images

Sep 29 2026 | २०८३, असोज १३ गते

पूर्वराष्ट्रपति भण्डारीको ‘राजसंस्था फर्कनसक्छ’ भनाइले राजनीतिक वृत्तमा हलचल

पूर्वराष्ट्रपति भण्डारीको ‘राजसंस्था फर्कनसक्छ’ भनाइले राजनीतिक वृत्तमा हलचल

एभरेष्ट हेडलाइन्स
सोमबार, पुस ७ २०८२
एभरेष्ट हेडलाइन्स
सोमबार, पुस ७ २०८२
  • पूर्वराष्ट्रपति भण्डारीको ‘राजसंस्था फर्कनसक्छ’ भनाइले राजनीतिक वृत्तमा हलचल

    काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्र शाहबारे गरेको टिप्पणीले राजनीति गर्माएको छ।

    नेकपा एमालेले पार्टी सदस्यता नवीकरणलाई मान्यता नदिएपछि भण्डारी राजनीतिबाट किनारमा छिन्। भर्खरै सकिएको ११औं महाधिवेशनमा उनले मद्दत गरेको ईश्वर पोखरेल समूह पराजित भएपछि तत्काल एमाले फर्किने सम्भावना टुंगिएकी भण्डारीले पूर्वराजाप्रति सम्मानभाव व्यक्त गर्दै ज्ञानेन्द्रले ,'जनताको नासो जनतालाई बुझाउँदै राजगद्दी त्यागेको बताएकी हुन्।'

    'गद्दी त्यागे पनि राष्ट्रको मायाले मुलुक नछाडेको प्रतिक्रिया दिँदै भण्डारीले राजनीति यस्तै तरल रहने हो भने राजसंस्था फर्कन सक्ने धारणा राखेकी थिइन्।'

    अब राजनीतिमा कुनै कुराको सम्भावनै छैन त भन्न सकिँदैन, समय र परिस्थितिको खेल हो, उनले पत्रकार ऋषि धमलासँगको अन्तर्वार्तामा पूर्वराजाबारे प्रतिक्रिया दिँदै भनेकी थिइन्, 'देश यस्तै तरल अवस्थामा रहिरह्यो भने फर्किन सक्दैन भन्न सकिँदैन।'

    धमलाले उनलाई पुनः जोड दिएर सोधेका थिए,' त्यसो भए पूर्वराजा ज्ञानेन्द्र शाह राजा बन्न सक्नुहुन्छ?'

    जबाफ फर्काउँदै पूर्वराष्ट्रपति भण्डारीले भनिन् 'अब राजसंस्था पुनर्स्थापना भएको खण्डमा अवश्य पनि।'

    धमलाले प्रसंग बिट नमारी पुनः सोधेका थिए, राजसंस्था पुनर्स्थापना भयो भने पूर्वराजा ज्ञानेन्द्र शाह राजा बन्नुहुन्छ?
    उक्त प्रश्नमा भण्डारीले संक्षेपमा भनिन्, 'बन्न सक्नुहुन्छ।'

    भण्डारीले उक्त अन्तर्वार्तामा ज्ञानेन्द्रले पूर्वराजाका रूपमा आफूले चिनेको र व्यक्तिका रूपमा टिप्पणी गर्न नचाहेको बताएकी थिइन्।
    कुराकानीकै क्रममा उनले पूर्वराजालाई नेपालका राजा, राजपरिवारको वरिष्ठ सदस्य, एकीकरणको नेतृत्वकर्ता र राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सन्तति भएकाले पनि आफ्नो सम्मान रहेकोु बताइन्।

    भण्डारीले अगाडि थप भनेकी छन्, 'देश अस्थिर भइरह्यो, पार्टीहरूले सम्मान गर्न सकेनन् भने त कमान्ड कसै न कसैले गर्नुपर्‍यो। नेपालका विभिन्न शक्तिकेन्द्रमध्ये एउटा शक्तिकेन्द्र पूर्वराजसंस्था पनि त हो नि।'

    भण्डारीले शनिबार दिएको यो अन्तर्वार्ता अहिले राजनीतिक वृत्तमा चर्चामा छ।

    उनको अभिव्यक्ति यस कारण पनि चर्चामा छ, किनभने राजतन्त्र ढलेपछि स्थापना भएको गणतन्त्र नेपालका उनी दोस्रो राष्ट्रपति हुन्, त्यो पनि दुई–दुई पटक।

    संघीय लोकतान्त्रिक गणतन्त्रका मुख्य संरक्षकको ओहोदामा पुगिसकेका व्यक्तिबाटै गणतन्त्रमाथि आँच आउने गरी अभिव्यक्ति दिइएको भन्दै अहिले टिप्पणी भइरहेको छ।

    एमालेका केही भण्डारी पक्षधर नेताहरूले उनले उक्त प्रश्नको कुनै जबाफ नदिएको भए उत्तम हुन्थ्यो भन्ने आसय व्यक्त गरेका छन्।

    कोही भने प्रतिरक्षामा ओर्लिएका छन्। एमाले काठमाडौं अध्यक्ष दीपक निरौलाले पूर्वराष्ट्रपतिको सन्दर्भवश् उठेको प्रश्नको उत्तरमा कुतर्क गर्न खोजिएको प्रतिक्रिया दिएका छन्।

    भर्खरै महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित सरिता न्यौपानेले पनि अन्तर्वार्ता पूरै सुनेर प्रतिक्रिया दिन आग्रह गरेकी छन्।

    संस्थापन पक्षका एक नेता भने पूर्वराष्ट्रपतिले नै राजसंस्था फर्कन सक्छ भन्नु व्यवस्थाप्रति उनको विश्वास डगमगाएको रूपमा बुझ्नुपर्ने धारणा राख्छन्।

    पूर्वराष्ट्रपतिले राजसंस्था फर्कन्छ भन्नु सामान्य होइन। मैले पूरा अन्तर्वार्ता दोहोर्‍याइ–तेहेर्‍याइ सुनेँ। उहाँले सामान्य हिसाबले त्यो कुरा भन्नुभएको छैन,' एमालेका ती नेताले भने।

    राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता रवीन्द्र मिश्रले भने उत्साहित हुँदै भण्डारीको उक्त अन्तर्वार्ता सेयर मात्र गरेनन्, टिप्पणी पनि गरेका छन्।

    'जसरी गद्दी त्याग्नुभयो, मेरो सम्मान छ। देशभक्त हुनुहुन्छ। उहाँ देशको एउटा शक्तिकेन्द्र हो। राजनीति तरल रह्यो भने उहाँ आउन सक्नुहुन्छ।' कमान्ड सम्हाल्ने कोही त चाहियो,' भण्डारीको अन्तर्वार्ता उद्घृत गर्दै मिश्रले लेखेका छन्,' 'अब अर्थ आफै बुझ्नोस्। राजनीति डुब्न लागेको भ्रमबाट निस्कन धेरै मान्छेलाई गाह्रै हुन्छ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले यो पटक राम्रै प्रयास गर्नुभयो।'

    भण्डारीको अन्तर्वार्ताबारे एमालेवृत्त पनि गर्माएको छ। यद्यपि धेरै नेताले प्रतिक्रिया दिइसकेका छैनन्।

    पूर्वउपमहासचिव प्रदीप ज्ञवालीले सामाजिक सञ्जालमा सोमबार एउटा पोस्ट गरेका छन्। उनले शनिबार ईश्वर पोखरेल समूहले कार्की बैंक्वेटमा गरेको धन्यवाद भेलाबारे टिप्पणी गर्दै त्यसैमा , हिजो अस्तिका दुई दृश्यले आँखा बिझाएको ,बताएका छन्।

    पूर्वराष्ट्रपति भण्डारीले पूर्वराजाबारे दिएको अभिव्यक्तिलाई ज्ञवालीले 'आफै उभिएको धरातलप्रति विश्वास धरमराएकोु संज्ञा दिएका छन्।'

    उनले भनेका छन्, 'पूर्वराष्ट्रपतिज्यूले राजतन्त्र पुनर्स्थापना हुन सक्छ भनेर दिएको अभिव्यक्ति सुन्दा उदेक लाग्यो। आफै उभिएको धरातलप्रतिको विश्वास किन धरमराएको होला?

    यसबारे हामीले एमालेका पूर्वउपाध्यक्ष सुरेन्द्र पाण्डेलाई पनि सोध्यौं। उनले पूर्वराष्ट्रपति भण्डारीको अभिव्यक्तिबारे धेरै बुझ्न नपाएको प्रतिक्रिया दिए।

    'पूर्वराष्ट्रपतिले के सूचना र तथ्यमा आधारित भएर अभिव्यक्ति दिनुभएको हो, मैले कुरा गर्न पाएको छैन। सुनेको पनि छैन, उनले भने'; 'एउटाले बोलेको सन्दर्भमा अर्कोले प्रतिक्रिया दिनु त्यति राम्रो कुरा पनि होइन।'

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट