Aug 23 2026 | २०८३, भदौ ७ गते

आयुष कुँवरको ऐतिहासिक दौड: ३ दशक पुरानो रेकर्ड ध्वस्त, आफ्नै रेकर्ड आफैं तोडे

आयुष कुँवरको ऐतिहासिक दौड: ३ दशक पुरानो रेकर्ड ध्वस्त, आफ्नै रेकर्ड आफैं तोडे

३ दशक पुरानो रेकर्ड ध्वस्त, आफ्नै रेकर्ड आफैं तोडे

एभरेष्ट हेडलाइन्स
बुधबार, भदौ ३ २०८३
एभरेष्ट हेडलाइन्स
बुधबार, भदौ ३ २०८३
  • आयुष कुँवरको ऐतिहासिक दौड: ३ दशक पुरानो रेकर्ड ध्वस्त, आफ्नै रेकर्ड आफैं तोडे

    काठमाडौं — शिवम् सिमेन्टमा अनुबन्धित नेपाली एथलेटिक्स धावक आयुष कुँवरले २०० मिटर दौडमा ३० वर्ष पुरानो राष्ट्रिय कीर्तिमान तोड्दै नेपाली एथलेटिक्समा नयाँ इतिहास रचेका छन्।

    images

    अमेरिकाको लस एन्जलसमा आयोजित प्रतियोगितामा उनले २१.८७ सेकेन्डमा २०० मिटर दूरी पूरा गर्दै सन् १९९५ देखि कायम रहेको २१.९२ सेकेन्डको राष्ट्रिय कीर्तिमानलाई पछि पारेका थिए। यसअघि पनि उनले सन् २००१ मा रामकृष्ण चौधरीले बनाएको ६०मिटर दौडको ७.०९ सेकेन्डको कीर्तिमान तोड्दै ७.०२ सेकेन्डको नयाँ कीर्तिमान बनाएका थिए, जुन वर्ल्ड एथलेटिक्सको वेबसाइटमा समेत अभिलेखीकरण गरिएको छ। साथै, अगस्ट ९, २०२६ मा लन्डनमा सम्पन्न २०० मिटर दौडमा उनले आफ्नै नाममा रहेको २१.८७ सेकेन्डको रेकर्डलाई पुनः तोड्दै २१.६६ सेकेन्डमा दौड पूरा गरी नयाँ राष्ट्रिय रेकर्ड कायम गरेका छन्। आफ्नै रेकर्ड आफैं तोड्दै उनले उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिएका छन्।

    WhatsApp Image 2026-08-19 at 16.45.20.jpeg
    undefined

    नेपाली खेलकुद क्षेत्रमै अवसरको कमी रहेको र एथलेटिक्समा यो समस्या झन् बढी रहेको बताइन्छ। खेलाडीहरूले पर्याप्त अवसर नपाएकै कारण यो कीर्तिमान ३० वर्षपछि मात्र टुटेको हो। राष्ट्रिय कीर्तिमान तोड्ने लक्ष्य आयुषको सन् २०२३ देखिनै बनेको थियो र खेल बुझ्दै जाँदा उनले आफैं अवसरहरू खोजेर वर्ल्ड एथलेटिक्स स्वीकृत प्रतिस्पर्धाहरूमा सहभागी भई यो कीर्तिमान बनाएका हुन्। विश्व एथलेटिक्स खेलको विश्वव्यापी नियमनकारी संस्था भएकाले यसबाट स्वीकृत प्रतियोगितामा बनेको कीर्तिमानलाई मात्रै अन्तर्राष्ट्रिय स्तरमा वैध र आधिकारिक मानिन्छ।

    शिवम् सिमेन्टले नेपाली खेलकुदको प्रवर्द्धन तथा प्रतिभावान खेलाडीहरूको प्रोत्साहनका लागि आयुष कुँवरलाई अनुबन्धित गरेको हो। उनको सन् २०२३ देखिको एथलेटिक्स करियरमा शिवम् सिमेन्ट सधैं साथमा रहेको छ, जसले आवश्यक परेका बेला हवाई टिकट, पोशाक तथा अन्य सहयोग उपलब्ध गराउँदै आएको छ।

    सन् २०२५ मा दक्षिण कोरियाको गुमीमा भएको एसियाली एथलेटिक्स प्रतियोगिताको क्रममा ह्यामस्ट्रिङ चोटका कारण प्रतिस्पर्धाबाट बाहिरिन बाध्य भएका आयुषले कठिन पुनरागमन गर्दै एक वर्षपछि यो राष्ट्रिय कीर्तिमान भंग गर्न सफल भएका हुन्। चोटपटक, सीमित स्रोतसाधन तथा संस्थागत चुनौतीहरूका बाबजुद उनले निरन्तर प्रशिक्षण र अथक मेहनतमार्फत यो सफलता हासिल गरेका हुन्।

    WhatsApp Image 2026-08-19 at 16.45.22 (1).jpeg
    undefined

    हाल अमेरिकामा प्रशिक्षणरत आयुषले आफ्नै पहल, समर्पण र अनुशासनका साथ नेपाली एथलेटिक्सलाई नयाँ उचाइमा पुर्‍याउने अभियानलाई निरन्तरता दिँदै आएका छन्। आफ्नो प्रशिक्षण, प्रतियोगितामा सहभागिता तथा खेल जीवनका अधिकांश पक्षहरू स्वयं व्यवस्थापन गर्दै उनले अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गरिरहेका छन्। यो कीर्तिमान विश्वका अन्य मुलुकहरूको हाराहारीमा नपुग्न सक्ने भए पनि, पूर्णकालीन जागिर, प्रशिक्षण र चोटपटकसमेत आफैं व्यवस्थापन गर्नुपर्ने अवस्थामा रहेका खेलाडीका लागि ३० वर्ष पुरानो कीर्तिमान तोड्नु आफैंमा ठूलो उपलब्धि हो।

    कीर्तिमानपछि प्रतिक्रिया दिँदै आयुष कुँवरले भने, "तीन दशक पुरानो कीर्तिमान तोड्न सफल हुँदा अत्यन्त गर्व महसुस भएको छ, तर यो कीर्तिमान ३० वर्षसम्म कायम रहनुको कारण हाम्रा स्प्रिन्टरहरूले अवसर नपाएकै हो। कीर्तिमान भनेको त तोड्नकै लागि हो। अब एउटा नयाँ मापदण्ड फेरि सेट भएको छ र आउने दिनका एथलिटहरूले चाँडै यसलाई ब्रेक गर्नेछन् भन्ने आशा छ। त्यसको लागि हामी 'स्प्रिन्ट प्रोजेक्ट' नामक निजी परियोजना ल्याउन खोज्दैछौं, जसमा शिवम् सिमेन्टको साथ फेरि अपेक्षा गर्नेछौं।"

    WhatsApp Image 2026-08-19 at 16.45.21.jpeg
    undefined

    शिवम् सिमेन्टले आयुषको यस ऐतिहासिक उपलब्धिप्रति हार्दिक बधाई व्यक्त गर्दै आगामी दिनमा पनि नेपाली खेलकुदको विकास, खेलाडीहरूको प्रोत्साहन तथा राष्ट्रिय गौरव अभिवृद्धिका लागि आफ्नो सहयोगलाई निरन्तरता दिने जनाएको छ। सन् २०२७ मा अमेरिकामा हुने वर्ल्ड मास्टर इन्डोर च्याम्पियनसिपका लागि आयुष कुँवरका प्रशिक्षण साझेदार शिवराज पर्कीलाई पनि सहयोग गर्ने लक्ष्य शिवम् सिमेन्टको रहेको छ। यो उपलब्धिले उचित अवसर, दृढ इच्छाशक्ति र निरन्तर मेहनत भएमा नेपाली खेलाडीहरूले अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट नतिजा हासिल गर्न सक्ने स्पष्ट सन्देश दिएको छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट