images

Sep 29 2026 | २०८३, असोज १३ गते

केयूका संस्थापक उपकुलपति सुरेशराज शर्माको राजकीय सम्मानसहित अन्त्येष्टि

केयूका संस्थापक उपकुलपति सुरेशराज शर्माको राजकीय सम्मानसहित अन्त्येष्टि

शिक्षामन्त्री पोखरेलले राष्ट्रिय झण्डा ओढाए, केयूलाई पूर्ण स्वायत्त बनाउन चाँडै संसद्मा विधेयक लैजाने घोषणा

बिहीबार , असोज ८ २०८३
बिहीबार , असोज ८ २०८३
  • केयूका संस्थापक उपकुलपति सुरेशराज शर्माको राजकीय सम्मानसहित अन्त्येष्टि

    काठमाडौं, ८ असोज ।

    काठमाडौं विश्वविद्यालय (केयू) का संस्थापक उपकुलपति तथा शिक्षाविद् प्राडा सुरेशराज शर्माको बिहीबार पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ। बुधबार निधन भएका शर्मालाई अन्तिम विदाइ गर्ने क्रममा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले उनको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाए। नेपाल प्रहरीको एक टुकडीले सलामी दियो।

    शिक्षा तथा खेलकुद मन्त्रालयको अनुरोधमा गृह मन्त्रालयले निर्णय गरेपछि शर्माको अन्त्येष्टि राजकीय सम्मानसहित गरिएको हो। आर्यघाटमा मन्त्री पोखरेलसँगै मन्त्रालयका प्रमुख सल्लाहकार शैलेन्द्र झालगायत पदाधिकारी पुगेर श्रद्धाञ्जली अर्पण गरेका थिए।

    यसअघि शिक्षा मन्त्रालयमा शोक पुस्तिका राखिएको थियो। मन्त्री पोखरेल, सचिव चुडामणि पौडेल, प्रमुख सल्लाहकार झा तथा केयूका पदाधिकारीले त्यसमा हस्ताक्षर गर्दै श्रद्धाञ्जली व्यक्त गरे। शर्माको निधनले शिक्षा क्षेत्रमा अपूरणीय क्षति भएको बताउँदै मन्त्री पोखरेलले शोकसन्तप्त परिवार, आफन्त, सहकर्मी र केयू परिवारप्रति मन्त्रालयको तर्फबाट समवेदना प्रकट गरे।

    केयूलाई पूर्ण स्वायत्त संस्थाका रूपमा विकास गर्ने शर्माको सपना पूरा गर्न सरकार अघि बढिरहेको मन्त्री पोखरेलले बताए। विश्वविद्यालयलाई बोर्ड अफ ट्रस्टी मोडलमा लैजान ऐन संशोधनको मस्यौदा तयार भइसकेको र चाँडै संसद्मा विधेयक लगिने उनले जानकारी दिए।

    नेपालको उच्च तथा प्राविधिक शिक्षा विकासका अग्रणी व्यक्तित्वका रूपमा परिचित शर्माले दुई दशकभन्दा लामो समय केयूको नेतृत्व गरेका थिए। उनको नेतृत्वमा विश्वविद्यालय स्वायत्त, गुणस्तरीय र अन्तर्राष्ट्रिय पहिचान बनाएको शैक्षिक संस्था बन्यो। बेलायतबाट रसायनशास्त्रमा पीएचडी गरेका शर्मा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का संस्थापक निर्देशक पनि थिए। उनले जुम्ला, दोलखाको जिरी र धनकुटामा पुगेर प्राविधिक शिक्षा सुरु गरेका थिए। बूढानीलकण्ठ स्कुलको अध्यक्षका रूपमा पनि उनले काम गरेका थिए।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट