प्यूठानको खोलामा ५ शव, रोल्पाको पहिरोले बगाएको आशंका
प्यूठानको खोलामा ५ शव, रोल्पाको पहिरोले बगाएको आशंका
रोल्पाको पहिरोले बगाएको आशंका
प्यूठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानस्थित माडी नदी र लुङ्ग्री खोला किनारमा बिहीबार पाँच जनाको शव फेला परेको छ। फेला परेका शवमा एक बालक, दुई पुरुष र दुई महिला रहेका छन्।
जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार, स्वर्गद्वारी नगरपालिका–९ जुडापाटास्थित माडी खोला किनारमा मात्रै पाँचमध्ये धेरै शव फेला परेका हुन्। यसैगरी स्वर्गद्वारी–३ किमिचौर, वडा नं. ४ गोडिवाङ र स्वर्गद्वारी–५ सरोजस्थित लुङ्ग्री खोला किनारमा पनि शव भेटिएका छन्। लुङ्ग्री खोलामा भेटिएको एक महिलाको शवको टाउकोको खप्पर नभएको र बायाँ खुट्टाको घुँडादेखि तलको भाग नभएको छ, जसले शवहरू निकै टाढासम्म बगेर आएको संकेत गर्छ।
प्रहरी र स्थानीयका अनुसार यी शव प्यूठानका नभई छिमेकी रोल्पा जिल्लाबाट बगेर आएको आशंका गरिएको छ। रोल्पाको थवाङ गाउँपालिका–५ को उवा, कोटलबारा र बेँसी क्षेत्रमा बिहीबार राति ठूलो पहिरो गई ११ वटा घर तथा गोठ बगेको थियो। सो पहिरोमा परी कमलबहादुर पुन मगर, मनरखी पुन मगर र शान्ती पुन मगर गरी तीन जनाको मृत्यु भइसकेको छ भने ९ जना अझै बेपत्ता रहेका छन्। प्यूठानमा भेटिएका पाँच शव रोल्पाकै पहिरोमा परी बेपत्ता भएकाहरूकै हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।
फेला परेका शवको आधिकारिक पहिचान भने अझै हुन सकेको छैन। प्रहरीले शव व्यवस्थापन तथा थप अनुसन्धान अघि बढाएको छ। पहिचान खुलेपछि मात्र यी शव रोल्पाकै बेपत्ता व्यक्तिका हुन् कि होइनन् भन्ने कुरा टुंगोमा पुग्ने देखिन्छ।
रोल्पामा भने बेपत्ता ९ जनाको खोजी तथा उद्धार कार्य अझै जारी रहेको छ। लगातारको मनसुनी वर्षाका कारण दुवै जिल्लामा पहिरो र बाढीको जोखिम उच्च रहेकाले स्थानीय प्रशासनले नदी किनार तथा जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।
