राष्ट्रिय महिला भलिबल प्रतियोगिता यहि पुस २३ देखि
राष्ट्रिय महिला भलिबल प्रतियोगिता यहि पुस २३ देखि
काठमाडौँ– शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा नवौँ संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने भएको छ।
यही पुस २३ देखि २६ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालन हुने उक्त प्रतियोगितामा विभिन्न पाँच टोलीले सहभागिता जनाउने आयोजकले जनाएको छ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिका अध्यक्ष रञ्जन खड्काले प्रतियोगितामा साविक विजेता नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्लब, न्यु डायमन्ड युथ स्पोर्टस क्लब, त्रिभुवन आर्मी क्लब र एभरेष्ट भलिबल क्लब सहभागी हुने जानकारी दिए।
नेपाल भलिबल संघको प्राविधिक सहयोगमा सञ्चालन हुने उक्त प्रतियोगिताका सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी लिगमा नकआउटका आधारमा खेल सञ्चालन गरिने आयोजकले जनाएको छ।
प्रतियोगिताका विजेता टोलीलाई पाँच लाख नगद प्रदान गरिनेछ। त्यसैगरी उपविजेता टोलीले दुई लाख ५० हजार प्राप्त गर्नेछ भने तेस्रो हुनेलाई एक लाख २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगिताको सर्वोत्कृष्ट घोषित हुने खेलाडीलाई ५० हजार नगदसँगै अन्य आकर्षक पुरस्कार प्रदान गरिने छ। विधागततर्फ उत्कृष्ट हुनेलाई जनही २५ हजार र हरेक खेलको प्लेयर अफ द म्याचलाई १५ हजार नगद पुरस्कार प्रदान गरिने छ।
नवौँ संस्करणको उद्घाटन समारोहमा एक जना राष्ट्रिय खेलाडीलाई ५० हजार नगदसहित शेरबहादुर खड्का स्पेशल अवार्डबाट सम्मानित गरिनेसमेत प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले बताए। प्रतियोगिता सञ्चालनका लागि करिब ४० लाख नगद लाग्ने आयोजकले जनाएको छ।
