टिभेट सुधारमा स्विट्जरल्याण्डको साथ: थप सहकार्यको प्रतिबद्धता
टिभेट सुधारमा स्विट्जरल्याण्डको साथ: थप सहकार्यको प्रतिबद्धता
थप सहकार्यको प्रतिबद्धता
काठमाडौँ, ८ भदौ । नेपालको प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम (टिभेट) क्षेत्रको सुधारमा स्विट्जरल्याण्ड सरकारले निरन्तर साथ दिने प्रतिबद्धता जनाएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका कार्यवाहक राजदूत माथीयास मायरबीच सोमबार सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा यो प्रतिबद्धता व्यक्त गरिएको हो।
भेटमा नेपाल र स्विट्जरल्याण्डबीचको लामो समयदेखिको सम्बन्ध, शिक्षा क्षेत्रमा हाल भइरहेको सहकार्य तथा भविष्यमा सहकार्य विस्तार गर्न सकिने सम्भावित क्षेत्रहरूबारे विस्तृत छलफल भएको थियो।
भेटका क्रममा मन्त्री पोखरेलले नेपालको शिक्षा क्षेत्रमा स्वीस सरकारले लामो समयदेखि पुर्याइरहेको योगदानप्रति हार्दिक आभार व्यक्त गरे। उनले टिभेट क्षेत्रको सुधारलाई सरकारले आफ्नो प्राथमिकतामा राखेको स्पष्ट पारे। साथै, टिभेट सम्बन्धी ऐन हाल छलफलको चरणमा रहेको जानकारी दिँदै उनले यस क्षेत्रमा सुशासन कायम गर्न सबै सरोकारवालासँग निरन्तर संवाद र समन्वय गर्दै अघि बढिने बताए।
टिभेट क्षेत्रको व्यवस्थापन र सुशासन सुधारसँगै दक्ष जनशक्ति विकासलाई पनि उत्तिकै महत्त्व दिइने र यसका लागि स्विस सरकारसँग थप सहकार्यको ढोका खुला रहेको उनको भनाइ थियो।
अर्कोतर्फ, कार्यवाहक राजदूत मायरले नेपालको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम क्षेत्रमा स्विट्जरल्याण्डले लामो समयदेखि दिँदै आएको सहयोगको उल्लेख गर्दै आगामी दिनमा पनि यो सहयोग निरन्तर राख्ने प्रतिबद्धता दोहोर्याए। उनले टिभेट क्षेत्रको प्रभावकारी सुधारका लागि उद्योग र तालिम प्रदायकहरूबीच बलियो सम्बन्ध कायम हुनुपर्ने र यसमा निजी क्षेत्रको सक्रिय सहभागिता अपरिहार्य रहेको धारणा राखे। साथै, नेपालको प्राविधिक तथा व्यावसायिक शिक्षासम्बन्धी नीति निर्माण अन्य धेरै देशको तुलनामा सुदृढ रहेको र यससम्बन्धी भरपर्दो तथ्याङ्क पनि उपलब्ध रहेकाले आगामी दिनमा यस क्षेत्रमा थप सुधार हुने विषयमा आफू आशावादी रहेको राजदूत मायरले बताए।
यस भेटवार्ताले नेपाल र स्विट्जरल्याण्डबीचको शिक्षा क्षेत्रीय साझेदारीलाई थप सुदृढ बनाउने र टिभेट क्षेत्रमा गुणस्तर तथा सुशासन अभिवृद्धिमा टेवा पुर्याउने अपेक्षा गरिएको छ।
