दुई वर्षमै नेपाल महिला क्रिकेटलाई शक्तिशाली बनाउने लक्ष्य : प्रशिक्षक पाठक
दुई वर्षमै नेपाल महिला क्रिकेटलाई शक्तिशाली बनाउने लक्ष्य : प्रशिक्षक पाठक
काठमाडौँ- दुई दिनअघि नेपाल आइपुगेका भारतीय प्रशिक्षक हर्षल पाठकले नेपाली महिला राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकको कार्यभार सम्हालेका छन्।
अर्को महिना नेपालमा हुने आइसिसी टी-२० विश्वकपको विश्व छनोट उनको पहिलो औपचारिक प्रतियोगिता हुँदैछ।
नेपालले पहिलो पटक आइसिसीको विश्वस्तरीय प्रतियोगिता आयोजना गर्दा उनले नेपाली टोलीलाई विश्वकपमा पुर्याउने प्रयास गर्नेछन्।।
छनोटमा नेपालले समूह बीममा ने स्कटल्यान्ड, थाइल्यान्ड, जिम्बावे र नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ। यस्तै समूह एमा बंगलादेश, आयरल्यान्ड, पिएनजी, नामिबिया र अमेरिका छन्।
दश टोलीमध्ये शीर्ष चार देश इङल्याण्डमा सन् २०२६ को जुनमा हुने महिला टी-२० विश्वकपमा छनोट हुनेछन्।
पाठक विगत २१ वर्षदेखि प्रशिक्षकका रूपमा कार्यरत छन्। चोटका कारण आफ्नो खेल जीवन चाँडै टुङ्गिएपछि उनले प्रशिक्षण सुरु गरेका थिए। उनी भारतको महाराष्ट्रमा २१ वर्षपछि रणजी ट्रफीको फाइनलमा पुग्दा कोचिङ टोलीको हिस्सा थिए, जुन उनको लागि अविस्मरणीय क्षण हो।
उनले भारतीय स्टार खेलाडी हरमनप्रीत कौरको व्यक्तिगत ब्याटिङ प्रशिक्षकको रूपमा दुई वर्ष काम गरेका छन्। यस्तै थाइल्याण्डको महिलाटोलीलाई २०२० को विश्वकपमा छनोट गराउन र पहिलो पटक सेमिफाइनलसम्म पुर्याउन महत्त्वपूर्ण भूमिका खेलेका थिए।
उनी अनुभव र सुधार लाई एउटा निरन्तर चक्र मान्छन्, जहाँ खेलाडीले मैदानमा गएर आफैंले परिस्थिति अनुसार कतिबेला आक्रामक हुने र कतिबेला रक्षात्मक हुने भन्ने निर्णय लिनुपर्छ भन्ने कुरामा विश्वास गर्छन्।
हर्षलले नेपाली टोलीलाई पहिले विपक्षीको रूपमा हेरेका थिए। अब अहिले नजिकबाट नियाल्दा नेपाली टोलीमा क्षमता र प्रतिभा रहेको पाएका छन्। नेपालमा क्रिकेटप्रतिको प्यासन लोभलाग्दो रहेको र पुरुष टोलीको सफलता महिला टोलीका लागि राम्रो उदाहरण भएको उनी बताउँछन्।
नेपाली टोलीसँग बलियो ब्याटिङ लाइनअप, राम्रा स्पिनरहरू र केही उत्कृष्ट मध्यम गतिका बलरहरू रहेको उनको बुझाइ छ।
१ देखि २ वर्षभित्र नेपाललाई महिला क्रिकेटको क्षेत्रमा एक शक्तिशाली टोली उनको लक्ष्य हो। उनी टोलीलाई केवल सहभागिताका लागि मात्र नभई प्रतियोगिता जित्नका लागि तयार पार्न चाहन्छन्।
उनले विशेष गरी फिल्डिङ र ब्याटिङको निरन्तरतामा सुधार गर्नुपर्ने आवश्यकता देखेका छन् उनी नेपाली महिला टोलीलाई विश्व क्रिकेटमा एउटा बलियो ब्याटिङ शक्तिको रूपमा हेर्न चाहन्छन।
विश्वकप छनोट घरेलु मैदान र दर्शकको बीचमा खेल्नु नेपालका लागि ठूलो फाइदा भएको उनी बताउँछन्। दबाबको समयमा उनले खेलाडीहरूलाई 'इमोसन' भन्दा 'अप्सन' मा केन्द्रित हुन सल्लाह दिन्छन्।
हार वा जितभन्दा पनि मैदानमा कस्तो 'प्रोसेस' र 'मेथड' अपनाइन्छ भन्ने कुराले नतिजा निर्धारण गर्ने उनको विश्वास छ।
उनले नेपाली समर्थकहरूलाई ठूलो संख्यामा मैदानमा आएर महिला टोलीलाई समर्थन र हौसला दिन विशेष अनुरोध गरेका छन्।
