images

Sep 29 2026 | २०८३, असोज १३ गते

१४ वर्षदेखि अलपत्र कन्काई पुल निरीक्षण गर्दै मन्त्री घिसिङले भने, “चाँडै निकास दिन्छौँ”

१४ वर्षदेखि अलपत्र कन्काई पुल निरीक्षण गर्दै मन्त्री घिसिङले भने, “चाँडै निकास दिन्छौँ”

एभरेष्ट हेडलाइन्स
आइतबार, असोज २६ २०८२
एभरेष्ट हेडलाइन्स
आइतबार, असोज २६ २०८२
  • १४ वर्षदेखि अलपत्र कन्काई पुल निरीक्षण गर्दै मन्त्री घिसिङले भने, “चाँडै निकास दिन्छौँ”

    झापा। भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले झापाको कन्काई नदीमा निर्माणाधीन पुल लामो समयदेखि अलपत्र पारिएको भन्दै चाँडै निकास दिनेगरी अघि बढ्ने प्रतिबद्धता जनाएका छन्। १४ वर्षदेखि अलपत्र पुलको निरीक्षणपछि आइतबार उनले विस्तृत अध्ययन गरी छिट्टै ठोस निकास निकालिने आश्वासन दिए।

    “पुल निर्माण लामो समयदेखि अलपत्र पारिएको रहेछ, ठेक्का तोडेर नयाँ प्रक्रियामा जाने या के गर्ने, निर्माण व्यवसायीलाई के गर्ने भन्ने बारे तत्काल निर्णय लिनेछौँ,” मन्त्री घिसिङले भने, “जनजीविकासँग जोडिएको रणनीतिक महत्त्वको पुल निर्माणलाई यथास्थितिमा राख्न सक्दैनौँ, चाँडै निकास दिन्छौँ।”

    हुलाकी राजमार्गअन्तर्गत झापा गाउँपालिका-२ र गौरीगन्ज गाउँपालिका-१ जोड्ने कन्काई पुलको स्थलगत निरीक्षण गरी उनले निर्माण प्रगतिबारे जानकारी लिएका हुन्। यस क्रममा स्थानीय बासिन्दासँग केहीबेर घिसिङले छलफलसमेत गरेका थिए। सात सय २३ मिटर लामो पक्की पुल डिजाइन एन्ड बिल्ड ढाँचामा निर्माणका लागि आव ०६७/६८मा पप्पु महादेवखिम्ती संयुक्त उपक्रम (जेभी) सँग करिब ५१ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। पुल निर्माणको भौतिक र वित्तीय प्रगति करिब ५५ प्रतिशत मात्र छ।

    स्थानीय बासिन्दाबाट पुल नहुँदा सास्ती बेहोर्नुपरेको, व्यापार व्यवसाय तथा पर्यटन प्रवर्द्धनमा पनि असर परेकाले तत्काल बनाउन माग गरिएको थियो। निर्माण व्यवसायीका तर्फबाट २०७६ सम्म काम गरिएको थियो। तर, निर्माणमा त्रुटि देखिएपछि त्यसको प्राविधिक परीक्षण गरिएको थियो। प्राविधिक परीक्षणबाट पुष्टि भएको त्रुटि सच्याउन निर्माण व्यवसायीबाट केही काम गरिएको थियो। ठेक्का सम्झौताको म्याद २०८० मै सकिएको छ। सार्वजनिक खरिद नियमावलीमा भएको पछिल्लो संशोधनबमोजिम निर्माण व्यवसायीबाट म्याद थपका लागि निवेदन दिइएको छ।

    हुलाकी राजमार्ग योजना कार्यालय इटहरीका प्रमुख युवराज पोखरेलका अनुसार पुलका १९ स्पानमध्ये आठवटा सकिएको छ भने बाँकी ११ मध्ये दुईवटाको बिमसम्म (गर्डर) हालिएको छ। ६ वटाको जग हालिएको छ भने तीनवटाको जग हाल्न बाँकी छ।

    यस क्रममा उनले असोज १८ र १९ गतेको अविरल वर्षाका कारण क्षति पुगेको झापा गाउँपालिका-२ स्थित कन्काई सानोमाई खोला पुलको पनि निरीक्षण गरेको उनको सचिवालयले जनाएको छ। बाढीका कारण सानोमाई खोलाको पुल भाँचिएको थियो। पुलको प्राविधिक परीक्षण गरी आवश्यक निर्णय लिन उनको आग्रह छ। 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट