल, स्वयंसेवक र स्थानीय जनप्रतिनिधिको सहभागिता रहेको थियो।

नुवाकोटको विदुर नगरपालिका–२ स्थित सामुदायिक केन्द्रमा आश्रय लिइरहेका बाढी प्रभावित ५० भन्दा बढीलाई एनआरएनएको समन्वयमा स्वास्थ्य परीक्षण, चिकित्सकीय परामर्श, उपचार, निःशुल्क औषधि तथा मनोसामाजिक परामर्श प्रदान गरिएको छ। यसका साथै आश्रयस्थलका परिवारलाई पानी शुद्धीकरण ड्प्स, स्यानिटाइजर, स्यानिटरी प्याड, साबुन, टूथब्रस र टूथपेस्टलगायत सरसफाइ सामग्री, र बालबालिकाका लागि क्यारम, ब्याडमिन्टन, बल तथा ब्याटलगायत खेलकुद सामग्री वितरण गरिएको छ।

एनआरएनएका आईसीसी सदस्य डा. सञ्जीव सापकोटाको नेतृत्वमा सञ्चालित शिविरमा वरिष्ठ बालरोग विशेषज्ञ प्रा. डा. शिव श्रेष्ठ तथा मनोसामाजिक परामर्शदाता रानु सापकोटा, प्रसिद्धि खतिवडा र अलिजालगायत संलग्न थिए। यो शिविर एनआरएनए, PHOMIR, HAPSA, अन्तरमन तथा Helping Hands Without Borders–Canada को सहकार्यमा सञ्चालन गरिएको थियो।

यसैबीच रसुवामा रहेको एनआरएनएको राहत टोलीले बाढी प्रभावित स्याफ्रुबेँसी क्षेत्रका परिवारलाई भेटेर उनीहरूको वर्तमान अवस्था र आवश्यकताबारे जानकारी लिने तयारी गरेको छ। टोलीले स्थानीय जनप्रतिनिधि तथा प्रभावित परिवारसँग छलफल गरी तत्कालीन तथा दीर्घकालीन आवश्यकताबारे जानकारी लिनेछ।

बाढीका कारण स्याफ्रुबेँसीसहित रसुवाका विभिन्न क्षेत्रमा घर, सडक, पुल तथा अन्य भौतिक संरचनामा क्षति पुग्नुका साथै स्थानीय बासिन्दा विस्थापित भएका छन्। एनआरएनएको राहत टोलीले प्रभावित परिवारलाई तत्काल आवश्यक राहत उपलब्ध गराउनुका साथै दीर्घकालीन पुनःस्थापना तथा पुनर्निर्माणका लागि आवश्यक सहयोगका क्षेत्र पहिचान गर्न लागेको हो। राहत वितरणमा मात्र सीमित नभई प्रभावित परिवारको पुनःस्थापना तथा पुनर्निर्माणमा समेत सरकारसँग सहकार्य गरी सहयोग पुर्याउने एनआरएनएको उद्देश्य रहेको छ।
