Aug 12 2026 | २०८३, साउन २७ गते

सभापति वा प्रधानमन्त्री बन्ने लोभ छैन, पार्टी एकताका लागि समर्पित: डा. शेखर कोइरालाः

सभापति वा प्रधानमन्त्री बन्ने लोभ छैन, पार्टी एकताका लागि समर्पित: डा. शेखर कोइरालाः

एभरेष्ट हेडलाइन्स
आइतबार, पुस २७ २०८२
एभरेष्ट हेडलाइन्स
आइतबार, पुस २७ २०८२
  • सभापति वा प्रधानमन्त्री बन्ने लोभ छैन, पार्टी एकताका लागि समर्पित: डा. शेखर कोइरालाः

    काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफूलाई सभापति वा प्रधानमन्त्री बन्ने कुनै लोभ नभएको बताएका छन्। पार्टीको विशेष महाधिवेशनको सन्दर्भमा एक भिडियो सन्देश जारी गर्दै कोइरालाले आफ्नो निजी महत्त्वाकाङ्क्षा नभएको र कांग्रेसको समग्र एकताको पक्षमा शान्त आवाज उठाइरहने स्पष्ट पारेका हुन्।

    images


    कोइरालाले आफूलाई मन्त्री वा महामन्त्री हुने लोभले विगतमा कहिल्यै आकर्षित नगरेको र सभापति वा प्रधानमन्त्री हुने कुराले पनि नलोभ्याउने दाबी गरे। उनले आफ्नो परिवारबाट पाएको शिक्षा नै आफ्नो जीवन दर्शन भएको भन्दै यही दर्शनबाट अभिप्रेरित भएर पार्टी एकताका लागि लागिरहेको बताए। उनले आफ्नो लड्ने तरिका शान्त र मधुरो रहेको भन्दै कांग्रेस रूपान्तरणको अभियानमा आफू आक्रोशित र अधैर्य भएर अगाडि बढ्न नचाहेको उल्लेख गरे।

    अहिले एकातिर सभापति शेरबहादुर देउवाको कार्यशैली सँग लड्नुपरेको र अर्कोतिर ऊर्जावान् युवाहरूको असन्तोषको सामना गर्नुपरिरहेको कोइरालाले बताए। उनले पार्टीको विशेष महाधिवेशनको अभियान चलिरहँदा आफ्नो मत केन्द्रीय कार्यसमितिमा लिखित रूपमै राखेको तर पार्टी विभाजनको सन्देश नजाओस् भनेर सतर्कता अपनाएको जिकिर गरे। कांग्रेस संक्रमणमा पर्दा कसरी र कसले त्याग र अपमान सहनुपर्छ भन्ने आफूलाई थाहा भएको भन्दै उनले अन्तिमसम्म पार्टीको भावनात्मक एकतामा अगाडि बढिरहने प्रण गरे।


    कोइरालाले बीपी कोइरालाको मेलमिलापको नीति कुनै कानुनको पन्ना वा विधानबाट नभई अन्तरआत्माको आवाज भएको स्मरण गराए। उनले बीपी, सुवर्णशमशेर, गणेशमान, किसुनजी, गिरिजाप्रसाद र सुशील कोइराला लगायतका अग्रज नेताहरूले छाडेको पदचिह्नबाट आफू विचलित नहुने बताए। सहमति, सहकार्य र सहअस्तित्वलाई एकाकार गर्दै समग्र कांग्रेस एकताको बिगुल फुक्ने महाधिवेशन गरेर जानुपर्नेमा उनले जोड दिए।

    देश आसन्न निर्वाचनको संघारमा रहेको र संविधान छतविक्षत अवस्थामा पुगेको भन्दै उनले चिन्ता व्यक्त गरे। जनआन्दोलनबाट निर्वाचित सरकारको ठाउँमा अनिर्वाचित सरकार गठन भएको र संविधानहीनताको अवस्था सिर्जना भएको भन्दै उनले लोकतन्त्रको रक्षाका लागि सबै एक हुनुपर्ने बताए। महाधिवेशन प्रतिनिधिहरूलाई पार्टीको धरोहर भन्दै कोइरालाले विधिको प्रभावकारिता र नीतिको सान्दर्भिकता स्थापित गर्न काठमाडौँ आएका प्रतिनिधिहरूले ऐतिहासिक दायित्व निर्वाह गर्ने विश्वास व्यक्त गरे।

    आफूले पार्टीभित्र निकासका लागि भगीरथ प्रयास गरिरहेको र निकास ननिस्किएसम्म निरन्तर लागिरहने उनले बताए। एकताबद्ध भएर अगाडि बढ्न सके मात्र ‘जय नेपाल’ को नाराको गुञ्जन सम्भव हुने उनको निष्कर्ष छ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट