भारतले चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान–३ लाई सफल अवतरण गरायाे
भारतले चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान–३ लाई सफल अवतरण गरायाे
भारतले चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान–३ लाई सफल अवतरण गराएको छ। यो सफलतासँगै भारत चन्द्रमाको दक्षिणी ध्रुवमा पुग्ने पहिलो र चन्द्रमाको सतहमा पुग्ने चौथो देश बनेको छ। चन्द्रमाको दक्षिणी ध्रुव हालसम्म कम अन्वेषण भएको क्षेत्र मानिन्छ। यो भागमा पानीको स्रोत फेला परे भविष्यमा चन्द्रमामा मानव बसोबासको सम्भावनाको ढोका खुल्ने वैज्ञानिकहरू बताउँछन्।
चन्द्रयान–३ मा एउटा अर्बिटर, ल्यान्डर र रोभर छन्। चन्द्रमा ल्यान्डरको सफल अवतरणपछि यसमा रहेका रोभरले बाहिर निस्केर चन्द्रमाको सतहमा घुमेर जानकारी संकलन गर्नेछ। गत जुलाई १४ मा भारतको श्रीहरिकोटास्थित अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गरिएको थियो। यो चन्द्रयानले ४० दिनमा आफ्नो यात्रा सम्पन्न गरेको छ। बुधबार साँझ चन्द्रमाका सतहमा चन्द्रयानको सफल अवतरण गरेपछि दक्षिण अफ्रिकामा सुरु भएको ब्रिक्स बिजनेस फोरममा सहभागी प्रधानमन्त्री नरेन्द्र मोदीले यसलाई ‘ऐतिहासिक सफलता’ भएको बताएका छन्।
‘हाम्रा वैज्ञानिकको परिश्रम र प्रतिभाका कारण दुनियाँको कुनै देश पुग्न नसकेको चन्द्रमाका दक्षिणी धु्रवमा भारत पुगेको छ। अब चन्द्रमासँग जोडिएका मिथक बदलिनेछन्,’ प्रधानमन्त्री मोदीले भने।
भारत चन्द्रमाको दक्षिणी ध्रुवमा पुग्ने पहिलो र चन्द्रमाको सतहमा पुग्ने चौथो देश बनेको छ।
अवतरणको सफलतापछि भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) प्रमुख सोमनाथले चन्द्रयान–३ ले भारतका पुराना चन्द्र अभियानहरूको उद्देश्यलाई सफल पार्न र केही ‘विशेष उल्लेखनीय’ वैज्ञानिक खोजलाई सघाउन काम गर्ने बताए। गत साता मात्र चन्द्रमाको यही सतहमा अवतरण गर्न लागेको रुसको लुना–२५ दुर्घटनाग्रस्त भएको थियो। अहिलेसम्म अमेरिकी, रुस र चीनले चन्द्रमामा अन्तरिक्षयान अवतरण गराएका छन्। यसअघि सन् २०१९ मा पनि भारतले चन्द्रयान–२ मिसनलाई दक्षिणी ध्रुवनजिकै अवतरण गराउने प्रयास गरेको थियो तर सो यान दुर्घटनाग्रस्त भएपछि अभियान विफल भएको थियो।
