images

May 17 2024 | २०८१, जेठ ४ गते

भक्तपुर नगर पालिकाद्वारा सञ्चालित ख्वप अस्पताल नमूना बन्दै

भक्तपुर नगर पालिकाद्वारा सञ्चालित ख्वप अस्पताल नमूना बन्दै

एक वर्ष नहुँदै २ लाख २० हजारभन्दा बढीले पाए सेवा

एभरेष्ट हेडलाइन्स
सोमबार, साउन २२ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, साउन २२ २०८०
  • भक्तपुर नगर पालिकाद्वारा सञ्चालित ख्वप अस्पताल नमूना बन्दै

    शिक्षा क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरी देशकै नमुना नगरपालिका बन्न सफल भक्तपुर नगरपालिकाले स्वास्थ्य क्षेत्रमा पनि फड्को मार्दैछ । जनस्वास्थ्य सेवा केन्द्रको रुपमा सञ्चालन हुँदै आएको ख्वप अस्पताल अहिले १०० शैय्यामा बिस्तार भएको छ । अस्पतालले आफ्ना विशेषज्ञ सेवाहरूलाई थप विस्तार गर्दै करिब ७० जिल्लाका दैनिक ७५० भन्दा बढी बिरामीहरूलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । अस्पतालको लागि आवश्यक चिकित्सक र कर्मचारीहरू आफ्नै स्रोतमा अस्पतालले पदपूर्ति गर्दै आएको छ ।

    images
    images

    ख्वप अस्पतालबाट प्रवाहित सेवाहरू:
    भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालले आ.व. २०७९/८० मा २ लाख २० हजार ४ सय ३७ जना बिरामीहरूलाई स्वास्थ्य सेवा प्रदान गरेको छ । जसअन्तर्गत आ.व. २०७९।८० मा ख्वप अस्पतालबाट २ हजार २४७ जनाले फिजियोथेरापी सेवा, १२ हजार ९२७ जनाले बाल चिकित्सा सेवा, १२ हजार ८९७ जनाले नाक, कान र घाँटीको सेवा, ९ हजार ८२७ जनाले स्त्रीरोग विशेषज्ञ सेवा, ५ हजार ६१३ जनाले छाला रोग सेवा, ५ हजार ७४ जनाले ल्याब सेवा, २४ हजार ५०४ जनाले अर्थोपेडिक, १६ हजार ८८८ जनाले इमर्जेन्सी सेवा, १६ हजार १५६ जनालाई डेन्टल सेवा लिएका थिए ।
    त्यस्तै अस्पतालबाट १ लाख ७ सय ७४ जनाले जनरल ओपीडी सेवा, १ हजार ९४० जनाले जनरल सर्जिकल ओपीडी सेवा, ५ हजार ६५२ जनाले इन्टरनल मेडिसिन सेवा, १ हजार ७५४ जनाले कार्डियोलोजी, ३ हजार २७ जनाले एमजीडीपी सेवा लिएका थिए ।
    त्यस्तै गरी श्वासप्रश्वास पुनःस्थापना केन्द्रबाट आ.व. २०७९/८० मा ७ सय ७९ जनाले स्वास्थ्य उपचार पाएका थिए । सोही आ.व. मा ९५२ जना बिरामीले अन्तरंग सेवा पाएका थिए । यस बाहेक अस्पतालले दैनिक रुपमा परिवार नियोजन र खोप सेवा पनि प्रदान गर्दै आएको छ ।
    आ.व. २०७८/७९ मा ख्वप अस्पतालबाट कूल १ लाख ७५ हजार ९४३ जना बिरामीहरूले स्वास्थ्य उपचार सेवा लिएका थिए ।

    निःशुल्क अक्सिजन र रगत जाँच सेवा
    ख्वप अस्पतालले गत आ.व. मा जस्तै यो आर्थिक वर्षमा पनि नगरबासीहरूलाई निःशुल्क अक्सिजन र निःशुल्क रगत वितरण सेवालाई चालू राखेको छ । आ.व. २०७९।८० मा ७ हजार ३६९ वटा सानो सिलिण्डर र ४ हजार १३९ वटा ठूलो सिलिण्डर गरी जम्मा ११ हजार ५०८ वटा अक्सिजन सेवा निःशुल्क रुपमा प्रदान गरिसकेको छ । 
    त्यस्तै भक्तपुर नगरपालिकाको आ.व. २०७९।८० को नीति तथा कार्यक्रममा भक्तपुर नगरपालिकाका स्थायी बासिन्दाहरुलाई निःशुल्क रुपमा रगत उपलब्ध गराउने व्यवस्था गरेको थियो । भक्तपुर नगरपालिका र नेपाल रेडक्रस सोसाइटीबीच भएको सम्झौताअनुरुप बिरामीहरुलाई रगत उपलब्ध गराएबापतको सोधभर्ना भक्तपुर नपाले मासिक रुपमा गर्दै आएको छ । सोहीअनुरुप २०७९ असोज १ गतेदेखि लागू हुने गरी भक्तपुर नपाले नगरबासीहरुलाई निःशुल्क रगत उपलब्ध गराउँदै आएको हो ।
    भक्तपुर नपाले आ.व. २०७९।८० मा ६७३ जना नगरबासीहरूलाई कुल रगत तथा रक्ततत्व (पिन्ट) १२८० पिन्ट बराबरको निःशुल्क रगत वितरण ग-यो । २०७९ को असोजमा १२६ पिन्ट, कार्तिकमा ८५ पिन्ट, मंसिरमा १०७ पिन्ट, पुसमा १०४ पिन्ट, माघमा १२२ पिन्ट, फागुनमा १५२ पिन्ट, चैत्रमा १२९ पिन्ट, २०८० वैशाखमा १३४ पिन्ट, जेठमा १६२ पिन्ट र असारमा १५९ पिन्ट उपलब्ध गराएको हो । माथि उल्लिखित निःशुल्क रगत जाँचको लागि भक्तपुर नपाबाट रु. ११ लाख ९० हजार ७३० बराबरको सोध भर्ना भएको छ ।

    प्रसुती सेवा
    भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालले प्रसुती सेवा सञ्चालन गरेसँगै धेरै महिलाहरूलाई सजिलो भएको छ भने प्रसुतीको लागि अन्य अस्पतालमा जानुपर्ने बाध्यताको अन्त्य भएको छ । २०८० जेठ ४ गतेबाट प्रसुती सेवाको विस्तार गरी ख्वप अस्पतालले पहिलोपटक अपरेशनको माध्यमबाट एक शिशुको जन्म गराएको थियो । ख्वप अस्पतालले यो अवधिमाप्रसुती सेवाअन्तर्गत १८ वटा अपरेसन र ९ वटा नर्मल डेलिभरी   गराइसकेको छ ।

    हाडजोर्नीको मेजर र माइनर अपरेशन
    आ.व. २०७९।८० को माघ ७ गते ख्वप अस्पतालले जनरल एनेस्थेसिया दिई थाइराइड ग्रन्थीको सफलतापूर्वक शल्यक्रिया गराई मेजर अपरेसनको समेत सुरुवात गरिसकेको छ । सोही आ.व. मा हाडजोर्नी सेवाअन्तर्गत मेजर ९०, इन्टरमेडियट ५३ र माइनर ११० गरी जम्मा २५३ वटा अपरेशन गरेको छ । 

    नागरिक आरोग्य केन्द्र 
    भक्तपुर नपा वडा नं. ६ को पुरानो वडा कार्यालय भवनमा भक्तपुर नपाले जिल्ला आर्युवेदअन्तर्गत नागरिक आरोग्य केन्द्रमार्फत आर्युवेद सेवा पनि दिइरहेको छ । केन्द्रले विशेषगरी स्तनपायी सेवा, पूर्वकर्म/पञ्चकर्म सेवा, ज्येष्ठ नागरिक सेवा र स्वस्थ जीवन कार्यक्रम सञ्चालन गर्दै आएको छ । नागरिक आरोग्य केन्द्रले समय समयमा नसर्ने रोगको परीक्षण गर्दै निःशुल्क रुपमा परामर्श सेवा र औषधी समेत वितरण गर्दै आएको छ । आ.व. २०७९/८० मा नागरिक आरोग्य केन्द्रले १ हजार ७३५ महिला र १ हजार ३० पुरुष गरी जम्मा २ हजार ७ सय ९५ जनालाई उक्त सेवा प्रदान गरेको छ ।

    स्वास्थ्य केन्द्रहरुबाट प्रवाहित सेवा
    ख्वप अस्पतालबाट दिइएको सेवा बाहेक भक्तपुर नपाबाट सञ्चालित सहरी स्वास्थ्य केन्द्र ब्यासीबाट आ.व. २०७९/८० मा १२ हजार ४६८, भगवती स्वास्थ्य केन्द्रबाट ६ हजार ८३७, सल्लाघारी आधारभूत स्वास्थ्य केन्द्रबाट ४ हजार ३४६ र एमसीएच क्लिनिक भक्तपुर अस्पतालबाट १४ हजार ६४९ जनालाई स्वास्थ्य सेवा उपलब्ध गराएको छ । 

    मुटुरोग सेवा
    मुटु रोगका बिरामीहरूलाई लक्षित गरी ख्वप अस्पतालले मुटु रोग सम्बन्धी विशेषज्ञ उपचार सेवा प्रदान गर्दै आएको छ । अस्पतालले हप्ताको तीन दिन मुटु रोगको परीक्षण सेवा पनि सुरु गरेको छ । भक्तपुरमै यो सेवा विस्तारसँगै सामान्य मुटु रोगको परीक्षण गर्न अन्यत्र जानुपर्ने बाध्यता कम भएको छ । ख्वप अस्पतालमा दैनिक १५ जना भन्दा बढी मुटु रोगको परीक्षणका लागि बिरामी आउने गरेको छ भने दैनिक १० जनाले मुटुको इको सेवा लिँदै आएको छ । मुटुको जटिल समस्या भएका बिरामीहरूलाई भने बिरामीको अवस्था हेरेर अन्य अस्पताल पठाइने गरेको छ । हाल ख्वप अस्पतालमा मुटु रोग भएका बिरामीहरूको लागि इको र इसीजी सेवा सञ्चालनमा छ । आ.व. २०७९।८० मा ख्वप अस्पतालबाट मुटु रोगको सेवाअन्तर्गत ३ हजार ७१९ जनाले इजीसी र १ हजार ४६२ जनाले इको सेवा लिएका छन् ।

    भिडियो एक्सरे सेवा
    २०७४ को निर्वाचनपश्चात भक्तपुर नपामा जनप्रतिनिधि बहाल भएसँगै ख्वप अस्पतालमार्फत भिडियो एक्स रे सेवा सञ्चालनमा ल्याइएको हो । ख्वप अस्पतालमा भिडियो एक्सरे सेवा सञ्चालनमा आएसँगै बिरामीहरूलाई सहज भएको छ । सरकारले ल्याएको स्वास्थ्य बिमाले गर्दा धेरै बिरामीहरूले बीमाबाटै भिडियो एक्सरे गराउँदै आएका छन् । भिडियो एक्सरे सेवा सञ्चालनले विशेषतः गर्भवती महिलाहरू लाभान्वित भएका छन् । एउटा सिफ्टमा सञ्चालन हुँदै आएको भिडियो एक्सरे सेवा बिरामीहरूको चाप बढेसँगै ख्वप अस्पतालले २०७९ चैत्र २५ बाट दुई सिफ्टमा सो सेवा सञ्चालन गर्दै आएको छ । अस्पतालले बिहान ८ बजेदेखि दिनको १२ बजे र साँझ ५ बजेदेखि ६ः३० बजेसम्म भिडियो एक्स रे सेवा दिँदै आएको छ । हाल अस्पतालले दैनिक ६० जना भन्दा बढीलाई भिडियो एक्सरे सेवा प्रदान गर्दै आएको छ । आ.व. २०७९/८० मा १२ हजार ७३८ जनाले भिडियो एक्सरे (अल्ट्रासाउण्ड) सेवा प्राप्त गरेका थिए ।


    मानसिक रोग
    ख्वप अस्पतालमा मानसिक रोग विशेषज्ञहरुबाट पनि उपचार हुँदै आएको छ । अस्पतालले प्रत्येक सोमबार मानसिक रोग विशेषज्ञ सेवा दिने गरेको छ । ख्वप अस्पतालले दैनिक १५ जनाको हाराहारीमा मानसिक विरामीको उपचार सेवा प्रदान गर्दै आएको छ । , आ.व. २०७९/८० मा २७७ जनाले मनोरोग विशेषज्ञ सेवा लिएका छन् ।

    घरदैलो नर्सिङ सेवा/विद्यालय नर्सिङ सेवा
    नेपालमै पहिलो पटक भक्तपुर नगरपालिकाले घरदैलो नर्सिङ सेवा सुरु गरेको हो । २०७४ साल भदौ ९ गतेबाट भक्तपुर नपाले घरदैलो नर्सिङ सेवा सञ्चालनमा ल्याएको हो । भक्तपुर नपाले सुरु गरेको घरदैलो नर्सिङ सेवाबाट विशेषत गर्भवती महिला, बालबालिका र ज्येष्ठ नागरिकहरू लाभान्वित भएका छन् । भक्तपुर नपाले नगरका १० वटै वडाहरूमा घरदैलो नर्सिङ सेवा सञ्चालन गर्दै आइरहेको छ । आ.व. २०७९।८० मा १० वटै वडा गरी जम्मा ५ हजार ३८० घरधुरीका ५८ हजार ५९२ जनालाई घरदैलो नर्सिङ सेवा प्रदान गरेको तथ्यांक छ । प्रत्येक वडामा एकजना नर्स र ३ जना स्वास्थ्यकर्मीको टोली जनताको घरघरमा गई नगरबासीहरूको स्वास्थ्यको तथ्यांक संकलन गर्दै आएको छ । घरदैलो नर्सिङ सेवाअन्तर्गत विशेषतः सुगर, श्वासप्रश्वास, उच्च रक्तचाप, क्यान्सर, थाइराइड, मुटु रोग, मृगौला रोग र अन्य नसर्ने रोगहरूको तथ्यांक संकलन गर्दै आएको छ । यसबाहेक घरदैलो नर्सिङ सेवाअन्तर्गत ड्रेसिङ, औषधी सेवन, रोग र स्वास्थ्यबारे परामर्श, प्रेसर जाँच, विभिन्न रोगहरूबारे अभिमुखीकरण, रोग संक्रमण रोकथामका उपाय, विद्यालय विद्यालयमा र टोल टोलमा गएर विद्यार्थीहरू र सर्वसाधारण जनतालाई स्वास्थ्यबारे अभिमुखीकरण कार्यक्रमहरू सञ्चालन हुँदै आएको छ । यसबाहेक भक्तपुर नपाअन्तर्गत विद्यालय नर्सिङ सेवा पनि सञ्चालन हुँदै छ । भक्तपुरको ख्वप मावि, बासु मावि, पद्म मावि, बागीश्वरी मावि र आदर्श आजाद माविमा यो सेवा सञ्चालनमा छ ।

    आँखा उपचार सेवा 
    ख्वप अस्पतालमा सञ्चालित जिल्ला सामुदायिक आँखा केन्द्र हाल ख्वप तीलगंगा आँखा अस्पतालको रुपमा सञ्चालनमा छ । ख्वप तीलगंगा आँखा अस्पतालबाट आ.व. २०७९/८० मा २७ हजार ७ सय ७५ जनाले आँखा जाँच गराएका थिए भने ७ सय ६५ जना बिरामीले मोतिबिन्दुको शल्यक्रिया गराएका थिए ।
    उक्त अस्पतालले दैनिक १२० देखि १५० को हाराहारीमा बिरामीहरुलाई आँखा उपचारको सेवा प्रदान गर्दै आएको छ । आँखा अस्पतालले हप्तामा दुई दिन सोमबार र बिहीबार २५ देखि ३० जनासम्मको नियमित रुपमा मोतिबिन्दुको शल्यक्रिया गर्दै आएको छ । ख्वप अस्पतालको पुरानो भवन (ख्वप बहुप्राविधिक अध्ययन संस्थान) को तीनवटा कोठाबाट सेवा दिँदै आएको आँखा अस्पतालले छिटै भक्तपुर नपाबाट सञ्चालित ख्वप अस्पताल भवनको चौथो तल्लाबाट सेवा दिने तयारी गरिरहेको केन्द्रका प्रमुख धिरज अधिकारीले बताए। प्रमुख अधिकारीले भने, भक्तपुरमा आँखाका रोगीको संख्या दिनप्रतिदिन बढ्दैछ । पहिला दैनिक १०० जनाको हाराहारीमा आँखा जाँच गराउँदै आएकोमा अहिले यो संख्या वृद्धि भएर १२० भन्दा बढी हुन थालेको छ । 

    एम्बुलेन्स, शव बाहन र एक्स रे सेवा
    भक्तपुर नगरपालिकाले नगरभित्र बसोबास गर्ने बिरामीहरुलाई स्वास्थ्य संस्थासम्म पु¥याउन चौबिसै घण्टा एम्बुलेन्स सेवा प्रदान गर्दै आएको छ । नगरपालिकाअन्तर्गत दुई वटा एम्बुलेन्स सञ्चालनमा रहेकोमा एउटा एम्बुलेन्स हाललाई बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म र अर्को एम्बुलेन्सले २४ घण्टा सेवा प्रदान गर्दै आइरहेको छ । त्यस्तै भक्तपुर जिल्लाबासीको सुविधास्वरुप नगरपालिकाले २४ घण्टा शव बाहनको सुविधा प्रदान गर्दै आएको छ । आ.व. २०७९/८० मा १९४ जनाले शवबाहन सेवा, १ हजार २ जनाले कोभिड/जनरल एम्बुलेन्स सेवा र २ हजार ७०७ जनाले एम्बुलेन्स सेवा लिएका थिए । 
    यसबाहेक भक्तपुर नपाले २४ सैं घण्टा एक्स रे सेवा पनि प्रदान गर्दै आएको छ । आ.व. २०७९/८० मा २९ हजार १४२ जनाले एक्सरे सेवा पाएका छन् । दैनिक १०० जनाले ख्वप अस्पतालबाट एक्स रे सेवा लिने गरेको त्यहाँ कार्यरत कर्मचारीको भनाइ छ । एक्स रे गर्नेमा अधिकांश श्वासप्रश्वास र हाडजोर्नीका बिरामीहरु आउने गरेको उनी बताउँछिन् । अस्पतालले २४ घण्टा एक्सरे सेवा दिनुका साथै सार्वजनिक बिदाहरुमा समेत यो सेवालाई चालु राखेको छ । यसबाहेक ख्वप अस्पतालमा ड्रेसिङ सेवा पनि उपलब्ध गराउँदै आएको छ । आ.व. २०७९।८० मा ख्वप अस्पतालबाट ४ हजार ९१५ जनाले ड्रेसिङ सेवा लिएका छन् । 

    ख्वप अस्पतालमा विशिष्ट व्यक्तित्वहरूको भ्रमण

    भक्तपुर नपाको शैक्षिक संस्था र अस्पताल अवलोकन गर्न विभिन्न देशका विशिष्ट व्यक्तित्व, संघीय र प्रदेश संसदका माननीय सदस्यहरू, विभिन्न स्थानीय तहका जनप्रतिनिधिहरू भ्रमणमा आउने क्रम चालु छ ।  त्यस्तै चिनियाँ कम्युनिष्ट पार्टीका विशिष्ट व्यक्तित्वहरूले अस्पतालको भ्रमण गरी अस्पताललाई आवश्यक स्वास्थ्य उपकरणहरू सहयोग गर्नुभएको थियो । सोही क्रममा अघिल्लो कार्यकालमा देशका ५२ वटा भन्दा बढी स्थानीय तहका जनप्रतिनिधिहरूले भक्तपुर नपा अध्ययन भ्रमण गरेका थिए भने दोस्रो कार्यकालको एक वर्षमा मात्रै ४५ भन्दा बढी स्थानीय तहका प्रमुख, उपप्रमुख तथा अन्य जनप्रतिनिधिहरुले भक्तपुर भ्रमणमा आएका छन् । भक्तपुर नपाको भ्रमणमा आएका प्रतिनिधिमण्डलले भक्तपुर नपाबाट सञ्चालित ख्वप अस्पताल पनि भ्रमण गरेका थिए । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे, बागमती प्रदेश स्वास्थ्यमन्त्री निमा लामा, प्रदेश स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठ, प्रदेश स्वास्थ्यमन्त्री उत्तम श्रेष्ठलगायतले ख्वप अस्पताल निरीक्षण गरी अस्पतालको वस्तुगत स्थितिबारे जानकारी लिई आफ्नोतर्फबाट सक्दो सहयोगको लागि पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।

    ख्वप अस्पतालबारे थप केही कुरा
    भक्तपुरबासीहरूलाई सहज रुपमा स्वास्थ्य उपचार सेवा प्रदान गर्ने उद्देश्यले भक्तपुर नगरपालिकाले बि.सं. २०३० सालदेखि जनस्वास्थ्य सेवा केन्द्र सञ्चालन गर्दै आएको हो । जनताको माग र भावनालाई कदर गर्दै उक्त केन्द्रबाट प्रदान गरिने उपचार सेवालाई क्रमश वृद्धि गर्दै जाने क्रममा भक्तपुर नपाले २०७८ वैशाख १८ गतेबाट ख्वप अस्पताल कोभिड युनिट सञ्चालन गरेको थियो भने २०७८ साउन १ गतेबाट औपचारिक रुपमा ख्वप अस्पताल सञ्चालनमा आएको हो । २०७३ सालमा जिल्ला जनस्वास्थ्य कार्यालयबाट २५ शैय्याको स्वीकृति प्राप्त ख्वप अस्पताल २०७९ जेठ २३ गतेबाट बागमती प्रदेश स्वास्थ्य मन्त्रालयबाट १०० शैय्या अस्पतालको रुपमा स्तरोन्नति भई सञ्चालनमा छ । आ.व. २०८०।८१ मा ख्वप अस्पतालमा सीटी स्क्यान सञ्चालन गर्ने नगरपालिकाको चालु आ.व. को नीति तथा कार्यक्रममा उल्लेख छ । 
    अस्पतालका निमित्त मेडिकल डाइरेक्टर डा. मजेशप्रताप मल्लले ख्वप अस्पतालमा सीटी स्क्यान खरिद गरी सञ्चालनमा ल्याउने, विशेषज्ञ सेवा विस्तार गर्ने, फार्मेसी सेवालाई वडा वडामा विस्तार गर्ने, ख्वप अस्पतालको नयाँ भवनबाट पूर्ण रुपमा सेवा सञ्चालन गर्ने, आधारभूत केन्द्रहरूबाट दिँदै आएको सेवालाई थप विस्तार गर्दै लैजाने र ल्याब तथा औषधी सेवा थप्ने र घरदैलो नर्सिङ सेवालाई अझ प्रभावकारी बनाउने अस्पतालको योजना रहेको बताए । 

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट