चार देशका प्रस्तावित राजदूतको आज संसदीय सुनुवाइ
चार देशका प्रस्तावित राजदूतको आज संसदीय सुनुवाइ
संघीय संसद्अन्तर्गतको संसदीय सुनुवाइ समितिले भारत, चीन, अमेरिका र संयुक्त अधिराज्य (बेलायत)का लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ प्रक्रिया आजदेखि सुरु गरेको छ। सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको सभाकक्षमा बिहान ९:१५ बजे बसेको समितिको १७औं बैठकमा प्रस्तावित राजदूतविरुद्ध परेका उजुरीमाथि उजुरीकर्तासँग छलफल गरेपछि सुनुवाइ अघि बढेको हो।
सरकारले असोज २ गते बसेको मन्त्रिपरिषद् बैठकबाट १३ देशका लागि राजदूत सिफारिस गरेको थियो, जसमध्ये पहिलो चरणमा आज चार जनाको सुनुवाइ भइरहेको समिति सचिवालयका सहसचिव (कानुन) लक्ष्मीप्रसाद गौतमले जानकारी दिए। भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा, अमेरिकाका लागि चिरनजंग थापा र बेलायतका लागि पूर्वप्रधानसेनापति गौरवशमशेर जंगबहादुर राणा प्रस्तावित छन्।
प्रस्तावित राजदूतविरुद्ध समितिमा कुल ७ वटा उजुरी परेका थिए। समितिले उजुरी र प्रस्तावित राजदूतहरूले पेस गरेको कार्ययोजना अध्ययन गरेपछि क्रमशः प्रत्यक्ष सुनुवाइ गर्दैछ। सुनुवाइका क्रममा उनीहरूको योग्यता, अनुभव, कार्ययोजना तथा प्रस्तावित जिम्मेवारी निर्वाह गर्न सक्ने क्षमताबारे प्रश्न सोधिनेछ।
बाँकी ९ जना प्रस्तावित राजदूतको सुनुवाइ आगामी चरणमा हुने जनाइएको छ।
